PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

किन घटाइएन पेट्रोलको भाउ?



किन घटाइएन पेट्रोलको भाउ?
फोटो : रोयटर्स

सबिन मिश्र/पहिलोपोस्ट-

काठमाडौँ :
 आपूर्ति मन्त्री सुनिलबहादुर थापाले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएको असोज १३ गते सगर्व घोषणा गरेका थिए। यो अनुसार महिनाको दुई पटक अन्तर्राष्ट्रिय बजार भाउ अनुसार नै पेट्रोलियम पदार्थको भाउ समायोजन हुनुपर्थ्यो।  

​यसै अनुसार असोज १४ गतेदेखि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा, डिजेल र मट्टितेलमा प्रतिलिटर २७ पैसा भाउ घटाइयो पनि। तर यो प्रणाली अनुसार बिहीबारै घोषणा हुनुपर्ने नयाँ भाउ शनिबार भइसक्दा पनि हुन सकेको छैन।  

उता, भारतले मंगलबार पेट्रोलको भाउ भारु एक रुपैयाँ घटाइसकेको छ। यही अनुसार नेपालमा पनि भाउ घट्नु पर्ने थियो।

किन घटेन ?

मन्त्रालयले मूल्य प्रणालीको नाम स्वचालित राखे पनि नेपाल आयल निगमले भने भत्ता पाउने गरी सञ्चालक समितिको बैठक बसेर मूल्य निर्धारण गर्ने पुरानै प्रक्रिया कायम राखेकोले बिहीबारै घट्नु पर्ने भाउ अहिलेसम्म घट्न नसकेको हो। 

निगमको स्पष्टिकरण पनि अनौठो छ। प्रवक्ता मुकुन्द घिमिरेका अनुसार शुक्रबार सञ्चालक समितिको बैठक बोलाइएको थियो, तर सञ्चालक उपस्थित हुन नसक्दा बैठकै बस्न सकेन।

उनका अनुसार आइतबार बस्ने बैठकले मूल्य हेरफेरको निर्णय गर्नेछ। 

नाफा झन बढ्यो

आइओसीले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोल र डिजेलमा नाफा झन् बढेको छ। नयाँ मूल्य अनुसार निगमको मासिक नाफा २१ करोड ५५ लाख रुपैयाँ बढेको छ।

यसअघि निगमको खुद नाफा २६ करोड १४ लाख रुपैयाँ रहेकोमा अहिले बढेर ४७ करोड ६९ लाख रुपैयाँ पुगेको निगमले जनाएको छ।

आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर १४ रुपैयाँ ७५ पैसा नाफा छ। निगमले अहिले पेट्रोल प्रति लिटर एकसय ३३ रुपैयाँ ६ पैसामा बेचिरहेको छ। १५ दिन अघिको मूल्य अनुसार निगमलाई १२ रुपैयाँ ६७ पैसा नाफा थियो।

यस्तै डिजेलमा पनि निगमको नाफा दुई रुपैयाँ ७० पैसाले बढेको छ। यसअघि निगमलाई डिजेलमा प्रति लिटर तीन रुपैयाँ १९ पैसा नाफा रहेकोमा अहिले बढेर पाँच रुपैयाँ ८९ पैसा पुगेको छ।

मट्टितेलमा पनि नाफा यथावत छ। मट्टितेलमा निगमलाई १६ रुपैयाँ १९ पैसा नाफा छ।

हवाई इन्धन आन्तरिकतर्फ पनि निगमलाई प्रति लिटर ४१ रुपैयाँ ५८ पैसा नाफा छ। हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने निगमको नाफा केही घटेको छ। निगमले अघिल्लो पटक यसमा ५२ रुपैयाँ ९६ पैसा नाफा रहेकोमा अहिले यो नाफा ४८ रुपैयाँ ८० पैसामा घटेको छ।

ग्यासमा भने निगमलाई प्रति सिलिन्डर पाँच सय ११ रुपैयाँ २८ पैसा नोक्सान छ।

सम्बन्धित समाचार

सधैँ घाटामा जाने आयल निगम यो महिना २६ करोड नाफामा

किन घट्दैछ पेट्रोलको भाउ ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell