PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पोखरा-बागलुङ सडक साँझसम्म खुलाउने तयारी



पोखरा-बागलुङ सडक साँझसम्म खुलाउने तयारी
फोटो सौजन्य: जिल्ला प्रहरी कार्यालय पर्वत

पर्वत: बुधबार रातिदेखि अवरुद्ध बनेको पोखरा–बागलुङ सडक खुलाउन बिहानदेखि प्रयास भइरहेको छ।

पहिरोका कारण सबैभन्दा बढी क्षति पुगेको पर्वतको तिलहार गाउँ विकास समिति–९ बेतनी र अँधेरी खोलामा वैकल्पिक सडक बनाई शुक्रबार साँझसम्म सडक सञ्चालन गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। 

बेतनी र अँधेरी खोलामा गएको पहिरोले बेतनीमा झन्डै ४० मिटर र अँधेरी खोलामा ६० मिटर जति सडक बगाएको छ। सडक बगाएको स्थानमा सडक विभाग बागलुङबाट दुईवटा डोजर र निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत् आयोजनाका डोजरमार्फत पहिरो हटाउने तथा वैकल्पिक सडक बनाउने काम सुरु भएको छ। 

पहिरोले कल्भर्ट बगाएको स्थानमा ह्युम पाइप राखेर अस्थायी रुपमा सडक खुलाउने प्रयास भइरहेको डिभिजन प्रमुख राजेश पौडेलले बताए। “मालढुङ्गादेखि अन्य ठाउँमा अवरुद्ध भएको सडक खुलाउन बिहानदेखि काम भएको र अबको ध्यान सबै बेतनी र अँधेरी खोलामा केन्द्रित हुन्छ”, उनले भने। बिहानदेखि सडक डिभिजन कार्यालय बागलुङको डोजर, सुरक्षाकर्मी र अन्य श्रमिक सडक खुलाउनका लागि परिचालन गरिएको छ । 

सडक अवरुद्ध भएपछि धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि छुटेका सवारीसाधन नयाँपुल र धौलागिरिबाट छुटेका सवारीसाधन पर्वतको डिमुवामा रोकिएका छन्। सडक बगेका कारण वैकल्पिक सडक बनाउनसमेत कठिन भएकाले पैदल यात्रीसमेत रोकिएका छन्। 

पहिरोले नदीको तटबन्ध बगाएपछि पर्वतको आम्बोट बजारका घर खतरामा परेको छ। आम्बोट खोलाले तटबन्ध बगाएपछि आधा दर्जन घर जोखिममा परेको र आफूहरुले घर छाडेको होटल व्यवसायी नवराज पौडेलले बताए। देउपुर गाविसमा बलबहादुर क्षेत्रीको घर बगाएको छ भने पातीखोला, रतीखोला, जहरेखोलाले सयौँ हेक्टर खेत बगाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell