- मुक्ति भण्डारी-
दौडधुपलाई जिन्दगी भनेर।
सडकमा एउटा ठिटो
विज्ञापनलाई समाचार भनेर बेचिरहेछ,
हेडलाइन हेर्छु
स्पष्ट देखिन्छ
पत्रिकाले गधालाई "नेता" भनेर छापेछ।
एउटा चिया पसलमा पस्छु
पसल्नीले कालो चियालाई "ब्ल्याक टि" भनेर खुवाई
म पनि दङ्गै परेर पिइदिएँ
अहा ! कालो चियाभन्दा त ब्ल्याक टि मीठो ।
घर फर्केपछि श्रीमती हाजिर भइन्
दिनभरिको प्रगति विवरण लिएर
छोरालाई कारागार पठाइछन् "हाेस्टेल" भनेर
उता छोराले सिकेछ-
स्याउलाई "एप्पल" भन्न
बिरालोलाई "क्याट"
दाइलाई "ब्रो"
भैंसीलाई "बफ"
आमालाई "मम्"
र, बुवालाई "ड्याड" भन्न।
र, सिकेछ थुप्रै "नेपाङ्ग्रेजी" बोल्न।
म विश्वस्त छु एकदिन छोराले मलाई "सुड्ढो" र उनलाई "सुड्ढी" भन्न पनि सिक्ने छ।
टिभी खोल्छु
तिज आइसकेछ
एक हुल कलाकारले बजार तताएछन्
रत्यौलीलाई "तिज गीत" भनेर
नाङ्गो नाचलाई "कल्चर डान्स" भनेर
झट्ट सम्झेँ
उफ !
अब श्रीमतीले सताउने सिजन आएछ
जाँडलाई "दर" भनेर
चप्पललाई "सेन्डिल" भनेर
यस्तै यस्तै अनेक भनेर
जे नभन्नु थियो त्यै भनेर।
यै सिजनमा कति प्रियाहरु व्रत बस्छन्
जँड्याहालाई "पतिदेव" भनेर
ऊ उतै लठ्ठिन्छ
भट्टीवालीलाई "डार्लिङ" भनेर
श्रीमतीलाई "खेलौना" भनेर।
यस्तै दिग्भ्रममा आँसु झारिरहन्छन्
कैयन आमाहरु
विदेशीको भरियालाई "छोरो" भनेर
मालिकहरुले
भरियाको देशमा दु:ख पर्दा
कुहिएको चामल पठाउँछन् "राहत" भनेर
अनि
हामी त्यसैलाई स्वाद मानी मानी खान्छौँ
"ब्राउन राइस" भनेर
गनाएको ठेकोलाई बसायो भने झैं
दुर्गन्धलाई बास्ना भनेर।
आफू राजा बन्न
हजारौं मान्छेको नाक कान काट्ने
पृथ्वीनारायणलाई हामी पूजा गर्छौं
"राष्ट्रनिर्माता" भनेर।
बुद्धको देशमा युद्ध गरियो
मान्छे मार्नुलाई "क्रान्ति" भनेर।
कैलेकाहीँ आफैसँग
प्रश्न गर्न मन लाग्छ
कतै म अर्को दिग्भ्रममा त छैन
नेपाललाई "स्वतन्त्र देश" भनेर
र, आफूलाई
यो देशको नागरिक भनेर?
चुड्किलालाई गजल/मुक्तक
आत्मगन्थनलाई उपन्यास
भनिने यो समयमा
म पनि तपाईंलाई
एउटा निबन्ध सुनाएँ "कविता" भनेर।