PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​आमहड्तालको परवाह नगरी तराईमा मनाइँदैछ चौंठचन्द्र पर्व



​आमहड्तालको परवाह नगरी तराईमा मनाइँदैछ चौंठचन्द्र पर्व
फोटो: www.panoramio.com

विराटनगर: तराईका जिल्लामा चौंठचन्द्र पर्व धार्मिक विधिपूर्वक आज मनाइँदैछ। भाद्र शुक्ल चतुर्थी तिथिमा सन्ध्याको समयमा गणेश र चन्द्रमाको पूजा गरी मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो।

प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले यो पर्वको शुभारम्भ गरेको विश्वास गरिन्छ। उनी ज्योतिष पनि थिए। यस पर्वको अवसरमा मिथिलामा पूजाको अवसरमा बनाउने गरिएका कलात्मक अरिपन आँगनमा बनाउने गरिन्छ। चामलको पीठोले आँगनमा अरिपन गरी त्यसमा चन्द्रमाको आकृति बनाउनुका साथै विभिन्न पूजाका सामग्री राख्ने स्थल अङ्कित गरिन्छ। 

त्यसपछि पूजाका सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाई, नरिवल केरालगायत सामग्री राखेर पूजा सुरु गरिन्छ। यो पर्व मनाउने परिवारका एकजना दिनभर उपवासमा बसेका हुन्छन्। पूजामा बस्नुअघि स्नान गरी स्वच्छ मनले चन्द्रमा र गणेशलगायत देवीदेउताको पूजा गरिन्छ। 

पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर चन्द्रमाको दर्शन गरिन्छ। त्यसो नगरी चन्द्रमाको दर्शन गरेको खण्डमा मिथ्या कलङ्क लाग्ने जनविश्वास छ। स्यमन्तक मणि चोरी गरेको आरोपबाट प्रताडित हुनुभएका भगवान् कृष्णले भाद्र शुक्ल चतुर्थी तिथिमा चन्द्रमा र गणेशको पूजा गरेपछि मिथ्या कलङ्कबाट मुक्त भएकाले यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थ भविष्य पुराणमा उल्लेख गरिएको छ। 

यसका साथै आज चौंठचन्द्रको रातिको समयमा चोरी गर्नेहरु चोरी गरेर साइत बनाउने गर्छन्। यो तिथिमा चोरी गरेपछि वर्षभरि सहज ढङ्गले चोरी गर्न पाउन सक्ने मान्यताले चोर साइत बनाउनका लागि चोरी गर्न प्रयत्नशील रहन्छन्। 

यो पर्व मनाइएमा मिथ्या कलङ्कबाट जोगिने र परिवारको कल्याण हुने विश्वासका साथ मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो।
मधेशी दलहरुले तराईमा आम हड्ताल गरेपनि सर्वसाधारणलाई चाड मनाउन यसले असर गरेको छैन। चौठचन्द्र पर्वको अवसरमा कतिपय जिल्लामा प्रशासनले कर्फ्यु खुकुलो पारेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell