- ऋषिकेश दाहाल/पहिलोपोस्ट
वीरगञ्ज नाकाको तुलनामा गौरको यो भन्सार नाका सानो छ। इन्धन लगायतका वस्तु यहाँबाट नेपाल भित्रिँदैनन्। भित्रिन्छन् त खाद्यान्न र अन्य उपभोग्य सामग्री। दशगजासँगै जोडिएको सानो पुलले नेपाल र भारतलाई यहीँ छुट्याउँछ। पुलको दुवैतिर बाँसले आवागमन रोकिएको छ। चौबिसै घन्टा नाका बन्द गराउन यहाँ पनि पालैपालो गाउँहरुबाट मानिस आउँछन्।
दसैं लागिसकेकाले पुलको दायाँ र बायाँ रहेको मानिसहरु हिड्ने भागबाट मानिसहरु ओहरदोहर गरिरहेका छन्। मोटरसाइकल र साइकल एक अर्काको पालो कुर्दै भारततिर जाने र नेपाल फर्केने क्रम पनि चलिरहेकै छ। त्यसैले यहाँ नाका खुला पनि लाग्छ बन्द पनि। नाकाबन्दी गर्नेले उपभोग्य बस्तु भारतबाट ल्याउनेलाई रोक लगाएका छैनन् तर व्यापारिक उद्देश्य राखेर सामान ढुवानी गर्न दिएका छैनन्। 'नाका खुल्यो भन्नुहुन्छ। अनि फेरि भारतले झुक्यायो लेख्नुहुन्छ,' केन्द्रका मिडियाप्रति गुनासो गर्दै झाले भने, 'मिडियाले समस्या समाधानको बाटो देखाउनु पो पर्थ्यो यहाँ समस्याको तहमा नगइ झगडा बढाउने मात्र काम भयो।'
मिडियाजस्तै उत्तरदायी नभएकोमा राज्यप्रति आक्रोश बढ्दो छ। मधेस आन्दोलनलाई बदनाम गराउन भारतको नाम जोडेकाप्रति आन्दोलनकारी रुष्ट छन्। 'काठमाडौंले सधैँ फुटको राजनीति गर्यो। अहिले पनि त्यही गर्न भारतको नाम जोडिरहेको छ,' एमाओवादी छाडेर मधेस आन्दोलनमा जोडिएका राजकिशोर यादवले भने, 'मधेसलाई राज्यको अंश नै मानिरहेको छैन केन्द्रले।'
काठमाडौं सोच्छ : सबैभन्दा बढी मधेसले नै पाएको छ नयाँ संविधानमा। तर यहाँ आन्दोलनमा रहेकाहरुको बुझाइ फरक छ। मधेसलाई केन्द्रले आफ्नो नठान्दा मुद्दा पेचिलो हुँदै गइरहेको यादवको ठम्याइ छ। भन्छन्, 'मधेसलाई सम्बोधन गरेर, यो भूभाग र यहाँका मानिस राज्यकै हुन् भनेर व्यवहार गर्ने हो भने आन्दोलन स्वत: सकिन्छ,' उनले सुनाए।
राजकिशोर नै संलग्न रहेको एनेकपा माओवादीले मधेसको मुद्दालाई राष्ट्रिय राजनीतिमा ल्याउन प्रमुख भूमिका खेलेको हो। मधेस आन्दोलनले त्यसमा ऊर्जा थप्यो। सदियौंदेखि मूर्त रुप लिन नसकेका भावहरु एकाएक फुट्न थाले। त्यो मुद्दालाई समात्न नसक्दा एमाओवादी नै कमजोर बन्यो। यादव भन्छन्, 'जनयुद्धमा मधेसी मुक्ति मोर्चा नै खडा गराइयो। तर नेतृत्वले त्यसको मुल भावलाई समात्न सकेन। अनि माओवादी नै फुट्यो।'
बरगनिया नाकामा दुवैतिर प्रहरी प्रशासन कडा रुपमा तैनाथ छन्। दुईतिरको सुरक्षाकर्मीको कडाइबीच यहाँ २ सयदेखि ४ सय मानिसहरु उपस्थित रहन्छन्। वीरगञ्जको तुलनामा यहाँको नाकाबन्द सांकेतिक लाग्छ। पेट्रोलियम पदार्थ यहाँबाट आउथ्यो भने यहाँ पनि रक्सौल नाका झै चर्चा हुन्थ्यो। धेरैको नजर पनि यतातिर तेर्सिन्थ्यो।
पटक पटक रणसंग्रामको भूमि बनिकसको छ रौतहट। राजनीतिक द्वन्द्वको श्रृंखला हेर्ने हो भने शान्ति प्रकृयापछि माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच महाभारतकै युद्ध छेडिएको थियो यहाँ। सशस्त्र जनयुद्धको राप तापेर आएको माओवादीलाई यहीँ भूमिमा २०६३ पछि उदाएको फोरमले तहसनहस पारेको थियो। एकदिने गौर हत्याकाण्डमा २७ माओवादीले ज्यान गुमाएका थिए। त्यो त्रासदीपूर्ण युद्ध भोगेकाहरु अहिले एउटै मोर्चामा रहेर आन्दोलनमा होमिएका छन्।
यहाँ पुग्दा पनि काठमाडौं पेट्रोलियम पदार्थले काकाकुल जीवन बिताइरहेको छ र मधेसतिर हेरिरहेको छ। मधेसदेखि पहाड र हिमालसम्मकै जीवन कष्टकर बनिरहेको छ। आखिर कहिलेसम्म त आन्दोलन ?
बरगनियामा आन्दोलनको नेतृत्व गरिरहेका तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष बाबुलाल साहा भन्छन्, 'समस्या एकात्मक राज्यप्रणालीको सोचका कारण भएको हो। संविधान र सीमाङ्कन दुवैमा असन्तोष छ। सुशील कोइराला सरकारले संविधान संशोधनको प्रस्ताव अघि सारेको थियो त्यो सुखद् पक्ष हो। बाँकी रहेको हो सीमाङ्कन। त्यसलाई सुल्ट्याउने हो भने समस्या समाधान भइहाल्छ।'