PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टुँडिखेलमा फुच्चे 'पारस'ले छक्का हान्दा बलै हरायो



टुँडिखेलमा फुच्चे 'पारस'ले छक्का हान्दा बलै हरायो

  • अंगद ढकाल -
काठमाडौँ : सिमसिम पानी पर्ने क्रम रोकिएको थिएन। मैदान भिजेकै छ। तर खेल रोकिएको थिएन। अफ स्पिन बललाई पारसले मिड अनतिर हुत्याइदिए। उडेर गएको बल चौका भयो कि छक्का? निश्चित भएन। बलै हराएपछि एकछिन त खेल नै रोकियो।

 


सर्वसम्मतिमा यसलाई छक्का मानिएपछि पारसको व्यक्तिगत १२ रन हुन पुग्यो। उता विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली कप्तान पारस खड्का दुई चौकासहित १० रनमा आउट भइसकेका थिए। यता टुँडिखेलका पारस भने १२ मा नटआउट थिए।

 


पारसलाई साथ दिइरहेका थिए कन्हैया। मिडियम फास्ट बललाई उनले रिभर्स हान्दिए। दुई रन सहजै जुट्यो। बिना कुनै क्षति ५ ओभरमा ४३ रन।

 

दाउराको स्टम्पलाई इँटाले अड्याइएको थियो। स्टम्पमाथि बेल भने थिएन। तर यसले क्रिकेट खेलाडीहरुको ऊर्जा घटाएको थिएन।










टुँडिखेलमा भूकम्पपीडितको नाममा सुकुम्बासीहरु बसिरहेकोले त्यहाँबाट प्रहरीले हटाउन खोजेको भन्ने खबर आएपछि हामी यहाँ आएका थियौँ। रिपोर्टिङपछि पालनजिकै भविष्यका क्रिकेट कर्णधारहरुको म्याच चल्दै थियो। क्रिकेटमा रुचि भएकोले मलाई त्यो म्याचले स्वभाविक रुपमा तान्यो। मैले फोटो खिच्न थालेपछि शायद् उनीहरुमा पनि जोश चढ्यो।

फिल्डिङमा रहेका एक बालकले मलाई स्ट्राइकमा रहेका अर्का बालक देखाउँदै सुनाए, ऊ त्यसको नाम पारस हो नि। उनी पारस खड्का थिएनन्। तर भविष्यमा उसको ब्याटिङ हेर्दा राम्रो प्रशिक्षण पाउने हो भने भविष्यमा पारस बन्नसक्ने क्षमता देखियो।

खेल जारी थियो, मलाई भने कार्यालय पुगेर विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको खेलको लाइभ अपडेट हेर्न हतार भइसकेको थियो। उनीहरुको खेललाई यत्तिकै छाडेर म कार्यालयतिर लागेँ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell