PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

संकटमा घुँडा टेक्ने कि खुट्टा?



संकटमा घुँडा टेक्ने कि खुट्टा?

  • किशोर दाहाल
यतिखेर देश अप्ठेरोमा छ। भारतले गरेको नाकाबन्दीको असर नाकाबाट आँगनसम्म आइपुगेको छ। देश भुमरीमा फस्दै गएको हो कि भनेर अनुमान गर्नेहरु पनि छन्। अनुमानलाई बल पुर्‍याउने मानकहरु समाचारका केन्द्र बनिरहेका छन्। सर्पले टोक्छ कि भनेर भाग्दाभाग्दै कतै हामी अजिङ्गरको मुख छेउ त पुगेनौ? अप्ठेरो बेलामा सरकारलाई सहयोग गर्नुपर्ने विचार पनि मुखरित भइरहेका छन्।

देश अप्ठेरोमा परेको बेलामा नागरिकबीच एकता देखिनुपर्छ। सँगसँगै सरकारले पनि अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ। उसले जनतालाई हौसल्ला र आशा देखाउन सक्नुपर्छ। नाकाबन्दीको यो अवस्थामा सरकारले विकल्प खोजी गरिरहेको अनुभूति दिलाउनुपर्छ। तर, के हाम्रो सरकारले विकल्प खोजिरहेको छ त? उसको मौनता जनतालाई बिझिरहेको छ। सरकारले त यस्तो बेलामा जनतालाई वैकल्पिक पहलकदमीबारे यथार्थ रुपमा भन्न सक्नुपर्छ र जनताको नैतिक समर्थनका साथ अघि बढ्नुपर्छ।

सामाजिक सञ्जालभरी एकथरीको राष्ट्रवाद जागेको छ। यो राष्ट्रबाद कति लामो समय टिक्ला त्यो भने हेर्न बाँकी नै छ। अप्ठेरो झन् बढ्दै गयो भने त्यो राष्ट्रवाद लामो समय जिउँदो भने रहँदैन। आज कोठामा ग्यास बलुञ्जेल र बाइकमा पेट्रोल छउञ्जेल महसुस हुने राष्ट्रवाद र ती चिज सकिएपछि महसुस हुने राष्ट्रवाद बिल्कुलै फरक हुन्छ।

अहिले अमुक देशप्रति नारा लागेको छ, जुलुस तन्किएको छ। किनकी, अभाव चर्को भइसकेको छैन। तर, भोलि कोठामा ग्यास सकिएर खाना पाक्न छाडेको दिन, बाइकमा पेट्रोल सकिएर महत्वपूर्ण काम छुटेको दिन हाम्रो आक्रोश अवश्य पनि आफ्नै सरकारतिर सोझिन्छ। त्यतिबेला कुनै ट्विटर ट्रेण्डले जनतालाई एकीकृत गराएर राख्न सक्दैन। जनताले प्रश्न त सरकारलाई नै सोध्ने हो। उत्तर दिन सरकारले तयारी गरिरहेको छ त?

त्यतिबेला सरकाले फलानो देशको अवरोध, फलानो देशको असहयोग भनेर उम्किन पाउँदैन। संकटको बेला जनताले सरकारले साथ दिने हो तर निदाउन छाडिदिने भन्ने अर्थमा होइन। अहिले महसुस भइरहेको कुरुपता के हो भने सरकार सरकार उँघिरहेको छ। अब, ऊ निदाउँछ कि जाग्छ केही दिनमै देखिएला।

उच्च तहबाट जनताप्रति ढाडस सञ्चारित होओस् भनेर आशा गरिराखेको बेला कस्ता समाचार प्रवाह हुँदैछन्? सञ्चारमन्त्री विदेशी भूमिबाट भन्छन्भारतले नाकाबन्दी गरेको छैन। अनि स्वदेशी आक्रोशको तारो बनेको हिन्दी टिभी च्यानलको प्रशारण बन्द गर्ने कदममाथि आक्रोशको भाषामा नै प्रष्टिकरण सोध्छन्। च्यानल बन्द गर्ने काम सही त होइन। तर, प्रतिरोधको लागि एउटा विकल्प भने हो। यसमा सञ्चारमन्त्रीले नागरिकको चित्त दुखाइदिए।

अघोषित नाकाबन्दीबारे अर्थमन्त्रीले विश्व समुदायलाई ब्रिफिङ गरिरहँदा रिजालको अभिव्यक्तिले जनतालाई ढाडस दिन्छ? उता भारतको लागि नेपाली राजदूतले भनिदिएनाकाबन्दी भएको छैन। अब उनले भारत गएर पनि त्यही नै भन्नेछन्। अनि, भारतका जनता र मिडियाले कसरी बुझ्लान्?

सीमामा भइरहेको भारतीय अर्घेल्याईंमा उनको नजरअन्दाजले ग्यास नपाएर छट्पटिरहेको कुनै नेपालीलाई चयन दिन्छ? यस्तो अवस्थामा प्रधानमन्त्री मौन छन्। बरु, उद्योगमन्त्री महेश बस्नेतले नेपाल छिट्टै पेट्रोलियम पदार्थ बेच्ने मुलुक बन्ने हावादारी तर्क दिएर गाइजात्रा जगाइदिए।

सत्ता साझेदार दल एमालेका सुप्रिमो ओलीज्यूका राष्ट्रवादी टुक्का जारी छ । प्रचण्डको साइकल राष्ट्रवाद कता गुडिरहेको छ, सडकमा देखिदैन। यसबाट के पुष्टी हुन्छ भने जनतामा आशा र उत्साह बढाउनुपर्ने नेताहरु कोही निराशा र कोही रिस बढाउन उद्यत छन्। नाकाबन्दी निरन्तर कायम रहिरह्यो भने यस्ता दल र नेताको नेतृत्वमा जनताले अप्ठेरोबाट छुट्कारा पाउलान्? अनि अमुक देशप्रति मात्रै आक्रोश उकेलिरहलान्?

घुँडा टेक्ने कि खुट्टा टेक्ने?

नाकाबन्दीले हामीलाई दुइवटा विकल्प दिन्छ। कि घुँडा टेक्ने, कि खुट्टा टेक्ने। दुःखको कुरा, खुट्टा टेकेर स्वाबलम्बी बन्नुभन्दा घुँडा टेक्नमै हामी पारङ्गत भइसकेका छौं। हामीले अघोषित रुपमा र जनताको आँखा छल्दै धेरै पटक घुँडा टेकिसकेका छौं। शासकको निम्ति यो सजिलो र एकडेढ दशकको संकटमोचक पनि हुँदै आएको छ। भारतीय स्वार्थले भने बढोत्तरी पाउँदै आएको छ।

हाम्रो घुँडा टेकाइ पनि स्वभाविक बन्दै गएको छ। यसपटक पनि सम्भावना यसकै बढी छ। किनकी, अहिलेको नेतृत्वमा कुनै भिजन नै छैन। सुशील कोइराला कुनै राजनीतिक चिन्तन, दृष्टिकोण, राष्ट्रिय सपना बिना नै प्रधानमन्त्री भए। त्यसको असर अहिले देखिदैछ र, कोइरालासँगसँगै बाँकीको राजनीति पनि उस्तै हो। उत्तेजित राष्ट्रवादले देश गुड्दैन भन्ने नेताहरुलाई पनि थाहा छ। तर, देशलाई त्यसैगरी अगाडि धकेल्न खोजिरहेका छन्।

उत्तेजित राष्ट्रवादले घुँडा टेकाइलाई नै मलजल पुर्‍याउँछ। डर कतिमात्रै हो भने यो अप्ठेरोको अन्त्य घुँडा टेकेरै हुने त होइन? भारतले नेपाललाई घुँडा टेकाउन हरेक अस्त्र प्रयोग गरिरहेको छ। फेरि यस्तो अवस्थामा हाम्रा नेतृत्व भने कमजोर देखिदै गएका छन्। त्यसो त राजनीति भनेको पर्दा भित्रको खेल हो। पर्दाभित्र केके लेनदेन हुन्छ भन्न सकिन्न। यो स्थितिमा लेन भन्दा पनि देन नै बढी होला। घुँडा टेकिएछ भने पनि देशलाई नदुखोस्। यत्ति कामना गरौं।

अर्कोतिर, स्वाबलम्बी बनेर खुट्टा टेक्ने विकल्प पनि छ। देशहरुले कहिलेकाहीँ नसोचेको गति लिन्छन्। त्यसमा भित्री आधार र बाहिरी मेहनत भने अवश्य हुन्छन्। दोश्रो विश्वयुद्ध जापानको प्रगति, नाकाबन्दीबीच क्युवाको स्वाभिमान हामीले पनि पछ्याउन सक्ने सम्भावना पनि रहन्छ। तत्काल पो अन्योल देखिएको छ। हिजोसम्म फालाफल भइरहेको नुन, तेल आज बिशेष भइरहेको छ।

विस्तारै विकल्पहरु खुल्दै जान्छन्। कोठामा थुनिएको मुसाले त कैयौं उपाय लगाएर बाटो पहिल्याउँछ। हामी त मान्छे पो त। आखिर यो सीप नै नभएको, श्रम नगर्नेहरुको भूमि त होइन नि। यति सानो, विविधतायुक्त र स्रोत साधनले भरिपूर्ण देशलाई त इखले नै विकसित गर्न सकिएला। कसैले भिख दिनै पर्दैन। यहुदीहरुले मरुभूमिमा देश फलाए, हाम्रो त फुलिसकेको देश छ, फल्न कति नै बेर लाग्ला र? तर, संसारबाट अलग्गिएर एक्लै हिड्न भने सकिन्न।

कनै देश अरु देशबाट छुट्टिएर एक्लै अघि बढ्न असम्भव छ। तर, पूर्ण परनिर्भर नभएरै बाँच्न भने सकिन्छ। हाम्रो अबको बाटो त्यही हुनुपर्छ। भारतको पनि व्यापारको सवाल छ, सुरक्षाको सवाल छ, सिञ्चाइ र पानीको सवाल छ। उसले पनि नेपाललाई निषेध गरेर अगाडि बढ्न गाह्रो छ।

जसरी भारत हाम्रो यथार्थ हो, त्यसैगरी नेपाल पनि भारतको यथार्थ हो। हामीले जति शीर उठाउन थाल्नेछौं, उति नै उसले निहुर्‍याउन थाल्नेछ । किनकी उसले हामीलाई पटकपटक रुवाएको छ, हामीले छैनौं। हाम्रो मनोबल उच्च छ। त्यो उच्चता दुईपक्षीय भेटघाटका व्यवहारमा देखाऔं। जब मनोबल र व्यवहार उच्च हुन्छ, कसैले हेप्न सक्दैन। खुट्टा बलिया हुँदै जानेछ।

यो नाकाबन्दीले हामीलाई केही सबक सिकाएको छ। त्यसबाट किन नसिक्ने? उसमाथिको निर्भरता कम गर्नको लागि किन आजैदेखि प्रयास नगर्ने? यही मौकामा र यही इखमा हामीले बिस्तारै भए पनि खुट्टा टेक्न थाल्नैपर्छ। नाकाबन्दी त फेरि २० वा ४० बर्षपछि पनि हुन सक्छ।

त्यतिबेलासम्म हामीले आधारभूत आवश्यकताका वस्तुमा आत्मनिर्भर बन्न सक्यौं र पेट्रोलियम पदार्थ लगायतका वस्तुमा विकल्प तयार गरिराख्यौं भने नाकाबन्दी हुने नै छैनन्। नाकाबन्दी भनेको दुःख दिन वा झुकाउन हो, त्यो सम्भावना नै नरहेपछि नाकाबन्दी गरिने पनि छैन। भइहाले पनि हामीलाई दुःख हुने छैन। तर, अहिले घुँडा टेकियो भनेपछि फेरि घुँडा टेक्नेमात्रै विकल्प रहन्छन्। जतिजति परनिर्भरता बढ्दै जान्छन्, खुट्टा लुलो हुन्छ र घुँडा अघि सर्छ।

राष्ट्रहित र स्वावलम्बनका निम्ति अब जे गरिन्छ निरन्तर गर्नु जरुरी छ। कुनै स्वदेशी उत्पादनको सुरुवात गरिन्छ भने निरन्तरता दिऔं। बिजुली वा पेट्रोलको मितव्ययी प्रयोगलाई पनि निरन्तरता दिऔं। स्वदेशी उत्पादनमा जोड गरौं, सम्भव नभएका कुरामा विकल्पहरु खडा गरिराखौं। अब, भारतलाई मित्रमित्र भनेर जप गरिराख्नुपर्ने जरुरी छैन।

ऊ धुर्त छ भन्ने पटकपटक देखिसकियो, अब चेतौं। सचेततापूर्वक सम्बन्ध बनाऔं। उसबाट जुनसुकै बेला पाउन सकिने धोकाबारे सचेर रहौं। भारतसँग हाम्रो व्यापारिक सम्बन्ध मात्रै हो भनेर विश्लेषण गरौं। भारतसँग मागेर खानु नपरेपछि शीर उच्च राखेर कुरा गर्न सकिन्छ, सक्नुपर्छ।

यहींनेर ख्याल गर्नुपर्ने कुरा के छ भने भारतको सम्पूर्ण विकल्प चीन भन्ने भूल गरिएको छ। सामाजिक सञ्जालमा यस्ता बोक्रे तर्कहरु धेरै पढ्न पाइन्छ। भारतले निहुँ खोज्यो भने चीनसँग मिलेर लड्ने, ‘चीनले हरेक कुरामा खुला दिलले सहयोग गर्छ आदिजस्ता रुमानी तर्क त्यहाँ पाइन्छ। सत्य के हो भने चीन पनि हाम्रो असली मित्र भने होइन। असल मित्र भइदिएको भए लिपुलेकमा भारतसँग हात मिलाउने थिएन।

त्यसैले भारतसँग उठेको रिसमा चीनसँग लहसिदा हाम्रो खास भलो हुँदैन। हामीले भारतलाई देखाइदिने मानसिकतामा चीनसँग सम्बन्ध बढाउन भने सक्छौं। यसले भारतलाई चिढ्याउन वा सोच्न बाध्य तुल्याउन भने सक्छ। कुटनीतिमा कहिलेकाहीँ यस्ता कार्डहरु फ्याँक्नुपर्छ। चीनसँगको व्यापार भारतसँग जत्तिको सजिलो भने हुने छैन। फेरि अर्को कुरा, आजसम्म पो चीन विकल्प छ, भोलि चीन पनि बटारियो भने विकल्प के छ त?

दिल्लीसँगको अहिलेको लडाईं घुँडा टेक्ने कि खुट्टा टेक्ने भन्ने नै हो। अहिले खुट्टा टेक्नको निम्ति हामीबीच आन्तरिक एकता देखिनैपर्छ। मधेसको समस्या पेचिलो बन्दै गइरहेको छ। यसको समाधान नगरिकन राष्ट्रिय एकता सम्भव नै छैन। साढे तीन दर्जनको मृत्युशोक मनाइरहेको मधेसले बाह्य लडाईंमा खुलेर साथ दिन नसक्नु स्वभाविक छ। काठमाडौं र दिल्लीको लडाईंमा मधेसले काठमाडौंलाई साथ दिनु नैतिकता पनि हो। तर, त्यो नैतिकता त्यतिबेला बलियो हुन्छ, जब काठमाडौंप्रति मधेसले अपनत्व महसुस गर्न सक्छ।

अहिले त्यही अपनत्व क्षीण भइरहेको बेला छ। मधेस खुलेर काठमाडौंलाई साथ दिन सक्ने स्थितिमा छैन। अनि मधेसको साथबिना काठमाण्डौले दिल्लीलाई जित्न पनि सक्दैन। त्यसकारण काठमाडौंले मधेसको मन जित्नु र आन्तरिक एकता बलियो देखाउनु अहिलेको आवश्यकता हो। मधेसलाई सहमतिमा ल्याइयो र संविधान र काठमाडौ दुवैप्रति अपनत्व जगाउन सकियो भने नाकाबन्दी पनि खुल्नेछ। भारतसँग कुनै तर्क रहने छैन। यदि नाकाबन्दी खुलेन भने पनि भारतबिरुद्ध लड्न हाम्रो आन्तरिक एकताले बल पु¥याउने छ। शंका उपशंकाको भरमा लड्नुपर्ने छैन।

लेखकलाई ट्विटरमा भेट्न सकिन्छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell