PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

सिके राउतलाई खुला पत्र



सिके राउतलाई खुला पत्र
सिके राउत

  • मनोज कार्की
प्रिय साथी चन्द्रकान्त,
अभिवादन।  

आज तिमीलाई सम्झें। र, सम्झें मध्यरातमा तारा गन्दै सँगसँगै सुसेली हालेको। अनि, सम्झें क्याम्पसका स्वागत कार्यक्रमहरुमा सँगसँगै रमाएको र कयौं साँझमा सँगसँगै खाना पकाएको। तिमीले पकाउने गरेको पनिरको तरकारी अझै जिब्रोमा झुन्डिरहेको छ। 

पश्चिम अमेरिकामा रातको नौ बज्यो। छोरो सुत्यो। अर्धागिंनी अस्पतालका गल्लीहरुमै व्यस्त भइन्। म एक्लै भएँ। र, मनमा कुरा खेलिरहे। 

विचार, भावना, उत्तेजना र विचारधारा तिम्रा आफ्नै छन्, र, मेरा पनि सायद। यसबारे एकैछिनमा कुरा गरौँला। तर मेरो एक आत्मिय मित्र हिरासतमा दिन बिताइरहेछ भन्ने सुन्दा नराम्रो लागेको छ। अहिले तिम्रो सामु त्यो खुला आकाश छैन जो हामीले इन्जिनियरिङ पढ्दा र पढाउँदा बाँडेका थियौँ- क्याम्पसका बगैंचामा, छात्रावासको छतमा, फुटबल र क्रिकेट मैदानमा र उपत्यकाका गल्लीहरुमा। 

पहिलो पटक कहाँ, कहिले र कसरी भेट भयो तिमीसँग भन्ने त सम्झिन्न। तर एउटा शालिन, सुलभ चेहरा र अग्लो कदको मृदुभाषी मधेसी २-४ दिनमै यो पाखे पहाडीको आत्मिय मित्र बनिसकेको थियो। 

उपत्यकाका हाम्रा सुरुसुरुका दिन उस्तै उस्तै बिते होलान्। मान्छेहरु अनौठा लाग्थे। सडक उराठलाग्दा, उदासिन। अनि कक्षा कोठा उदेकलाग्दो। म यो मान्दछु कि मात्रा फरक थियो। तर हामी दुबै एक हदसम्म उपेक्षित थियौँ, नयाँ परिवेशमा।      

तर त्यो भन्दा माथि उठेर अनगिन्ती खुसी पनि बाँडेका थियौं, हैन र? तिमी गितारमा गुनगुनाउँथ्यौ; म मादलमा लोक भाका हाल्थें। पीडाहरु त्यसै बिलाएर जान्थे- साँझको मन्द पवनसँगै।

यो पनि पढ्नुहोस्: को हुन् सिके राउत?

थोरै दिनमै म तिम्रो बहुमुखी प्रतिभा र पढाई अनि अतिरिक्त कृयाकलापप्रतिको लगनशीलताले औधि प्रभावित भइसकेको थिएँ। र सदैव तिम्रो शुभचिन्तक रहिरहेँ। तिमी ओभरसियरमा संस्थानकै उत्कृष्ट विद्यार्थी बन्दा वा त्यसै वर्ष इलेक्ट्रोनिक्स इन्जिनियरिङको लागि छनौट हुँदा वा जापानी छात्रवृत्ती पाउँदा वा क्याम्ब्रिजमा विद्यावारिधी गर्ने अवसर मिल्दा; तिम्रा सबै सफलतामा म हर्षित थिएँ।
---------------
साथी, तिमीले अब प्रमाणित गर्न केही बाँकी रहेन। तिम्रो प्रतिभाको र नेतृत्व क्षमताको पनि। बिहानबेलुकाको समस्यासँग जुध्दै भारदहबाट पुल्चोक, टोकियो अनि क्याम्ब्रिजसम्म सदैव सर्वोत्कृष्ट रह्यौ। उच्चतहको वैज्ञानिकको रुपमा Raytheon BBN Technologies मा काम गर्दा तिमीले विकास गरेको भाषा अनुवाद गर्ने प्रविधिले अमेरिकी रक्षा विभागलाई आन्तरिक सुरक्षा र वाह्य आतंकवादसँग लड्न धेरै सहयोग पुर्‍याइरहेकै छ। 
 
अझ ठूलो कुरा त संसारकै सम्भ्रान्त देशबाट भौतिक र व्यवसायिक तवरले उत्कृष्ट जीवनशैलीलाई चटक्कै छाडेर, परिवार र सन्ततिको भविष्यलाई समेत दाउमा राखेर मातृभूमि फर्किनु जो कोहीको बसको विषय हैन। तिमीले बोस्टन छाडेर नेपाल फर्कने कुरा सुनाएको दिन औधि खुसी लागेको थियो कि देशले एउटा होनहार सपुत फिर्ता पाउने भयो। तिमीले निस्वार्थ भावले समाज, सम्प्रदाय र राष्ट्रको लागि जीवन समर्पण गरेका छौ। त्यस्ले तिमीलाई राष्ट्रिय व्यक्तित्व बनाउने छ। 

तर फरक यत्ति पर्‍यो; तिमीले र मैले देखेको राष्ट्र भिन्न रहेछन्। दुर्भाग्य भनौँ कि अपसोच।
------------------------
साथी, 
तिम्रो व्यक्तित्वलाई लाखौं नेपालीले सम्मान गर्छन्। म र म जस्तै पहाडी पनि; तिमी जस्तै मधेसी पनि। तिम्रो विचाराधारालाई पनि कतिले सद्भाव राखेको देखियो। तर म सहमत हुन सकिन। साथी, बढीमा तिम्रो दर्शनले देशमा गृहयुद्ध निम्त्याउने मात्रै हो भन्ने लाग्छ मलाई। पारिणाम के? हाम्रा घर, गाउँ र सहर जलाएर खरानी बनाउनु बाहेक ! 

तिमीले वर्षौसम्मको सोच, खोज, अनुसन्धान र धेरै तहका छलफल र वादविवादबाट यो बाटो रोजेका हौ। त्यसमा कुनै शंका छैन। तिमीलाई धेरैले आफ्ना असहमति र सुझाव उहिले पनि राखे होलान, अहिले पनि राखिरहेकै छन्। तर पनि म एउटा साथीको नाताले तिमीलाई पुन: त्यही अनुरोध गर्न चाहन्छु- नेपाल सँगोलमा उत्कृष्ट छ; न कि मधेस र पहाडका टुक्राहरुमा।

साथी, 
तिम्रा तीता अनुभूति म महशुस गर्न सक्छु। तिमीले भोगेको, प्रताडित भएको, हेपिएको, तिम्रो आत्मा मा घाऊ लागेको, आफ्नै देशमा बिरानो महसुस गरेको आदिइत्यादि सबै बुझ्न सक्छु। तिम्रा भावनाको कदर गर्छु। इतिहासका तितामिठो कस्को भागमा के पर्‍यो; त्यो विगत हो। यो अगाडि बढ्ने बेला हो। यो देश बनाउने बेला हो। समयले रचनात्मक उर्जा मागेको छ, हामीसबैबाट।

सामाजिक कुरीति पहाडमा पनि छन र मधेसमा पनि। खराब नियतका मान्छे पहाडमा पनि छन्; मधेसमा पनि। यस्ता कुरीति र बद्नियतको अन्त्य हुनुपर्छ। त्यस कुरामा विवाद हुँदैहोइन। कैयौँ गरिब मानसिकताको उपजमा म पनि परेको थिएँ र बेलामौकामा अझै हुन्छु; पाखे मान्छे; तर त्यसैमा द्वेश पालेर बस्नु भन्दा क्षमा गर्दै अगाडि बद्नु मै मैले सबैको भलो देख्ने गरेको छु। यस्ता समस्याको समाधानका लागि देश नै अलग गर्ने तिम्रो विचारसँग सहमत हुने हो भने त मधेसमै पनि दर्जनौँ टुक्रा जन्मिने भए; पहाडमा अरु दर्जनौँ बन्लान्। त्यसो भए फेरि बाइसेचौबिसे राज्यमै फर्कने त हामी? उसै पनि सैयौँ वर्ष पछाडि परेको राष्ट्रलाई अझै सैयौँ वर्ष पछाडि धकेल्ने त? साथी, यो देश फोड्ने बेला हैन, एक आपसमा सद्भाव राखेर देश सिँगार्ने बेला हो।

गहिराइ फरक होला तर असमानता देशभर छ। रोग, भोक र गरिबी पहाडमा पनि छ, मधेसमा पनि। डोल्पाका निमुखा गाउँले पनि राज्यबाट उपेक्षित छन्, जसरी सप्तरीका गरिब परिवार। यो संयमित भएर जातीय, भाषिक, धार्मिक, साम्प्रादायिक र भौगोलिक सहिष्णुतामा खलल नआउने गरी आआफ्नो हक, अधिकार र कर्तव्य सुनिस्चित गर्दै जाने बेला हो। समतामूलक समाजको सुनिश्चितताको लागि हातेमलो गर्दै अगाडि बढ्ने बेला हो।

देश संघीयतातर्फ होमिएको छ। नयाँ संविधानको लागि कछुवा तालमै भए पनि काम भैरहेकै छ। मानेँ, संविधान सबै कुरा हैन। कुनै पनि बेला यो फेरिन सक्छ। तर वर्षौँदेखि कायम देशलाई समुन्नत बनाएका संविधान पनि त छन् संसारमा। हामीले पाएको मौकालाई पनि किन समानता, व्यक्तिगत स्वतन्त्रता र स्वायत्तता सुनिश्चित गर्ने संविधान बनाउन सदुपयोग नगर्ने?
----------------------------
मधेस, पहाड र हिमाल मिलेर नै हाम्रो गौरव बढेको छ, शिर ठाडो भएको छ; र अनगिन्ती अवसर मिलेको छ; समुन्नत राष्ट्र निर्माणका लागि। कुनै दिन आफ्ना व्यक्तिगत आवश्यकता, महत्वकांक्षा, र स्वार्थ त्याग्न सके म पनि नेपाल फर्कौँला- काँधमा काँध मिलाउन। त्यसो गर्न नसके पनि नैतिक र अन्य सहयोग देश विकासका लागि गरिरहने नै छु। तिमी, म र अन्य हामीजस्तै युवा मिलेर रचनात्मक काममा लाग्ने हो भने अथाह सम्भावना बोकेको हाम्रो देश बनाउन धेरै समय लाग्दैन। जब देश सम्वृद्ध हुँदै जान्छ, विभेद र असमानता पनि हराउँदै जाने हो। 

मिलेर हामी मधेसमा सुनौला बाला झुलाउँला; पहाडमा माटो सुहाउँदो नगदेवाली फुलाउँला; हिमालमा जडिबुटी मौलाउँला। र, संसारभर निर्यात गरौँला। मिलेर हाम्रो ज्ञान, सिप र अनुभवले मधेसमा अत्याधुनिक कलाकारखाना बनाउँला; सदाबहार हिमनदीबाट पहाडमा हजारौँ मेघावाट बिजुली निकालौँला र मधेसका कलकारखाना चलाउँला। मधेसबाट पहाड हुँदै हिमालका काखसम्म दर्जनौँ नागबेली, पर्यटकीय (scenic) राजामार्ग बनाउँला। कोसी, नारायणी, गण्डकी, कर्णालीका फाँटमा अद्वितय वन्यजन्तु र वनस्पति संरक्षण स्थल बनाउँला। अनि हाम्रो पर्यटन उद्योग संसारकै सर्वोत्कृष्ट हुन कति बेर?

अझ हामी लुम्बिनीमा बौद्ध विश्वविद्यालय बनाएर संसारभरकै बुद्ध धर्म र संस्कृति सम्बन्धी खोज, अध्ययन र अनुसन्धान केन्द्र बनाउँला। कर्णाली विश्वाविध्यालयलाई संसारकै उत्कृष्ट जडिबुटी र वैकल्पिक चिकित्सा केन्द्र बनाउँला। हामीसँग यि अद्भुत अवसर छन्; किनकि हामीसँग मधेस, पहाड र हिमालको अलौकिक समृद्धि  मिश्रण उपलब्ध छ। साथी, तिमीले सँग्लो नेपालको उन्नतिका लागि अगुवाइ लिनुपर्थ्यो; तर अझै पनि केही बितेको छैन।
------------
मेरो वाल्यकाल र युवा अवस्थामा दुइजना आदर्श व्यक्ति थिए, जस्ले जीवनमा दुरगामी छाप छोडे। सानैमा विज्ञान पढाउने शिक्षक हुनुहुन्थ्यो। B.Sc. Sir - महेन्द्र यादव। उहाँको शालिनता, सद्भाव, सहृदयता, माया र मधेसबाट पहाडी भिरपाखासम्म उक्लेर गरेको सेवा सदैव सम्मानजनक र प्रेरणादायी रहिरहे। 

अनि अर्को तिमी, जो अझै कायम छ। कालन्तरमा आएको वैचारिक भिन्नताले उहिले रोपिएको आत्मियताको जरा उखेलिने त हैन? तर पुनः आग्रह छ- तिम्रो अहिलेको मार्गचित्रले हामी सबैलाई खाडलतिर धकेल्ने चेष्टा गर्दै छ। 

मलाई मेरा आदर्श व्यक्तित्वको छालाको रङ, बोलीको लवज, अर्थिक सामाजिक परिवेश वा जातजाती, धर्म, भाषा, सम्प्रदाय वा भूगोल आदिमा रहेको भिन्नताले कुनै मतलब राखेन; सिवाय त्यसको सम्मान। म जस्तै लाखौँ हिमाली, पहाडी र मधेसी होलान, जो भिन्नताको सम्मान गर्छन् र त्यसैमा रमाउँछन्। त्यसैमा आदर्श छ र राष्ट्रको पहिचान पनि।

हो, यसका बाबजुद भेदभाव भएका थिए, र छन। तर बाटो त्यसलाई हटाएर सबैको साझा फुलबारी निर्माण गर्नेतर्फ हुनुपर्छ- मेरो पनि र तिम्रो पनि। 

यो टुटाउने बेला हैन; जुटाउने बेला हो ! 
यो फुटाउने बेला हैन; बनाउने बेला हो ! 

तिम्रो साथी
मनोज 

भोजपुरमा जन्मेका मनोज कार्की हाल अमेरिकाको वासिङ्टन स्टेट युनिभर्सिटीमा सहप्राध्यापक छन्। -सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell