PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कमरेड लालसलाम



कमरेड लालसलाम
फोटोः photojournale.com

  • सन्देश अर्याल-
अध्यारो बर्सिएपछि साँझमा
ऊ फेरि अत्तालिएकी हुँदी हो
अत्यासलाग्दो रात सम्झेर
डराएकी हुँदी हो।
***

फु…फु...
ढुङ्ग्रो के फुक्थी र?
ऊ सास रित्याउँदी हो डरले
कुनामा पोको परी सानो उज्यालो सल्काउँदी हो
बालखाले आमा माम नभनिदियोस् मध्यरातमा
अझ बढी सपनामा उस्को आवाजले नबोलाओस्।
***
सम्झनामा हुँदो हो
पँधेराको भेट
पहिलो प्रेमपत्र
राजेश हमालको फिल्म
सँगै बाँच्ने कसम
सुहागरात
अझ बढी म आउँछु भनेर हिँडेको त्यो दिन।
***

आशाले निथ्रुक्क रुझेकी हुँदी हो
जुन चुहिने छानामुनी सँगै सपना देख्ने
भन्ठान्दी हो
ऊ आउँछ र छोरीलाई बोलाउँछ
फेरि माया लिएर आउँछ, मलाई बोलाउँछ 
अझ बढी, मेरो संसार हुनेछ आफ्नै संसार।
***
कस्ले सोच्दो हो कि डाँडाबाट कोही आउँछ
रातो लाल्टिन लिएर अनि भन्छ
महान जनयुद्धमा उहाँ सहिद हुनुभयो
जीत हाम्रै हुनेछ हामीलाई आशिर्वाद दिनुस्
कमरेड लालसलाम !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell