- लिलाराज खतिवडा -
कविता लेख्न पोख्त पनि भएँ। तर मान्छेहरुले पागल भन्न थाले। कविताको गहिराइमा पुग्न अन्तर्मुखी भएँ वा विपश्यना ध्यान सिक्न गएँ। तर मान्छेहरुले झन् झन् मलाई पागल भन्न थाले। मान्छेहरुको भनाईलाई कट्टुभित्र हालेर कविता लेखिरहेँ तर मान्छेहरुले मलाई पागल भन्न छाडेनन्।
त्यसो त मान्छेहरुको कामै यस्तो हो। सत्यको गहिराइमा पुग्नेहरुलाई उनीहरुले सदियौंदेखि पागल करार दिँदै आएका थिए। यस्तो थाहा पाएर मान्छेहरुको आरोपले मलाई नछुनुपर्ने थियो। तर छोयो। छोयो मात्रै होइन यसले मलाई घोच्यो पनि।
मैले लेखेँ –
कविता एक अलौकिक आयाम हो
यो मनको अर्कै रसातलबाट लेखिन्छ
कविलाई मान्छेहरु पागल देख्न सक्छन्
कविता पागल हुन सक्छ
तर कवि सद्दे नै हुन्छ।
तर मान्छेहरुले पत्याए पो। यिनीहरुले मलाई पागल भन्न छाडेनन्। अब मलाई रिस उठ्न थाल्यो। एक दुईजनालाई सिद्याइदिउँ कि जस्तो पनि लाग्यो। तर कविले कसरी हत्या गर्नु?
अनि म कविता लेख्न छाडेर गीता पढ्न थालेँ। गीताले मानिसलाई ज्ञानी बनाउँन सक्छ। गीताले मानिसलाई शैतान पनि बनाउँन सक्छ। गीता एउटा त्यस्तो सिक्का हो जसको एकातिर पापै पापको त्रिशुल छ र अर्को तिर साधु गाई।
कृष्णले अर्जुनलाई ढाल बनाएर त्यत्राविघ्न मानिसहरु मारिपठाए। र, स्वर्गका हकदार हुन पुगे। यता कलियुगमा एउटा मान्छे मारेको खण्डमा जेलमा सड्नु पर्छ। कुनै कुनै देशमा हत्याभियोग प्रमाणित भए फाँसीमा लट्किनुपर्छ। त्यसो त सबै हत्यारा समातिँदैनन्। र, निर्दोषहरु पनि जेलमा कोच्चिन्छन् वा झुण्ड्याइन्छन्। कलियुग!
एक सय आठ पटक गीता पढिसकेपछि मैले एडोल्फ हिटलरलाई पढ्न थालेँ। उसको मेन काम्फ भन्ने कितावलाई रातो कलमले अण्डरलाइन गरिगरि पढिभ्याएँ। घतलाग्दा वाक्यहरु डायरीमा नोट पनि गरेँ। मेन काम्फको एउटा वाक्यः ओन्ली दि सुपेरियर्स आर अलाउड् टु सर्भाइभ् !
त्यही कृष्णले पूर्वमा आततायीहरु मार्दा बात् नलाग्ने, बरु उल्टै स्वर्गको हकदार बन्ने। उता हिटलरले यहुदी आततायीहरु मार्दा घृणाको पात्र हुने। र, नर्कको भागिदार बन्नुपर्ने।
दुनियाँको समिकरण कताकता नमिले जस्तो लागिरहेको थियो।
अनि मैले माओ, स्टालिन पढेँ। चंगेज खाँ पढेँ। नेपोलियन पनि पढिभ्याएँ। निकोलाश एम निकोलोभको वर्ल्ड कन्स्पिरेसी पढेपछि त जगतको वास्तविकता थाहा पाएर झण्डै साँच्चिकै पागल हुनपुगेको थिएँ।
मैले ओशामा बिन लादेन अनि दाउद इब्राहिमहरुलाई पनि पढ्न पुगेँ। नेपालका प्रचण्ड, बाबुरामहरुमाथि त म अपडेट नै थिएँ। यिनलाई पढ्न थालेर समय नष्ट गर्नुभन्दा म हिँडे इण्डिया, जहाँ म हत्यारा बन्ने कुनै तालिम लिन चाहन्थेँ।
तर इण्डियामा त्यस्तो तालिमको कुनै लिंक फेला पार्न सकिँन र उत्तर तिर पलायन भएर जोगीहरुसँग बस्न थालेँ। रातदिन म हत्याका बारेमा सोच्न थालेँ। मार्नुपर्ने मानिसहरुको कालो सूची तयार गर्न थालेँ। हत्या, सामुहिक हत्याका अनेक योजनाहरु पनि बनाउन थालेँ।
एक वर्ष त्यसरी बिताएपछि मलाई केही हिम्मत आयो र मैले जोगीहरुको संगत छाडेँ।
यस अघि मैले एउटा कुकुर पनि मारेको थिइन। खसी, बोकाहरु मार हानेको थिइन। कसरी मान्छे मार्नु हँ?
तर आफ्नो मुलुक फर्किनु अगाडि जो भए पनि एउटा मान्छे हान्ने बिचार आयो। मैले इन्टरनेटमा मान्छेको घाँटीनिरको एउटा नाजुक कुनाको बारेमा पढेको थिएँ। त्यस स्थानमा मिलाएर एक पञ्च ठोक्दा मान्छेको ज्यान जान सक्छ। नगए पनि बेहोश त पक्कै हुन्छ।
देहरादुनमा एउटा होटलमा बास बसेँ। होटल रहेछ कुख्यात बेश्यालय। सुरुमा थाहा भएन। नत्र त्यहाँ बास बस्ने थिइन।
तर अचानक त्यही होटलवालाको सास छिन्दिउँ झैं लाग्यो। उसले दिएको कोठामा बसेर चुरोटमा अलिकति चरेस भरेँ। सल्काउँनु अघि एउटा अगरबत्ति बालेँ। अगरबत्ति बालेर लोडेड धुवाँ तान्दा अरुले खासै मेसो पाउन्नन्। धुवाँ तानिसकेर पानी प्युदै थिएँ। ढोका ढक्ढक्याएको आवाज आयो। मनमा हल्का चिसो पनि पस्यो। तर, मनमनमा स्वयंलाई खुंखार हत्यारा बनाइसकेको म ढोकाको ढक्ढक मात्रैले डराउनु मुनाशिव थिएन।
मैले ढोका खोलेँ। उही होटलमालिक।
उसले मलाई गहिरिएर हेर्यो र विस्तारै भन्यो, “आपको माल मांगता है क्या?”
सुरुमा त माल भन्दा मैले चरेस बुझेँ। त्यस भन्दा खतरनाक मालहरुसँग म खासै परिचित थिइन।
“माल ?” उसको आशय क्रमशः बुझे पनि मैले नादान भावमा सोधेँ।
उसले दायाँ हातको चोरी औंलाले आफ्नो नाकमा, स्त्रीहरुले फुली लगाउँने स्थानमा हल्का दस्तक दिएर भन्यो, “लड्की चाहिए क्या?”
उसको सवालले म तिलमिलाएँ। मलाई धेरै रिस उठ्यो। यस्तो सवाल राति दस बजेपछि ठमेलमा नेपाली या अंग्रेजी भाषामा दलालहरुले सोध्थे। शिबको बुटी तान्न हिँडेका बेला उक्त सवालले जरुर हसाउँथ्यो। तर आज अचाक्ली रिस पो उठिरहेको छ। किन होला ? मलाई कुनै अनिष्टको तिखो र नमिठो गन्धले धावा बोल्यो।
तर आफ्नो अनुहारमा कुनै पनि नकारात्मक भाव नपस्किन खोज्दै मैले भनें, “हाँ चाहिए। क्या रेट है? अन्दर आजाओ। हम इस बातको गुप्त करना पसन्द करते हैं। कहावत जो है, अपना भोजन छुपके!”
ऊ भित्र आयो र भन्यो, “इधर कौनो टेन्सन नाहिं है। जो भी होता है खुल्लमखुल्ला!”
मैले ढोका ढप्काइदिएँ।
अनि उसका आँखाहरुमा गढेर हेरेँ। त्यहाँ शुकुन नामको कुनै रसायन थिएन। मनमनै सोचेँ पहिलो ग्राहक खाइलाग्दो छ भाइ, हान्दे यसलाई।
ऊ मोलतोल गर्न खोज्दै थियो। म भनेँ उसको घाँटीमा त्यो नाजुक कुनो नियाल्न थालेँ।
ऊ भन्दै थियो, “एक घण्टेका दो हजार, एक रात का....।”
“दो हजार मे तो साला हम सादी कर सकते है।”
उसको भनाई उछिन्दै मैले मन्द स्वरमा भनेँ र न्वारानदेखिको बल निकालेर एक पञ्च उसको घाँटीको मध्यभागमा ठोकेँ। ऊ ढल्यो।
यति सजिलै ?
म छक्क परेँ। एउटा मान्छे जन्माएर हुर्काउन कति समय र मेहनत लाग्छ? तर एक झट्कामा उसलाई हमेशाका लागि सुताउन सकिन्छ ? कस्तो आश्चर्य ?
ढलेपछि ऊ ख्वार्र ख्वार्र गर्न थाल्यो। मलाई थरर्र काम छुट्यो।
मैले ढोकाको छेस्किनी लगाएँ। आफ्नो बेल्ट खोलेँ। र उसको घाँटीमा कस्न थालेँ। खुट्टाहरु भर्याक भर्याक पारेर एकैछिनमा त्यो मान्छे लाशमा तब्दिल भयो। मैले आफ्नो बेल्ट पुनः लगाएँ। लाशलाई भन्नु बेकार ठानेँ कि ‘भाइ तँलाई मैले हमेशाका लागि बेश्याको दलालीबाट मुक्त गरिदिएँ।’
लत्ताकपडाको स्यानो झोला त्यहीँ छाडेर म बिना कुनै बिलम्ब बाहिर निस्किएँ र ढोकाको साँचो लगाइदिएँ।
फटाफट म सिंढी ओर्लिएँ र काउण्टरमा पुगेँ। त्यहाँ एउटा ठिटो थियो। मैले सोधें, “तुम्हारा मालिक किधर गया?”
उसले भन्यो, “आपके कमरे मे ही तो गये थे।”
म थोरै सचेत भएँ। तर स्वयंलाई सम्हाल्दै भनें, “क्या मालुम? मेरे कमरे मे तो नही आए। खैर यह बताओ, इधर मे साइबर क्याफे किधर होता है?”
उसले एउटा लोकेसन दियो। म फटाफट सडक तिर हान्निएँ।
बस स्टेण्ड पुगेँ र ऋषिकेश जाने एउटा बस समातेँ।
अज्ञात भयलाई काबुमा राख्दै म ऋषिकेश पुगेँ र आफ्नो मुलुकको बोर्डरतिर जाने अर्को बस समातेँ।
भोलिपल्ट बिहान करिब एघार बजे म आफ्नो मुलुक घुसिसकेको थिएँ।
मेरो हिम्मत बढेको थियो।
राजधानी जाने रात्रिबसमा ज्यादा भाडा लिन खोज्ने टिकट कटुवासँग केही विवाद भयो। हान्दिउँ कि जस्तो लाग्यो। तर दिउँसोमासो भिडभाडमा हत्या गर्न मलाई अझै सिक्न बाँकी नै थियो।
खुंखार योजनाहरुलाई मनमा सल्बलाएको रमिता हेर्दै म राजधानी फर्किएँ।
डिस्क्लेमर : माथि उल्लेखित पात्र, स्थान र घटनाहरु काल्पनिक हुन्। कसैको जीवनसँग मिल्नपुगे त्यो केवल एक संयोग ठहर्नेछ। – लेखक