PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

सरे सुशील सरकारी निवासबाट, औँसीले रोकेको थियो सर्ने तिथि



  • रमेश वाग्ले/पहिलोपोस्ट-
काठमाडौँ : निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ सरकारी निवास बालुवाटार छोडेका छन्। पहिला बसेको महाराजगंजस्थित घर प्रधानमन्त्री भएसँगै छोडेका कोइरालाले फर्कनका लागि घर नहुँदा दुई दिन पछि मात्र सरकारी निवास छोडेका हुन्।
 
प्रधानमन्त्री पदमा केपी ओलीसँग हारेको भोलिपल्टै सरकारी निवास छोड्न लागेका कोइराला घर नभएकै कारण दुई दिन रोकिए। ‘सुरुमा केही दिनका लागि बुद्धनगर सरेर त्यसपछि स्थायी रुपमा बस्ने गरी सर्ने तयारी थियो’ कोइरालाका स्वकीय सचिव तथा भाञ्जा रमेश भण्डारीले भने, ‘तर औंसी तिथिमा सर्नु हुँदैन भनेका कारण उहाँ रोकिनु भयो।’

सुजाताकोबाट सशांकतिर

आफ्ना भाञ्जा रमेश भण्डारीको बुद्धनगरस्थित निवासमा बदै आएका सुशील कोइराला ०६७ असोजमा महाराजगंजस्थित गिरिजाप्रसाद कोइरालाको बसेको भाडाको घरमा बस्दै आएका थिए।

सभापति पदमा विजयी भएपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्री तथा कांग्रस केन्द्रीय सदस्य र परराष्ट्र विभागकी प्रमुख सुजाता कोइरालाको आग्रहमा कोइराला त्यहाँ बसेका थिए।

२०७० माघमा प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका कोइरालाले ‘सरकारी निवास सरेसँगै भाडाको घर छोेडेका थिए। 

घर नभएकै कारण चाहेको दिन सर्न नसकेका कोइरालालाई वीपी पुत्र सशांकले बस्ने बन्दोबस्त मिलाएका छन्। उनले पुरानो घरमा रङ लगाएको र रङ सुक्न समय लागेकाले कोइराला आज साँझ मात्र त्यहाँ प्रवेश गरेका हुन्। उनलाई पहिला गिरिजाप्रसाद कोइराला बसेको स्थानमा नै बस्ने व्यवस्था मिलाइएको छ।
 
'आज पनि मंगलबार थियो तर घटस्थापनाको साइत भएकाले रोक्नु आवस्यक छैन भनेपछि उहाँ सर्नुभएको हो’ कोइरालाका एक सहयोगीले भने, ‘अब उहाँ गिरिजाबाबु बसेको पुरानो स्थान सशांक कोइरालाकै महाराजगंजस्थित निवासमा बस्नु हुनेछ।’

को हुन्छन् अब कोइरालाको मुख्य सहयोगी ? 

कोइरालाको मुख्य सहयोगीमा भने कोइरालाकै भतिजा तथा प्रधानमन्त्री हुँदाका स्वकीय सचिव अतुल कोइराला बस्ने भएका छन्। विगत लामो समय मुख्य सहयोगीका रुपमा बस्दै आएका लक्ष्मण ढकाल प्रधानमन्त्रीको स्वकीय सचिव भएकै बखत खट्पट् भएर बाहिरिएपछि कोइरालाले मुख्य सहयोगीका रुपमा भतिज अतुललाई नै राख्न लागेका हुन्।

‘उहाँले कसलाई राख्ने भनेर अझै बताइसक्नुभएको त छैन, तर तयारी हेर्दा अब अतुल नै प्रमुख सहयोगी भएर बस्ने देखिन्छ’ कोइरालाको बालुवाटार टिमका एक सदस्यले भने।
 
अहिले कोइरालाको सहयोेगीका रुपमा रहेकी मृदुला कोइराला भने बाहिरबाट सहयोग मात्र सहयोग गर्ने भएकी छन् । ‘म त आफ्नै घरमा नै बस्छु, अहिले पनि म स्वकीय सचिव हैन’ मृदुलाले पहिलोपोस्टको जिज्ञासामा भनिन्, ‘पार्टी सभापतिको सहयोगीको रुपमा त म रहने नै छु, र सँगै बसेर सहयोग गर्ने को हुन्छ भन्नेबारे चाही उहाँले नै निर्णय गर्नुहुन्छ। मलाई थाहा भएन ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell