PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यसरी भड्काउन खोजिँदैछ मधेसी समुदायलाई



यसरी भड्काउन खोजिँदैछ मधेसी समुदायलाई
सिम्रौनगढका आन्दोलित युवा। फोटो सौजन्य : अरविन्दकुमार यादव

रविराज बराल/पहिलोपोस्ट-
काठमाडौं : बाराको सिम्रौनगढमा शनिबार दिउँसो भएको घटना आकस्मिक थिएन। लामो समयदेखि सडक मर्मतको माग गर्दै आएका स्थानीय बासिन्दाले गएको सातादेखि आन्दोलन थालेका थिए। उनीहरुको एउटै माग थियो- वर्षातका कारण बिग्रिएको सडक चाँडो मर्मत गर। तर, शान्तिसुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासन यति गैरजिम्मेवार भयो कि निहत्था नागरिकमाथि अन्धाधुन्ध गोली चलायो। घटनामा एकजनाको घटनास्थलमै मृत्यु भयो। कयौँ घाइते भए।

घटनाको छानबिन गर्न समिति बनाउने, घाइतेको निःशुल्क उपचार गर्ने र मृतकका परिवारलाई राहत दिने सहमति त भएको छ तर स्थानीयबासिन्दाहरुमा प्रहरीप्रशासनप्रतिको वितृष्णा बढ्दो छ, जसलाई विखण्डनकारी तत्वहरुले उपयोग गर्ने सम्भावना छ।   

घटना यसरी भयो

जिल्ला विकास समिति बाराले सुरुमा गोपालगञ्ज- ९ नहरचोक सडकखण्डमा केही ट्रक माटो हालेर झारा टार्ने काम गर्‍यो। माटो थोपरेपछि वर्षातका बेला सडक हिलो भएर झन् हिँडिसाध्य भएन। स्थानीय कंकाली उच्च माविका विद्यार्थीले सडक मर्मतको मागसहित जिल्ला विकास समितिलाई दबाब दिन थाले।

विद्यार्थीको आन्दोलनमा उनीहरुका बाबुआमा थपिए। छरछिमेक थपिए। वरपरका गाउँ थपिए। गढीमाई मेलासम्म पुग्ने यो बाटो वरपरका गाविसका लागि पनि चासोको विषय थियो। त्यसैले नजिकका गाविसहरु गोलागञ्ज, अमृतगञ्ज, हरीहरपुर र लक्ष्मीपुर कोतवालीका मानिसहरु पनि आन्दोलनमा थपिए। स्थानीय राजनीतिक दल, यातायात व्यवसायी आदि पनि आन्दोलनमा थपिए। आन्दोलनकारीको संख्या बढ्दै गयो।

आन्दोलनकै क्रममा स्थानीय प्रशासनले विद्यार्थीहरुलाई मतलब नगरीकन यातायात व्यवसायीहरुसँग तत्काल बाटो खुलाउने र मर्मत गर्ने सहमति गर्‍यो। तर विद्यार्थीले सहमति मानेनन्। आन्दोलन जारी रह्‍यो।

घटनाको अघिल्लो दिन अर्थात शुक्रबार प्रहरीले धर्नामा बसेका केही युवकलाई पक्रेर थुनिदियो। बाराका पत्रकार जयनारायण यादवका अनुसार स्थिति यहीँबाट बिग्रन सुरु भएको थियो।

शनिबार भीड अनियन्त्रित थियो। आन्दोलनमा साम्प्रदायिकता बढी नै हावी थियो। नेपाल प्रहरीले सशस्त्र प्रहरीसँग थप फोर्स मगायो। सशस्त्रको गाडी आन्दोलनकारीको घेराबन्दीमा पर्‍यो।

प्रमुख जिल्ला अधिकारी परशुराम आर्याल थप मद्दतका लागि धर्नास्थल पुगेको प्रहरीलाई आन्दोलनकारीले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा घटना हुन पुगेको दाबी गर्छन्। तर मधेसका धेरै मानिस उनको भनाईसँग सहमत छैनन्।

प्रहरी प्रशासनप्रति वितृष्णा

वीरगञ्जबाट प्रकाशित हुने 'तराईपत्र' साप्ताहिकका प्रकाशक भुवन झाका अनुसार प्रहरीको असहिष्णु व्यवहारका कारण मधेसी समुदायमा प्रहरी प्रशासनप्रति वितृष्णा छ। 'प्रहरी प्रशासनमा मधेसीको सेन्टिमेन्ट बुझ्ने मानिस भएनन्', झाले पहिलोपोस्टसँग भने, 'जब शान्ति सुरक्षाको जिम्मा लिनेले जनताको सेन्टिमेन्ट  बुझ्दैन तब शान्तिसुरक्षा हैन आतंक सिर्जना हुन्छ।'

उनका अनुसार नागरिकहरुले प्रहरीबाट नै हेपिएको महसुस गर्छन्, जसको फाइदा मधेसी समुदायलाई उचालेर स्वार्थपूर्ति गर्न चाहने तत्वले लिन्छन्। 'आफ्नै भूमिमा आफ्नै मान्छेबाट हेपिनुपर्दा भित्रभित्रै एकखालको युद्ध चलिरहेको हुन्छ। यसमा सेन्टिमेन्टले ठूलो काम गर्छ।'

कहाँको सिके राउत, कहाँको सिम्रौनगढ

ठाकुरराम बहुमुखी क्याम्पसका सहप्रध्यापक काशीनाथ यादव प्रहरीले नगर्नुपर्ने काम गरेको बताउँछन्। 'सुरक्षाका अन्य उपाय नअपनाई अन्धाधुन्ध गोली चलाएको देखिन्छ', उनले भने, 'प्रशासनिक अदूरदर्शिता देखियो। जनतासँग मिलेर काम गर्नुपर्नेमा उनीहरुसँगै मुठभेडमा उत्रिनु गैरजिम्मेवारीको हद हो।'

उनका अनुसार प्रहरीले १५ राउन्डमात्र हवाइ फायर गरेको भने पनि दुई सय भन्दा बढी पटक फायरिङ भएको थियो।

तराई मधेसका अधिकांश जिल्लामा प्रहरीले पञ्चायतकालीन व्यवहार देखाउने गरेको उनले बताए। 'प्रहरी नागरिकसँग मिलेर काम गर्नुपर्छ भन्ने छ। धर्ना बस्ने नागरिक अधिकार हो', उनले भने, 'प्रहरीले हप्काउने/थर्काउने काम आधुनिक समाजको प्रहरीले गर्न सुहाउँदैन। दुर्भाग्य, हाम्रोमा त्यही भयो।'

प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको घटनालाई राजनीतिक रंग दिन खोजिएकोप्रति सचेत रहनुपर्ने उनले बताए। 'कहाँको सिके राउत, कहाँको सिम्रौनगढ। घटनालाई स्वतन्त्र मधेस अभियानसँग लगेर जोड्न कोसिस भैरहेको छ', उनले भने, 'यो विशुद्ध स्थानीय विकासको मुद्दा हो। ठाउँ पाएपछि उनीहरुले आफ्नो स्वार्थका पक्षमा बोल्ने नै भए।'

तर मधेसी जनताको भावनालाई पूर्वाग्रही ढंगले हेर्ने प्रवृत्ति शासकहरुमा रहेकाले समस्या आएको उनले बताए। 'हिजोसम्म कसैले नचिन्ने सिके राउत आज हिरो भएको छ। यो कसरी भयो राज्यले बुझ्नुपर्छ', यादवले भने, 'प्रधानमन्त्री सुशील कोइरालाको नाम भन्न नसक्ने बालकले सिके राउतको नाम भन्न सक्ने अवस्था कहाँबाट आयो?' राज्यले नागरिकको अधिकारको चाहना बुझ्न नसक्दा त्यसको फाइदा जोसुकैले पनि उठाउन सक्नेतर्फ सचेत रहन उनले आग्रह गरे। 'राजनीतिक फाइदा लिन रोटी सेक्ने काम गर्न जो पनि अघि सर्न सक्छन्', उनले भने।

पत्रकारलाई दबाब

जब प्रहरीको गोलीबाट शनिबार एक युवकको मृत्यु भयो, त्यसपछि घटनालाई राजनीतिकरण गर्ने काम सुरु भयो। मधेसका जिल्लाका कतिपय मिडिया र पत्रकारलाई 'स्वतन्त्र मधेस आन्दोलनका क्रममा निधन भएको लेख्न' दबाब आयो।

'यी हाम्रा प्रथम सहिद हुन्। त्यही अनुसार लेख्नू भन्दै फोन आयो। तर घटना विशुद्ध स्थानीय विषयमा थियो', वीरगञ्जका एक पत्रकारले भने, 'हामीलाई काम गर्न चुनौतीपूर्ण नै छ।'
 

यसरी भड्काउन खोजिँदैछ 

बाटो मर्मतको माग राखेर स्थानीय बासिन्दाले थालेको विशुद्ध ‘विकासवादी’ आन्दोलनलाई स्वतन्त्र मधेसको लागि भएको ‘मधेसवादी’ आन्दोलनका रुपमा अपव्याख्या गर्दै मधेसी समुदायलाई भड्काउने प्रयास सुरु भएको छ।

देश टुक्र्याउने गतिविधि सञ्चालन गरेको आरोपमा राज्य विप्लवको मुद्दा चलिरहेका सिके राउतले गोली लागी मृत्यु भएकालाई ‘मधेश स्वतन्त्रता आन्दोलनको प्रथम वीर सहिद’ घोषणा गरेका छन्।

हनुमानढोकास्थित प्रहरी हिरासतबाटै लेखिएको हस्तलिखित हस्ताक्षरसहितको सन्देशलाई डा. राउत बचाउ संघर्ष समिति नामको फेसबुक पेजमा अपलोड गरिएको छ। ‘उनीहरुको बलिदानीले मधेसलाई स्वतन्त्र बनाएर छाड्छ, मधेसमा स्वराज्य ल्याएरै छाड्छ’, राउतले लेखेका छन्।
 

यो आन्दोलनलाई बिग्रेको बाटो मर्मतका लागि प्रदर्शन गरेको भनी आएका समाचारलाई ‘पूर्वाग्रही, गैरजिम्मेवार तथा दरिद्र मानसिकतायुक्त’ भनिएको छ। 
 
तर बाटो मर्मतको माग राखी आन्दोलन भएको तथ्य मधेसी समुदायबाटै पनि प्रवाह भइरहेको देखिन्छ। मधेस मिडिया हाउसका तर्फबाट राजेश अहिराजले शनिबार जारी गरेको विज्ञप्तिमा ‘बाटो मर्मत गरियोस् भनेर विकास माग्नेलाई राज्यले गोली हान्ने, घाइते बनाउने कार्य गरेको’ उल्लेख छ।

सिके राउतसँग सम्वद्ध समूहले प्रवाह गरेका इमेलहरुमा पनि यसलाई स्वतन्त्र मधेसको आन्दोलनसित जोडेरै प्रचार गरेका छन्। 


घटना नचर्काउन सरकारको आग्रह

सरकारले प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको घटनालाई धेरै नचर्काउन आग्रह गरेको छ। आइतबार व्यवस्थापिका संसदको बैठकमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रहरीले बाध्य भएर गोली चलाएकोले यसलाई नचर्काउन आग्रह गरे।

'अन्तिम अवस्थासम्म पनि गोली चलाउन निर्देशन दिइएको थिएन। प्रहरीले बाध्य भएर गोली चलाएको हो', उनले भने। सांसदका प्रश्नको जवाफ दिँदै गौतमले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता जनाए।

सांसदहरुले बारामा भएको घटनाको विरोध गर्दै विकास माग्ने जनतामाथि गोली प्रहार गर्नु सरकारको तानशाही प्रवृत्ति भएको बताए। छानबिन समितिको प्रतिवेदन संसदमा पेश गर्ने र त्यका आधारमा मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिलाउने उनले प्रतिबद्धता जनाए।

सीमासुरक्षा कार्यालय बरियापुरबाट आएको सशस्त्र प्रहरीको टोलीलाई प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले ३२ सेल अश्रुग्यास, दुई ग्यास ग्रिनेट र १५ राउण्ड फायर गरेको गौतमले जानकारी दिए। 

हेर्नुस् घटनाबारे गृह मन्त्रालयद्वारा जारी वक्तव्य

के भन्छ प्रहरी ?

नेपाल प्रहरीका अनुसार सशस्त्र प्रहरीको गाडीमा ढुंगामुढा गरी तोडफोड गरेपछि भएको भिडन्तमा सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र हवाई फायर गर्दा हरिहरपुर–४ बस्ने अन्दाजी ४० वर्षका जयनारायण पटेलको गोली लागि घटनास्थलमै मृत्यु भएको र हरिहरपुर–५ बस्ने २७ वर्षीय साह मोहम्मद अन्सारी गोली लागी घाइते भएका हुन्। 

बाटो मर्मत सम्बन्धमा कंकाली उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले १०/१५ वटा ट्रिपर संचालनमा ल्याउनु पर्ने माग राखी आन्दोलन भइरहेका बेला असोज २४ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढले बन्दकर्तामध्येका उमेशप्रसाद कुसवाहलाई नियन्त्रणमा लिएपश्चात स्थानीयबासीले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा तोडफोड गरेको प्रहरीको भनाई छ। त्यो दिन प्रहरीले अश्रुग्याँस फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो। गृह मन्त्रालयको विज्ञप्ति अनुसार त्यो दिन पाँच जनालाई पक्राउ गरिएकोमा त्यही साँझ स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई जिम्मा लगाई छाडिएको थियो। 

भोलिपल्ट बन्दकर्ता भेला जम्मा भई नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय सिम्रौनगढतर्फ आएपछि थप मद्धतको लागि सीमा सुरक्षा कार्यालय बरियारपुरबाट ना.१ ग ५८८ र ना.१ ग ७२० नम्बरको गाडीमा सशस्त्र प्रहरी नायव उपरीक्षक समेतको टोली आएको थियो।

उनीहरुलाई हरिहरपुर–५ मा अन्दाजी तीन हजार जनाले रोकी ढुंगामुढा प्रहार गरेको, दुवै गाडी तोडफोड गरी आगो लगाएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा गोली लागेको दावी प्रहरीको छ। घटना सशस्त्र प्रहरीतर्फ पाँच जना घाइते भएको र त्यस मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचारहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell