PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

ग्राउन्ड जिरो बारा : के सोच्छ मधेश, किन चाहन्छ आन्दोलन?



  • ऋषिकेश दाहाल/पहिलोपोस्ट-
बारा – संविधान जारी हुनुअघिदेखि सुरु भएको मधेसको आन्दोलन अहिले पनि जारी छ। सीमा नाका थुनेर काठमाडौंलाई संकट नपारी मधेस मुद्दाको सुनुवाई नहुने ठहर गरेका आन्दोलनकारी दशगजामा डेरा जमाएर बसेका छन्।

सुरुमा वीरगञ्जका सामाजिक कार्यकर्ता र राजनीतिक दलका नेताहरु आन्दोलनमा जोडिएका थिए। अहिले भने भित्री मधेसका गाउँहरु आन्दोलनमा सक्रिय छ। संविधानका मुद्दाको आन्दोलन भएपनि उनीहरुलाई त्यसबारे धेरै जानकारी छैन।

तर, सीमामा जारी आन्दोलनमा गाउँ-गाउँबाट ट्याक्टर र जीपमा कालो झन्डा फहराउँदै मानिसहरु गइरहेका थिए। खेतबारीमा कामको भ्याइनभ्याइ हुँदा पनि ५० औं किलोमिटर तय गरेर धर्नामा उपस्थिति जनाउने होडवाजी पनि देखिएको छ। आखिर देहात के सोच्छ त? किन आन्दोलन चाहन्छन् देहाती?

कुवइजरदी गाविस ७ बेतावनाका राम एकवाल साहले औलाले उत्तरतिर देखाउँदै भने, 'उता सडक बन्नासाथ पिच भएको समाचार आउँछ। यो राणाकालमा सडकको हालत यस्तो छ।'


हुलाकी मार्गमा भेटिएका ५ जनामध्ये ४ जनाले सुशील कोइराला र केपी शर्मा ओलीलाई चिन्दा रहेनछन्। भूतपूर्व र वर्तमान प्रधानमन्त्री नचिन्ने यिनीहरुको गाउँमा न संविधानको मस्यौदा पुग्यो न जारी भइसकेको प्रति नै।

'आन्दोलन किन भयो थाहा छैन तर विकास नभएको थाहा छ,' कमलदेव प्रसाद कुसवाहले भने, 'छोराछोरी पढ्दैछन् तर राम्रो काम पाउनेवाला छैन, सानातिना मात्र पाइरहने हुन्।' उनले मधेसी मूलका प्रहरी उपल्लो दर्जामा देखेनन्। 'अरुको हातमा बन्दुक देखेँ मधेस मूलका प्रहरीको हातमा लाठीमात्र,' आन्दोलनमा जाँदा उनले देखेको अनुभव सुनाए।

भित्री मधेसमा यतिखेर नाकाबन्दले चर्को असर परेको छ। इन्धन अभाव छ। खुलमखुला बजारमा इन्धन नपाइने होइन झन्डै दोब्बर मूल्य तिर्नुपर्छ। खेतमा पानी लगाउनदेखि दैनिक जीवन इन्धनकै कारण प्रभावित छ। मल नपाएपछि उब्जाउ घट्ने चिन्तामा छन् किसानहरु।


उनीहरुको आक्रोश जति काठमाडौंतिर छ उत्तिकै मधेसका नेतासँग पनि। 'संविधानसमेत नपढी औठा छाप लगाए,' साहले भने, 'पार्टी त कुनै खराब छैनन् तर नेता खराब भए।' शेर महम्मद अन्सारीले पनि उस्तै गुनासो गरे। 'नेता बिकेपछि शासन प्रशासनको के कुरा,' उनले भने।

भित्री मधेसबाट मानिसहरु आन्दोलनमा जानुको पछाडि कुनै राजनीतिक उद्देश्य देखिएन। यो त राज्यले गरेको विभेदविरुद्धको प्रतिकारमात्र हो। ट्र्याक्टर र गाडा चढेर आन्दोलनका लागि सीमामा जानु र आफ्ना गाउँ र समाजको नाम आन्दोलनमा जोड्नु यिनीहरुका लागि स्वभाविक हो भलै त्यसको फाइदा राजनीति गर्ने केही नेताहरुलेमात्र लिइरहेका हुन्।   


यहाँका मानिसलाई कति नम्बर प्रदेशमा आफू छौं भन्ने समेत थाहा छैन। मधेस प्रदेशमा ८ जिल्ला समेटिएको छ र त्योमात्र न्यायोचित छैन भन्ने बुझाइ छ। काठमाडौंले हेपिरहेको अनुभूति छ यिनमा। नेताहरुले धोका दिएको ठम्याई पनि उत्तिकै। राज्यका हरेक क्षेत्रमा समावेशी प्रणाली चाहन्छन्। त्योभन्दा पनि ठूलो आकांक्षा विकास नै हो जुन यहाँको सहरी क्षेत्र नाघेर देहातका गाउँमा कहिल्यै पुग्न सकेको छैन।  
 
नाकामा आफै गएर बस्दा यहाँका मानिसहरुले उत्तिकै समस्या भोगेका छन्। दुई महिना नाघिसक्यो आन्दोलन भएको। नाकाबन्दी पनि महिना दिन पुग्नेतिर जाँदैछ। अब कतिदिन सहन सकिन्छ यो अवस्था?

'दुई महिना त बित्यो,' अब्दुल हाकिमले भने, 'अर्को दुई महिना बितोस्।'




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell