काठमाडौं: संविधान पारितका विषयमा भारतको भूमिकालाई लिएर बिभिन्न टिप्पणी भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत विदेश सचिव एस जयशंकर आज नेपाल भ्रमणमा आएका छन्।
उनले बिहान १० बजे प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राजनीतिक भेटघाट सुरु गर्नेछन्। त्यसपछि उनले राष्ट्रपति डा. रामवरण यादवलाई भेट्नेछन्।
जयशंकरले भारत फर्किनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि छुट्टाछुट्टै भेट गर्नेछन् भने मधेशमा आन्दोलनरत दलका नेताहरुलाई सामूहिक भेटघाट गर्नेछन्। शनिबार स्वदेश फर्कने उनले प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई पनि भेटघाट गर्नेछन्।
चालु संविधानसभा निर्माण प्रक्रियामा मधेशी दलहरुलाई नसमेटेकोमा 'असन्तुष्ट' भनिएको भारतले संविधान जारी गर्ने मिति घोषणा गरेपछि विज्ञप्ती जारी गरी अधिकतम लचकता अपनाएर मधेशलाई स्वीकार्य संविधान बनाउन आग्रह गरेको थियो।
दलहरुले भदौ ३० गते संविधान पारित भएको पर्सिपल्ट र संविधान जारी हुने दुई दिनअघि भारतीय प्रधानमन्त्रीका विशेष दूत नेपाल आउनुलाई विशेष महत्वका साथ हेरिएको छ।