
काठमाडौँ : सरकारले 'समय अनुकूल नभएको' जानकारी गराएपछि क्याथोलिक चर्चका प्रभावशाली इसाई धर्मगुरु कार्डिनल फर्नान्डो फिलोनीको भोलिदेखि हुन लागेको पाँच दिने भ्रमण स्थगित भएको छ।
हाल बंगलादेशमा रहेका फिलोनी भोलि भारतको कोलकाता हुँदै नेपाल आउने र उच्च अधिकारीहरुलाई भेट्ने तयारी थियो।
विश्वभर इसाई धर्म प्रचारका गतिविधि हेर्ने जिम्मा पाएका 'रेड पोप' समेत भनिने कार्डिनल फिलोनी नेपाल आउन लागेकोबारे पहिलोपोस्टले भदौ २३ मा समाचार लेखेपछि उनको भ्रमणको चर्चा बढेको थियो।
'हामीले संविधान निर्माणको समय भएकोले समय अनुकूल नभएको जानकारी उहाँलाई गराएका छौँ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले पहिलोपोस्टलाई भने, 'उहाँ मन्त्री स्तरको व्यक्ति हुनुहुन्छ। यहाँ आउँदा भेटघाट हनुपर्नेमा सरकार र व्यवस्थापिका संविधानको चटारोका कारण व्यस्त भएकोले समय अनुकूल नभएको सन्देश पठाएका हौँ।'
होस्ट देशले नै समय अनुकूल नरहेको सन्देश पठाउनु अहिले भ्रमणमा नआउन कुटनीतिक भाषामा दिइएको जनाउ नै हो। बंगलादेश, भारत र नेपाल गरी एसियाको तीन देशको भ्रमणका लागि निस्केका फिलोनीको भ्रमण कार्यक्रम परिवर्तन भएको बारे भ्याटिकनले औपचारिक रुपमा केही जानकारी दिएको छैन।
उनको भ्रमणअघि नै संविधानसभाले धर्मनिरपेक्षता रहेको धारा ४ सोमबार व्याख्या गर्ने संशोधनसहित पारित गरिसकेको छ। धारा ४ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म सापेक्ष हिन्दु अधिराज्य बनाउनु पर्ने संशोधनमा मत विभाजन माग्दा ६१ सभासद् उभिनु पर्नेमा २१ जनामात्र उभिएपछि मत विभाजनको प्रयास असफल भएको थियो।
को हुन् कार्डिनल फिलोनी?
सबै रोमन क्याथोलिक चर्चहरुको हेडक्वार्टरका रुपमा रहेको देश भ्याटिकन सिटीले विश्वभर इसाई धर्म प्रचारका गतिविधि हेर्ने जिम्मा कार्डिनल फिलोनीलाई दिएको छ।क्याथोलिक चर्चको वरियता क्रममा पोपपछिको दोस्रो वरियतामा रहने पद कार्डिनल हो। इसाईहरु उनलाई सम्बोधन गर्दा उनको अगाडि योर एमिनेन्स भन्छन्, उनीबारे अरुसँग कुरा गर्दा वा लेख्दा 'हिज एमिनेन्स' लेखिन्छ।
उनलाई चीन र मध्यपूर्व विज्ञ पनि मानिन्छ। यसअघि उनी इराक, जोर्डन र फिलिपिन्सका लागि पनि पोपका दूत भएर काम गरिसकेका कुटनीतिज्ञ हुन्।
उनलाई इसाई धर्मको सर्वोच्च पद पोप बेनेडिक्टले चार वर्षअघि धर्म प्रचार मण्डलीको 'पर्फेक्ट' पदमा नियुक्त गरेका थिए। 'पर्फेक्ट'लाई परम्परागत रुपमा 'रेड पोप' पनि भनिनुको कारण यसको शक्ति नै हो। किनभने 'पर्फेक्ट' सित अथाह सम्पतिको ढुकुटीको साँचो हुन्छ जसलाई उनले धर्म प्रचारमा खर्च गर्न सक्छन्।
रोमन रियल स्टेटको होल्डिङ्स लगायत अन्य विभिन्न स्रोतबाट प्राप्त हुने आयबाट मुख्य गरी अफ्रिकी र एसियाली देशहरुलाई लक्षित गरी धर्म प्रचारका गतिविधि सञ्चालन गर्दा खर्चको अन्तिम स्वीकृति दिने व्यक्ति अहिले नेपालमा आउन लागेका कार्डिनल फिलोनी नै हुन्।