काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सभामुख वा उपसभामुख मध्ये एउटा पदमा संयुक्त उम्मेदवारी दिने सहमति भएको छ।
दुई पक्षबीच कोइराला निवास महाराजगन्जमा आज राति सकिएको वार्तामा यस्तो सहमति भएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले पहिलोपोस्टलाई जानकारी दिए।
उम्मेदवार तय गर्ने अधिकार कांग्रेसलाई दिइएको छ। भोलि बस्ने कांग्रेस पदाधिकारीको बैठकले उम्मेदवार छान्नेछ। सहमतिमा सभामुख र उपसभामुख चयन गर्ने म्याद सकिएपछि भोलि निर्वाचन हुन लागेको हो।
कांग्रेस र मधेसी मोर्चाबीच लोकतन्त्रका पक्षमा एकता र सहकार्य जारी राख्ने निर्णय भएको छ। बैठकमा मोर्चाका तर्फबाट सर्वेन्दनाथ शुक्ल, उपेन्द्र यादव र महन्थ ठाकुरलगायत सहभागी थिए।