
- अनन्त कोइराला/अंगद ढकाल-
सामाखुसीमा बिहीबार दिउँसो सादा पोशाकमा गएका प्रहरीले कुमार घैँटेलाई गोली प्रहार गरेका थिए। खुल्ला ठाउँ, मान्छेको चहलपहल हुने ठाउँमा सादा पोशाकमा गएका प्रहरीले गोली प्रहार गर्न थालेपछि स्थानीयहरुले कुमार घैँटेलाई कुनै अर्को समूहले गोली हानेको आशंका गरेका थिए।
घैँटेलाई प्रहरीले लखेट्न थालेपछि सडकमा भएका सबैलाई भित्र पस्न आदेश दिएको स्थानीयले बताए। कुमार घैँटे बसेको टोलका दुई दाजुभाइ सुरेन महर्जन र राज महर्जन घाइते छन्। एकजनालाई एउटा खुट्टामा गोली लागेको छ भने अर्का एकजनालाई दुइटै खुट्टामा गोली लागेको छ।
‘सादा पोशाकमा भएका मान्छेले जथाभावी गोली चलाएपछि कसले हान्यो कसले हान्यो नि,’ आफन्त गोपाल महर्जनले भने, ‘यस्तोमा टोलमा सँगै बसिरहेको दाइलाई गोली प्रहार भएपछि बचाउन जाँदा गोली हानिएको छ।‘ उनका अनुसार गोली प्रहार गर्ने सबैले मास्क लगाएका थिए। उनीहरु कुमार घैँटेका छिमेकी मात्र रहेको र उनीहरु कुमार घैँटेको ग्याङमा नरहेको आफन्तले जनाएका छन्।

दुवैको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अहिले दुवैजनालाई इमर्जेन्सीबाट अप्रेसनका लागि अप्रेशन थियटरमा लगिएको छ। शिक्षण अस्पतालमा उनीहरु बोल्न नसक्ने अवस्थामा छन्।
घाइतेका आफन्त गोपाल महर्जनका अनुसार घटनास्थलमा सादा पोशाकका व्यक्तिहरुले घैँटेमाथि गोली प्रहार गरेपछि घाइतेमध्येका दाजु सुरेन महर्जन कुमार घैँटेलाई उठाउन पुगेका थिए। तर प्रहरीले भने उनीहरु दुवैजना घैँटेका सहयोगी भएको र उनीहरुले प्रहरीलाई ढुंगा प्रहार गरेपछि उनीहरुमाथि गोली चलाएको बताएको छ।
‘सादा पोशाकका व्यक्तिले घैँटेलाई गोली हानेपछि दाजुचाहिँ उसलाई उठाउन गएको थियो,’ आफन्त गोपाल महर्जनले भने, ‘तर सादा पोशाकका व्यक्तिले उसलाई पनि गोली हाने। दाजुलाई गोली लागेको घरको झ्यालबाट देखेका भाइ राज महर्जन घरबाट तल ओर्लेर दाजुलाई उठाउन जाँदा सादा पोशाकका व्यक्तिले उसलाई पनि गोली हाने।’

घाइतेहरुलाई प्रहरीको सुरक्षामा राखेर उपचार गरिरहिएको छ।
शिक्षण अस्पतालमा दिनभरी तनाव
प्रहरीले कुमार घैँटेलाई इन्काउन्टर गरेपछि घैँटेको शवलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेको थियो। घैँटेमाथि आक्रमण भएको खबर शहरमा फैलिएपछि घैँटेको समर्थनमा उनका आफन्त र समर्थकहरु ठूलो संख्यामा अस्पताल परिसरमा पुगेका थिए।अस्पतालमा नेपाली कांग्रेसका काठमाडौं ६ बाट संविधानसभामा निर्वाचित सभासद भिमसेनदास प्रधान, नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसी लगायत कांग्रेस नेताहरु पुगेका थिए। ठूलो संख्यामा उपस्थित नेपाली कांग्रेसका कार्यकर्ता र घैँटेका आफन्तहरुले गृहमन्त्री वामदेव गौतमविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले महानगरीय अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनालका विरुद्ध पनि उनीहरुले नाराबाजी गरेका थिए।
शिक्षण अस्पताल प्रांगणमा आफन्त र समर्थकहरुको भीड नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो। त्यसमाथि कांग्रेसका सभासद तथा नेताहरुले गृहमन्त्रीको ठाडो आदेशमा बिना कसुर घरमा गएर गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउँदै भाषण गरेपछि समर्थकहरु झन् उग्र बनेका थिए।
समर्थकहरुको नाराबाजीले शिक्षण अस्पतालमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। समर्थकहरुको भीडले शिक्षण अस्पताल अगाडिको बाटो केहीबेर अबरोध गर्ने प्रयास गरेपनि प्रहरीले घेरा हालेर उनीहरुलाई तितरबितर पारेको थियो।













