PahiloPost

Nov 21, 2024 | ६ मंसिर २०८१

कविताः ​माटोको सुगन्ध



  • नवल अधिकारी-

आमाले मान्ने भगवानलाई
भगवान मान्नै सक्दिन,
जसको परार साल
कलशमा फूल चडाएर
पँहेलो धान झुलेका
फाँटहरु हुँदै
परदेश लागेको एक सन्तान
बेखबर छ र पनि
भगवान ढोग्न छोडिनन।


बाबा जस्तै
अटल देशभक्त
सिपाही हुन सकिन
जसको
रगतले कोरेको सीमारेखा
नाघेर
आफ्नै सन्तान
पसिना बेचिरहेछ
र पनि
गाइ रहेछ गीत
"रातो र चन्द्र सुर्य, जङ्गी निशाना हाम्रो"।

हे देश
तिमी भगवानको नाममा
दानब बन्नेहरुलाई
म जस्तै परदेशी बनाइदेउ,
जसले चिन्नेछ
भगवान ढोग्ने आमा नै
भगवान हुन भनेर।
अनि पुर्खाले जोडेको
माटोमा
मन कुढ्याउनेहरुलाई
म जस्तै मुग्लानी बनाइदेउ।

जसले थाहा पाओस्,
दुखले आर्जेको माटोको सुगन्ध।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell