- पहिलोपोस्ट -
सभाध्यक्ष नेम्वाङले सोमबार साँझ ७ बजे राष्ट्रपतिलाई भेटेर असोज ३ गतेको संविधान जारी गर्ने औपचारिक राष्ट्रिय कार्यक्रमका लागि निमन्त्रणा दिने तयारी थियो।
'आज उहाँ (सभाध्यक्ष)ले मागेको समय प्रधानमन्त्रीलाई दिइसक्नुभएको थियो, भोलि फर्स्ट आवरमा (भेट) हुन्छ', राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले पहिलोपोस्टसँग भने, 'उहाँको पनि अनुकूलता हेर्नुपर्यो नि।'
उनले भोलि कति बेला भेट हुने भन्ने अहिले नै टुङ्गो लागिनसकेको पनि जानकारी दिए।
यसअघि नेपालको संविधान २०७२ असोज ३ गते आइतबार जारी गर्ने कार्यक्रम साँझ ५ बजे गर्ने तयारी संविधानसभा सचिवालयले गरेको सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिएका थिए।
यही कार्यक्रमबारे जानकारी दिन संविधान सभा अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति रामवरण यादवलाई साँझ ७ बजे निमन्त्रणा दिन जाने कार्यक्रम थियो।
संविधान जारी गर्ने कार्यक्रम राष्ट्रपति भवनमा गर्ने कि संविधानसभामै गर्ने भन्ने बहस यसअघि नै जारी थियो। अन्ततः संविधानसभा भवनबाटै संविधान जारी गर्ने तयारी सचिवालयले गरेको छ।
सार्वभौम संविधानसभा र सुरक्षित भवन भएकाले पनि संविधान जारी हुने ठाउँ संविधानसभा भवन नै उचित हुने निष्कर्ष नेम्वाङको थियो।