- वैकुण्ठ ढकाल-
‘किन छोरी?’
‘तपाईँसँग धेरै कुरा गर्नु छ। तर तपाईँ एक्लै भएको बेलामा।’
६ वर्षकी छोरीले आँखाभरी आसु पारेर याचना गर्दा मलाई ठूलो छटपटी भयो। कहिले छोरी र आफूमात्रै भएको बेला पारेर कुरा गर्ने होला भन्ने लागिरहेको थियो। उमेर परिपक्क भएको मानिसलाई त कुरा गर्न मुड आउनु पर्छ भने बालिकालाई झन् कस्तो हुँदो हो?
त्यो दिन पनि आयो। छोरी र म मात्रै कोठामा भयौं। खाना खाइवरी छोरी काखमा बस्न आइन्। मैले छोरीलाई प्रमेपूर्वक सोधेँ। उनले पनि सम्झिरहेकी हुँदी हुन्। अनि बालमनमा रहेका सबै कुरा खोल्न थालिन्।
‘मामु म तपाईँसँग अस्तिअस्ति किन नबोलेको थाहा छ?’
म कुरा सुन्न आत्तुर थिएँ।
‘किन छोरी? भन त।‘
‘मलाई आमा (हजुर आमा) ले दिनदिनै लालीपप अनि चकलेटहरु खुवाएर, हजुरसँग नबोल भन्नुभयो नि। अनि बाबालाई हजुरका नराम्रा कुरा मात्रै फोन गरेर सुनाउनु भयो। मामुसँग नबोल, मामुले खुवाएको नखाऊ, मामुसँग नसुत, मामुसँग घुम्न नजाऊ भन्नु हुन्छ । म हजुरसँग बोल्दा हामी दुबै जनाले गाली खान्छौं। त्यही भएर म हजुरसँग नबोलेको। मलाई मामुको धेरै माया लाग्छ, धेरै माया लाग्ने मामुलाई म कसरी आमाको गाली खुवाऊँ?’
छोरीको, प्रश्नको जवाफ मसँग थिएन। आँखाबाट बलिन्द्र धारा आँसु खसे।
छोरीले के बुझिन् कुन्नी?
मामुको काखमा बस्न नपाउँदाको पीडा आफू जन्मेको दिन नै आमा गुमाएकी मलाई राम्रोसँग थाहा छ। तर आँखा अघि नै मामु हुँदा पनि काखमा बस्ने रहर खोसिँदा कस्तो हुन्छ होला?
म सोचिरहेछु। हेरिरहेछु।
[email protected]