
- उमेश श्रेष्ठ/पहिलोपोस्ट-
एक सातापछि अर्थात् भदौ २९ गते नेपाल आउने कार्डिनलले काठमाडौँमा सरकारी अधिकारीहरुलाई भेट्नुका साथै राजधानी र राजधानीबाहिरका विभिन्न ठाउँमा हुने इसाई धार्मिक सभा (इक्युमेनिकल मिटिङ) डाक्ने रेडियो भ्याटिकनले जनाएको छ। उनले वैशाख १२ को भूकम्पबाट प्रभावित ठाउँहरुमा खटिएका इसाई समूहलाई पनि भेट्ने छन्।
रोमन क्याथोलिक चर्चको हेडक्वार्टर रहेको देश भ्याटिकन सिटीबाट सञ्चालित रेडियो भ्याटिकनले यसबारे औपचारिक जानकारी सोमबार सार्वजनिक गरेको हो।
१० दिने भ्रमणका लागि भोलि बुधबार बंगलादेश पुग्ने कार्डिनल फिलोनी त्यहाँबाट भारतको कोलकाता हुँदै नेपाल आएर ५ दिन बस्नेछन्। उनले काठमाडौँमा बिताउन लागेको त्यही समय हो, जतिबेला संविधानसभाले प्रक्रिया अनुसार धर्म निरपेक्षता लगायतका धारामा मतदान गर्दै संविधान जारी गर्ने तयारी गर्दैछ।
को हुन् कार्डिनल फिलोनी?
सबै रोमन क्याथोलिक चर्चहरुको हेडक्वार्टरका रुपमा रहेको देश भ्याटिकन सिटीले विश्वभर इसाई धर्म प्रचारका गतिविधि हेर्ने जिम्मा कार्डिनल फिलोनीलाई दिएको छ।क्याथोलिक चर्चको वरियता क्रममा पोपपछिको दोस्रो वरियतामा रहने पद कार्डिनल हो। इसाईहरु उनलाई सम्बोधन गर्दा उनको अगाडि योर एमिनेन्स भन्छन्, उनीबारे अरुसँग कुरा गर्दा वा लेख्दा 'हिज एमिनेन्स' लेखिन्छ।
उनलाई चीन र मध्यपूर्व विज्ञ पनि मानिन्छ। यसअघि उनी इराक, जोर्डन र फिलिपिन्सका लागि पनि पोपका दूत भएर काम गरिसकेका कुटनीतिज्ञ हुन्।
उनलाई इसाई धर्मको सर्वोच्च पद पोप बेनेडिक्टले चार वर्षअघि धर्म प्रचार मण्डलीको 'पर्फेक्ट' पदमा नियुक्त गरेका थिए। 'पर्फेक्ट'लाई परम्परागत रुपमा 'रेड पोप' पनि भनिनुको कारण यसको शक्ति नै हो। किनभने 'पर्फेक्ट' सित अथाह सम्पतिको ढुकुटीको साँचो हुन्छ जसलाई उनले धर्म प्रचारमा खर्च गर्न सक्छन्।
रोमन रियल स्टेटको होल्डिङ्स लगायत अन्य विभिन्न स्रोतबाट प्राप्त हुने आयबाट मुख्य गरी अफ्रिकी र एसियाली देशहरुलाई लक्षित गरी धर्म प्रचारका गतिविधि सञ्चालन गर्दा खर्चको अन्तिम स्वीकृति दिने व्यक्ति अहिले नेपालमा आउन लागेका कार्डिनल फिलोनी नै हुन्।
उनी प्रमुख रहेको धर्म प्रचार मण्डलीको अहिलेको औपचारिक नाम कन्ग्रिगेसन फर द इभानजेलाइजेसन अफ पिपल्स हो। गोयबल्सले प्रोपोगान्डा शब्दलाई नै बद्नाम गराएको भनी सन् १९८२ मा यसको अहिलेको नाम राखिनुअघि गठन हुँदाताका यसको नाम मै प्रोपोगान्डा थियो- Sacra Congregatio de Propaganda Fide। नाम परिवर्तन भयो तर मिसन परिवर्तन भएन।