PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

टीकापुर घटना हाम्रो सोचमाथिको थप्पड हो



टीकापुर घटना हाम्रो सोचमाथिको थप्पड हो

  • प्रा. डा. पिताम्बर शर्मा-
हिजो टीकापुरमा जुन घटना भयो, म एकदम डिप्रेस्ड भएँ। म मर्माहत भएँ।

मैले बुझेको के हो भने, नेपालको संघीयताका लागि दुईवटा आधारहरु लिइए- पहिचान र सामर्थ्य। यी दुई आधारमा संघीयतामा जाने भनेर नेताहरुले भने र हामीले पनि त्यही बुझ्यौँ। तर जब संघीय खाका कोरियो न पहिचान भेटियो, न सामर्थ्य भेटियो। समस्या त्यहाँ भयो।

पहिचान भनेको जातीय कुरा होइन। नेपालमा कतिपय लेखकहरु छन्, तथाकथित ठूलाठूला बुद्धिजीवीहरु छन्, पत्रिकामा लेख्छन्- यो जातीय भयो भनेर। तर कुरा के हो भने जुन समस्या छ, त्यो समस्यालाई छ भन्ने नमानिकन समस्याको समाधान कसरी गर्नुहुन्छ? नेपालमा जातीय विभेद छ भने त्यो विभेदलाई समाधान पनि त गर्नुपर्‍यो नि। त्यसलाई मानेमात्र न समाधान हुन्छ।

तर त्यो जातीय विभेद समाधान गर्ने भनेको अर्को जातीय विभेद सिर्जना गरेर होइन। त्यो जातीय विभेदलाई सम्बोधन गर्ने भनेको नेपालको जातीय विविधतालाई स्वीकार गरेर हो। म विश्वविद्यालयको मास्टरको हैसियतले मलाई पनि धेरै दुख लाग्छ। हामीले हाम्रा विद्यार्थीहरुलाई के कुरा सम्झाउन/बुझाउन सकेनौँ भनेँ नेपाल विविधताले धनी छ। यो विविधताको संरक्षण गर्न सक्यौँ भने हामी अझ धनी हुन सक्छौँ। यो कुरा हामीले बुझाउन सकेनौँ।

नेपालमा एउटा वर्ग छ, तप्का छ, समूह छ, समुदाय छ, जुन समुदायले विविधताका नाममा रजाइँ गरिरहेको छ। त्यो समुदायले मैले भनेजस्तो विविधता मान्न इन्कार गर्छ। समस्या त्यहाँ हो।

त्यसैले विविधतालाई मानौँ। विविधतालाई हामीले मान्यौँ भने हामीले अर्काको आँखाबाट नेपाललाई हेर्न सिक्छौँ। अहिले हामी जुन आँखाबाट नेपाल हेर्दैछौँ, त्यो हाम्रो मनोगत आँखा हो। हाम्रो समुदायको आँखा हो। तर त्यो सत्य होइन।

यस्तो नेपाल बनाउँ जहाँ मैले मेरो समुदायले अर्कालाई अर्को समुदायको आँखाले हेर्ने स्थिति बनोस्। संघीयताले दिने भनेको त्यो हो। संघीयतामा तपाईँले आफ्ना संस्कृतिहरु, आफ्ना इतिहासहरु राख्नुहुन्छ। तर पछि जानुहुन्छ अघि जानुहुन्छ। संघीयता भनेको त विविधताले धनी हुने कुरा हो। यसले शोषण, विभाजन र विखण्डन ल्याउने होइन।

टीकापुर घटनाले हाम्रो समाजमा रहेको जुन सोच छ नि, त्यो सोचलाई त ठूलो थप्पड हो। अहिले पनि हाम्रा नेताहरुले सिकेनन् भने के हुन्छ? सिक्ने भन्ने कुरा के हो भने त्यो विविधतालाई मान्ने हो। त्यसैले अब संघीयताबाट पछि जाने कुरा हुँदैन।

संघीयता आउनाको एउटा कारण छ। नेपालका विभिन्न जातजाति, विभिन्न भाषाभाषी र विभिन्न संस्कृति सबैले नेपाल राज्यको ऐनामा आफ्नो अनुहार देख्न पाएका थिएनन्। त्यो देख्न चाहिरहेका थिए उनीहरु। सबैतिर एकैप्रकारको समतामूलक समविकास थिएन। समतामूलक समविकास चाहिरहेका थिए मान्छेहरु। र, तल्लो तहसम्म शक्तिको निक्षेपण भएको थिएन। शक्ति तल्लो तहसम्म पुगोस् भन्ने चाहिरहेका थिए मान्छेहरु।

यी तीनवटा विषय नै संघीयताको औचित्य हो। यी औचित्य प्रमाणित गर्नकै लागि हामी लाग्ने हो। यसबाट फर्किने बाटो छैन अब। नेताहरु आफूआफू बस्ने अनि आफ्नो चुनाव क्षेत्र तथा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने किसिमले आफै नक्सा कोर्ने अनि अरुलाई भाषण दिने? त्यो कुरा हुँदैन अब। सबैले खुला दिलले नेपालको यो विविधता स्वीकार गर्नुपर्‍यो। जब विविधतालाई अंगीकार गर्छौँ तब विखण्डन हुँदैन। हामीले एकअर्कालाई ‘एप्रिसिएट’ गर्न सिक्छौँ। र, अहिले संघीयताले चाहेको त्यही ‘अप्रिसिएसन’ हो। यसले मात्र हामीलाई नयाँ मनोवैज्ञानिक शक्ति दिन सक्छ।

सोमत घिमिरे र टीका भट्टराईद्वारा सम्पादितसमृद्ध कर्णालीको दुःख’ पुस्तकको विमोचन समारोहमा मंगलबार प्रा.डा. शर्माले राखेको विचार। पुस्तक सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell