- भावना शर्मा-
मृत्यु-बजारमा
उभ्याइएको यौटा पुत्ला
पटक पटक मारेर
देखाइन्छ रमिता
मानौं मृत्यु कुनै चटक हो !
ताली बज्छ पर्रर....
पटक पटक भाला रोपिँदा
म ज्युँदै जल्दा
अट्टाहास गुञ्जिन्छ बेसरी
यो मृत्यु-नगरीमा
जीवनको कुनै मोल छैन...
बस् ! एउटा मृत्यु गाइनेछ म माथि
अनि फूल सजाएर चितामा
तिमी- हाँस्नेछौ
तिमी- रूनेछौ
तिमीलाई विक्षिप्त पारेर
मर्नेछु म !
तर चाहन्छु
शंखको एकोहोरो आवाजले ब्यूँझियुन्
चिम्लिए झैं गर्ने ती आँखाहरू
हेरून् म ज्युदै जलिरहेको !
आगोका लप्काहरूले
पोलोस् तिनका आँखा पनि.....
एकपटक पूरै ब्यूँझाएर
देखाउन चाहन्छु
मृत्यु -उत्सव !
नदी किनारको
कुनै अप्ठ्यारो घाटमा
टाउको बिनाको मेरो लाश
लुछाचुडी गर्नेछन् बाआमा
मेरो सर्टको टाँक बेस्सरी टोकेर
छातीमा टाँसिनेछिन् मेरी प्रिया
मेरो आस्थाको देवतामाथि
चढाइनेछ फूलका हारहरू
कहिल्यै नबिर्सनु तिमी
मेरो नाममा गाइएको
त्यो मृत्यु-गीत !
म उडिरहनेछु
धुँवाको साम्राज्य बोकेर
तिम्रै गाँउतिर
चिरा चिरा फुटेको माटोमा
बज्नेछ शोकधुन !
जब गाउनेछ भोकको गीत तिम्रो पेटले
म बर्सनेछु...
झुलाएर धानका बालाहरू तिम्रो खेतमा
तिमी - हाँस्नेछौ
तिमी – रूनेछौ
तिमीलाइ जीवन दिएर पूरै मर्न चाहन्छु
यस्तै मरेर बाँच्न चाहन्छु म तिमीमा !