
- मनोज सत्याल/अंगद ढकाल-
त्यसको दायाँ पट्टी इँट्टा छापेको गल्ली छ। वरिपरि अग्ला घर छन्। ट्याक्सीसम्म छिर्न सक्ने सानो बाटो छ। नजिकै पुरानो डेढ तल्ले पहेँलो घर छ कुमार घैँटेको। उनको घर सजिलै कसैको आखाँमा पर्दैन। किनकी घरमा मोटरसाइकल छिर्ने मात्रको बाटो छ।

अम्बाको झ्याम्म परेको बोटले घरको भित्र छिर्ने बाटो छेक्छ। पुरानो जस्ताको गेट छ। घैँटेको घर अगाडि झण्डै पाँच आना बराबरको जग्गाको कित्ता खाली छ।

बिहीबार त्यही खाली जग्गामा प्रहरीसँगको इन्काउन्टरमा घैँटे मारिए। वरिपरिको अग्ला घर र मूल बाटो समेत नपर्ने भएकाले घटना भएको स्थान एकान्त देखिन्छ। 'सेतो रंगको स्कुटरमा कुमार दाइ घर आउँदै हुनुहुन्थ्यो, स्कुटर पार्क गर्दै हुनुहुन्थ्यो, एक्कासी गोली चल्यो', हामी त टिभी हेर्दै थियौँ, गोली चलेपछि लुक्यौँ', एक प्रत्यक्षदर्शीले घटना बारे पहिलोपोस्टलाई भने।

घटना भएको ठाउँमा पेस्तोल देखिन्छ। स्कुटर ट्याक्सीको छेउमा लडेको देखिन्छ। बिहान ११ : ४० बजेको समयमा घैँटे माथि गोली प्रहार भएको थियो। झण्डै सात आठ मिनेट त गोली चल्यो होला, प्रहरीहरु पनि मोटरसाइकलमै आएका थिए, सादा पोशाकमा थिए', तीन चार जना थिए जस्तो लाग्छ तर पछि थपिए', प्रत्यक्षदर्शी स्थानीयले घटनाबारे पत्रकारहरुलाइ बताए। तर प्रत्यक्षदर्शीहरु त्रासका कारण कसैले नाम खुलाउन चाहेनन्।

गोली चल्न छाडेपछि तीन जनालाई उठाएर अस्पताल लिएर गएको स्थानीयले बताए। घटनास्थलमा गोलीको खोका समेत देखिन्छ।


घटनास्थलमा भेटिएको गोली ।

गोलीको खोका।

घटनामा स्थलमा भैटिएको भारतमा बनेको पेस्तोल।

मूल सडकमा घटनापछि जम्मा भएको भीड।