PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

​खोसिएको रहर



​खोसिएको रहर
चित्र साभारः grabpage.info

  • याम "नौलो दिप" मगर-
नयाँ जिन्दगीको पुस्तक
उभ्याउदै आइपुग्ने घामको मुस्कान
वर्षौँदेखि हराएको सुन्दर भविष्य।

नभेटेको खबर बोकेर 
अस्ताउँछ पहाडको टुप्पो छोएर
पटक पटक अस्थिर 
उच्छ्बास फ्याँकेर छातीबाट 
निर्जन मरभूमीमा छटपटिँदै छ- मृत्यु
समयले लुटिएको अलाप्दै।

उहिल्यै रोपेको सुकोमल धुन
तन्नेरी ओठ तेकेर बग्दै जाने सुरिलो गुञ्जन
कर्कस आवाजको भीड  मै  गुमनाम 
भेटिँदैन कृष्णको धुन रोक्ने उत्कृष्ट धुन
कयौ पटक 
शरद ऋतुले आफ्नो वस्त्र फेर्‍यो- जिन्दगीमा 
खुसी थिए- ढुकुरका जोडी
कयौँ पटक शिषिरले
न्यानो घाम ओराल्यो आकासबाट
खुलेका थिए- आँखीझ्यालको पर्दा
कयौँ पटक वसन्तले
रङ फेर्‍यो चैत बैशाख शीत
सुनाएको थियो  कोइलीले- पहिलो गीत।

उठाएर ल्याएनन् कसैले- मन्दिरमा
बोलाएनन् त्यो - नाम
बाटो मुनीको फूल
जो 
मनको एक कुनामा बसेर
बुन्दै हुन्थ्यो सपनाहरुको सुन्दर घर
उपहास र उपेक्षाको लगौँटी 
जीवनभर पहिरिएर पनि
रिसाएन कुनै पल भगवानसँग 
बुढो भयो समय
अविराम बग्यो नदीहरुमा- पानी।

अँध्यारोलाई सोधिरह्यो 
जुनकिरीले- उज्यालोको रङ 
कुन खोचमा झरेको छ? यो भूगोलको 
मेरो  धिपधिपे बत्तीले भेटाउन नसक्ने 
सधैँ डुलिरहेकै हुन्छु अँध्यारो 
खोच, कुना र काप्चाहरुमा।

चौतारीको छायाँ टेकेर 
उक्लिरहेका सुस्केराहरुलाई 
निधारको खुसी कहाँ छ- थाहा छैन 
कुन जन्तु हो? चिन्दैनन्
रोग, भोक र अभावको खिल  पिएर 
चढ्दै छन् जीवनको सिढी
ठूला ठूला पीडाका पहाडहरु 
गल्छ गल्दैन संघर्षको पवनले।

सधैँ मुस्कराएर हेरिरहने 
हिमशृङ्खलाका चम्किलो आँखाले
मृग शावकको नृत्य 
अपहरण भएको छ  यहीं आगनबाट
एक अञ्जुली खुसी सातेर
बाँचिरहेका चराहरुको बासस्थान 
खोसिएको यही रुखबाट 
यी सानो जिन्दगी पालिरहेका 
निर्दोष निमुखाको 
अनुहारका रहरहरु 
चोरी भएको यही बथानबाट
- रोल्पा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell