PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

जनताको छातीमा गोली ठोकेर लेखिने संविधानको कुनै मान्यता रहँदैन



  • किशोर नेपाल - 
भुईंचालोपछि बसेको संविधानसभाको बैठकबाट फर्किंदा माननीय सदस्यहरुले हातमा “लेजिस्लेचर्स ब्रिफकेस” झुण्ड्याएजस्तै, पीडितका लागि राहतमा आएको एकएक थान पाल झुण्ड्याएका थिए। यो पटक उनीहरुले आफ्ना पार्टीका कार्यकर्ताका कृति विमोचन गर्दै दर्शकलाई कृतिको अग्रभाग देखाउने शैलीमा एकएक थान संविधान देखाउँदै सभागृहबाट बाहिर निस्किने अनुमान गर्न सकिन्छ।

तर, के यो सम्भव होला? जनताको नाममा तयार पारिएको संविधान जारी गर्न जनताविरुद्ध शक्तिको प्रयोग गर्ने हो भने यो असम्भव नहोला। तर, सजिलो पक्कै छैन। भुईंचालोपछि देशमा सन्नाटा छाएको थियो। अहिले देशको आकाशमा जनताका क्रन्दन र कोलाहल व्याप्त छ। त्यतिखेर प्रकृतिको मारमा परेर जनता मरेका थिए, अहिले सरकारको गोली लागेर ढल्दैछन्। प्रत्येक दिन। मधेसका नेपाली पुस्ता–दर–पुस्ता जीवन बिताउँदै आएको भूमिमा सहज ढंगले बाँच्न अलिकति अधिकार माग्दैछन् झण्डै महिना दिनदेखि। मधेसमा आन्दोलन प्रखर र मुखर छ। त्यसको प्रकम्पनले पहाड पनि थर्किँदैछ। मधेसमा चलेको गोली पहाडमा चल्दैन भन्नु तिमीलाई खाने चितुवाले मलाई खाँदैन भन्नु जस्तै हो। जुन मस्यौदा संविधानमाथि अहिले संविधानसभामा “छलफल” भइरहेको छ त्यो मधेसी नेपालीको मात्रै होइन, पहाडीया नेपालीको हितमा पनि छैन। मधेसलाई निषेध गर्ने प्रावधानले पहाडलाई पनि निषेध गर्दछ। मधेसका जनताको छातीमा गोली ठोकेर मार्ने सरकार चलाउने दलका नेता केपी ओली लटरम्म फलेको बोटबाट दुईचार आँप झरेको निर्मम अभिव्यक्ति दिँदैछन्। अहिले आँप झरेको छ। भोलि लटरम्म फलेको सुन्तलाको बोटबाट दुईचार सुन्तला झर्नेछन्। यस्ता निर्मम अभिव्यक्ति दिने नेताको तस्वीर भोलिका प्रधानमन्त्रीका रुपमा संचारमाध्यम र सामाजिक संजालहरुमा टाँसिन थालेको छ।

कोसीदेखि कर्णालीसम्मका पूरै भूभाग उद्वेलनको चरम विन्दूमा पुग्दा पनि सरकार चलाउने र सरकार चलाउने दलहरुलाई संविधान बनाउन सघाउने दलका नेताहरु मौन छन्। रोम सहर जलिरहँदा बाँसुरीको धूनमा रमाउने सम्राट नीरोकै शैलीमा ठूला दलका ठालु नेताहरु संविधानसभामा जेनतेन प्रक्रियालाई घचेट्दैछन्। हिजोका दिनमा एकीकृत माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईको जालबाट पहिलो संविधानसभा जोगाउन माखो नमार्ने सभाध्यक्ष सुवास नेम्वाङ अहिले कुनै हालतमा पनि प्रक्रिया रोक्न तयार छैनन्। किनभने, यसपटक बाबुराम र ओलीबीच भावी सरकार निर्माणका लागि भाइचारा सम्बन्ध गाँसिएको छ। दुई धूर्त नेताहरु वामपन्थका नाममा एकै ठाउँमा उभिएका छन्। बाबुरामको तीखो दृष्टि भुईंचालो पीडित देशको पुननिर्माणका लागि दाताहरुद्वारा दान कबुल गरिएको अमेरिकी डलर ४.१ बिलियनबाट हटेको छैन।

हो, सरकार छ। पहिलो ठूलो दलको नेतृत्वमा दोस्रो ठूलो दल समावेश भएको चट्टानको ढुंगो जत्तिकै बलियो सरकार छ। सरकारका नेता सुशील कोइराला ढुंगो जत्तिकै स्थिर छन्। उनी आफैँले गठन गरेको पुनर्निर्माण आयोग सम्वन्धी अध्यादेश समेत बिर्सिन्छन्। कांग्रेस पार्टीका सभापति छन्। तर, नियमित महाधिवेशन गराउने हैसियत राख्दैनन्। बरु, अन्तरिम संविधान संशोधनद्वारा कांग्रेस पार्टीको वैधानिकता जोगाउन चाहन्छन्। अहिंसाको कुरा गर्छन्। अनशनकारीलाई जुठो जूस पिलाउँछन् र झुठो आश्वासन दिन्छन्। सरकारको नेताका रुपमा सुस्त छन्, आफनो र आफन्तको स्वार्थमा चुस्त। वर्षौ किचेन क्याविनेटको नेतृत्व गरेर पनि उनले केही सिकेका रहेनछन्। उनको अनुहार नभएको होइन। तर, आन्दोलनकारीसँग वार्ता गर्ने नैतिक साहस छैन। उनी आफूलाई जनताका नेता भन्दछन्। कांग्रेस पार्टीका सभापति भएकै कारणले पनि उनी जनताका नेता हुनैपर्ने हो। तर, जनतासँग खासै सरोकार राख्दैनन्। आन्दोलनका क्रममा मारिएका जनताको आँगनमा गएर सहानूभूति प्रकट गर्ने र संवेदनाको दुई शब्द उच्चारण गर्नका लागि उनीसँग वाणी नै छैन। उनी कालो सिसा लगाइएको गाडीमा अनुहार लुकाएर हिँड्छन। अनुहार नै लुकाएर हिँडेपछि कसको के लाग्छ ?

संविधान प्रक्रियामा छ। तीन ठूला दलका माननीय सदस्यबाहेक धेरै सदस्यहरु प्रक्रियाबाट बाहिर छन्। तीन दलका पनि प्रभावशाली सदस्यहरु प्रक्रिया बाहिर रहने संकेत आइसकेको छ। पहाड र मधेसका पीडित–प्रताडितहरु प्रक्रिया बाहिर छन्। विश्लेषकको आँखाले हेर्दा अहिलेसम्मका हुनेखाने र यसपछिका हुनेखाने बाहेकका बाँकी नेपाली जनता प्रक्रिया बाहिर छन्। यी तिनै जनता हुन जो कहिल्यै प्रक्रियाभित्र परेनन् र पारिएनन्। यसैले पनि, संविधान बनाउने प्रक्रियामा जनताको चासो कम छ। संचार–माध्यमले जवर्जस्ती जगाउन खोजेको चासोको कुनै अर्थ छैन। पूरै देश र दुनियाँ खुसी छैन। देश आन्दोलनको आगोमा जलिरहेको बेला नेपाली जनता खुसी हुने कुरै भएन। नेपाली जनतालाई मधेस, पहाड र हिमाल तीनवटै भूखण्ड चाहिन्छ। यी तीनवटै भूखण्डका आवश्यकताहरु अलगअलग होलान्। तर, सम्बन्ध प्रगाढ र अन्योन्याश्रित छ। हिमाललार्ई पहाडको, पहाडलाई मधेसको आधार चाहिन्छ। मधेसका लागि पनि यही हो। हिमाल र पहाड नरहे उसको पनि सौन्दर्य रहँदैन। अहिले कसैले पनि भावनाको वशमा आएर स्वतन्त्र मधेस गणतन्त्र भन्ने अवस्था आएको छैन। केही निहित स्वार्थमा अल्झेका नेता र बुद्धिजीवीले संचार माध्यम र सामाजिक संजालमा लेखेकै भरमा देश टुक्रिँदैन। जनता मुख्य तत्व हो देशको। यो टिप्पणीकारले मधेसको राजनीति नबुझेको होला। तर, पटक पटक देश घुमेर जनताको मन बुझेको छ। उनीहरुको आवाज र भावनालाई अन्तरमनमा समेटेको छ।

अहिले प्रक्रियाको नेतृत्व गर्दै रहेका नेताहरुमा साँच्चै देशप्रेमको भावना छ भने संविधान निर्माणको कथित प्रक्रिया तत्काल रोकेर आन्दोलनकारीसँग वार्ता गर्नु पर्दछ। दश/पन्ध्र दिन प्रक्रिया रोक्दैमा आकाश खस्ने वाला छैन र धर्ती पनि भासिने होइन। दशकौंदेखि जनताको संविधान जनताले नै लेख्ने चाहना राख्ने जनताको छातीमा गोली ठोकेर लेखिने संविधानको कुनै मान्यता रहँदैन। जनताको रगतले लतपतिएको संविधानले देशको भलो कहिल्यै गर्दैन। देशको अस्तित्वको सुरक्षा जनता आफैंले गर्दछ। किनभने, सेना लगायतका सुरक्षा संस्थाहरु सजिलै पराजित हुन्छन। तर, जनता कहिल्यै पराजित हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell