![चिनियाँ सहयोगमा इथियोपियन मोडलको रेल : नेपालको विकल्प?](https://pahilopost.com/assets/upload/contentthumb/addis-ababa-metro-rail-02.jpg)
काठमाडौँ : असोज ३ गते नेपालमा संविधान घोषणा हुँदै गर्दा अफ्रिकन मुलुक इथियोपियाले समृद्धिको खुड्किलो तय गर्यो। नयाँ नेपालको सपना देखिरहेको नेपालीका लागि असोज ३ ऐतिहासिक दिन थियो। यही दिन मुलुकको उज्ज्वल भविष्यको सपना देखेका नेपाल जस्तै भूपरिवेष्ठित देश इथियोपियाले पनि ऐतिहासिक उपलब्धि हासिल गर्यो।
इथियोपियालाई समृद्धिको बाटोमा डोर्याउन सहयोग गर्ने मुलुक हो चीन। छिमेकी देश चीनबाट पेट्रोलियम आयात गर्नेबारे नेपालमा यतिबेला बहस चलिरहेको छ। तर नेपालभन्दा धेरै टाढा अफ्रिकाको एउटा भूपरिवेष्ठित देशमा त्यही चीनको सहयोगमा असोज ३ गते (२० सेप्टेम्बरमा) विद्युतीय रेल सञ्चालन गर्दै सर्वसाधरणका लागि खुल्ला गर्यो। संविधान जारी भए लगत्तै भारतले लगाएको नाकाबन्दीले नेपालीहरु सार्वजनिक सवारी साधनमा असहजता भोग्दैछन्। इथियोपिया भने चीनको सहयोगमा सार्वजनिक सवारी साधनमा क्रान्ति गर्दैछ।
इथियोपियाको राजधानी अदिसअबाबाबाट औद्योगिक सहर जोड्ने १७ किलोमिटर लामो लाइट रेल चिनियाँ कम्पनीले बनाएको हो। ३४ किलोमिटर लामो दोहोरो लाइनको हुने रेलको तत्काल १७ किलोमिटर सञ्चालनमा ल्याइएको हो। दुई वटा ट्रयाक भएको रेल मार्ग निर्माण पूरा भएपछि भने रेलले ३४ किलोमिटर मध्ये २ दशमलव ७ किलोमिटर भने एउटै ट्र्याक प्रयोग गर्नेछन्।
नेपालले पनि सार्वजनिक सवारी साधन सञ्चालनमा चीनको सहयोग नलिएको भने होइन। चीनको सहयोगमा बनेको विद्युतबाट चल्ने ट्रली बस सेवा बन्द भएको वर्षौँ भइसकेको छ। काठमाडौँको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली सञ्चालन भएको थियो। सूर्यविनायकदेखि त्रिपुरेश्वरको दूरी पनि ठीक सत्र किलोमिटर रहेको छ।
इथियोपियामा सञ्चालनमा आएको विद्युतीय रेलमा यात्रा गर्ने भाडादर समेत निकै सस्तो रहेको छ। १७ किलोमिटरका लागि २ देखि ६ रुपैँया इथोपियन मुद्रा तिर्नुपर्छ। त्यो भनेको नेपाली १० रुपैँयादेखि ३० रुपैँया हो। रेल ४० किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्छ।
कसरी बन्यो रेलमार्ग?
इथियोपियन रेल बनाएको हो चीनको चाइना रेल्वे गुप्र लिमिटेडले। सांघाईमा रहेको यो कम्पनी हङकङ स्टक एक्सचेन्जमा समेत सुचीकृत छ। रेललाई सञ्चालन र व्यवस्थापन गरिराखेको छ चीनकै सेन्जेन मेट्रो कम्पनीले। सेन्जेल मेट्रो भूमिगत रुपमा सञ्चालन हुने रेल सञ्चालनमा महारथ हासिल गरेको कम्पनी हो। सेन्जेनले सबवे र रेल सञ्चालनका लागि सुरुङ निर्माण समेत गर्छ। यो कम्पनीले चीनमा सन् २००४ मा सेन्जेनमा मेट्रो रेल निर्माण गर्दै मुलुकको छैठौँ मेट्रो सहर बनाएको थियो।रेल निर्माणको लागत हो ४ अर्ब ७५ करोड रुपैयाँ। रेल मार्ग केवल तीन वर्षमा निर्माण सम्पन्न भयो। सन् २०११ मा सुरु भएको निर्माण एक घण्टामा १५ हजार यात्रु बोक्ने लक्ष्य सहित निर्माण गरिएको रेलको एउटा डिब्बामा २ सय ८६ यात्रु बोक्ने क्षमताको छ। यो रेलको ४१ वटा स्टेशन छन्। रेल सञ्चालनका लागि छुट्टै विद्युतीय पावर ग्रिड समेत निर्माण गरिएको छ।
इथियोपियाका उपप्रधानमन्त्री डेब्रेसन गेब्रेमिखायलले रेल सञ्चालन हुनुलाई ऐतिहासिक उपलब्धिको रुपमा सरकारले लिएको बताए। 'यो इथियोपियाको सार्वजनिक सवारीको क्षेत्रमा ऐतिहासिक दिन हो, इथियोपियनहरुलाई बधाई', उनले रेल उद्घाटन गर्दै भने।