- मनोज सत्याल/पहिलोपोस्ट -
संविधानसभा सचिवालयले नियमावली अनुरुप गर्ने भन्दै प्रमाणिकरण भएको संविधानको प्रति संविधानसभाका अध्यक्षले राष्ट्रपतिलाई हस्तान्तरण गर्ने र राष्ट्रपतिले हस्ताक्षर गरेर देखाउने मात्र कार्यक्रम राखेको हो।
संविधानसभा सचिवालय श्रोतका अनुसार राष्ट्रपतिले 'संविधान लागू भएको घोषणा गर्दछु...' समेत भन्ने छैनन्। उनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले हस्तान्तरण गरेको संविधानको प्रतिमा हस्ताक्षर गर्नेछन्। संविधानसभा नियमावली अनुसार त्यसमा राष्ट्रपति कार्यलयको छाप लगाइनेछ।
संविधानसभा नियमावलीको नियम ११० मा संविधानसभाबाट संविधान लागू भएको घोषणा राष्ट्रपतिले गर्ने उल्लेख छ। तर सचिवालयले पुस्तक विमोचन जस्तै कार्यक्रम राख्न लागेको हो। नियम ११० को उपनियम ३ बमोजिमको ढाँचामा भनिएको छ - 'संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भइ प्रस्तुत नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गते मा प्रारम्भ भएको नेपाली जनता समक्ष घोषणा गर्दछु।' जसको मुनिपट्टि राष्ट्रपतिले हस्ताक्षर गर्ने स्थान राखिएको छ।
संविधानसभा सचिवालयले उपनियम ३ मा भएको भनिएको छ – 'पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले सोही समारोहमा प्रस्तुत संविधानको प्रतिमा अनुसूची ७ बमोजिमको ढाँचामा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नेछ।'
राष्ट्रपतिले संविधानसभाबाट संविधान लागू भएको घोषणा गरे लगत्तै धन्यवाद प्रस्ताव पारित हुनेछ। संविधानसभाका अध्यक्षले समारोहमा विचार राख्नेछन्। प्रधानमन्त्री लगायत कोही पनि शीर्ष नेता र सभासद्हरुले धारणा राख्ने छैनन्।
२९ भदौमा साँझ ७ बजे संविधान जारी गर्न निम्तो लिएर जान लागेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई समय नभएको र अर्कैलाई दिएको भन्दै राष्ट्रपतिले भेट दिएका थिएनन्। प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम भएको भने पनि प्रधानमन्त्री समेत सो दिन राष्ट्रपति भवन गएनन्। ३० भदौमा संविधानसभाका अध्यक्षले निम्तो दिए पनि यादवले सकरात्मक जवाफ दिएनन्। राष्ट्रपतिले आलटाल गर्न खोजेपछि सोही दिन संविधानसभाको बैठकले संविधान जारी गर्ने मिति र स्थलबारे विशेष प्रस्ताव पारित गरेको थियो। राष्ट्रपति यादवको पछिल्लो गतिविधिलाई दलहरुले शंकास्पद रुपमा हेरेका छन्। राष्ट्रपतिले संविधानसभाका अध्यक्षलाई पत्र नै काटेर संविधानसभाबाट दलहरु बाहिर गएकोबारे जिज्ञासा राखेका थिए। संविधानसभाको बैठकमा मस्यौदा समितिका सभापति समेत रहेका कांग्रेस महामन्त्री कृष्ण सिटौलाले संविधानसभाभन्दा माथि राष्ट्रपति नरहेको टिप्पणी गरेका थिए।
असोज ३ गते ५ बजे बस्ने बैठकमा सभासद्हरुलाई औपचारिक पोशाक वा आफ्नो समुदायको पहिचान झल्कने पोशाकमा उपस्थित हुन आग्रह गरेका छन्। साथै सभासद्हरुलाई पौने ५ बजे भित्र नै आफ्नो सिटमा बस्न ध्यानाकर्षण गराइएको छ।