PahiloPost

Jul 3, 2024 | २० असार २०८१

फिफाले 'यल्लो कार्ड' देखाएपछि बाहिरिन बाध्य भए गणेश थापा



फिफाले 'यल्लो कार्ड' देखाएपछि बाहिरिन बाध्य भए गणेश थापा

  • पवित्रा राउत/पहिलोपोस्ट-
दुई दशक नेपाली फुटबलमा राज गरेका गणेश थापाले अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) को पद छाडे। पद नछाड्ने अडडी लिएका थापाले सुनुवाईका क्रममा संसद्‌को सार्वजनिक लेखा समिति समक्ष गरेको गर्जन र त्यसपछि दिएका प्रतिक्रियामा उनी पछि हट्ने कुनै संकेतसम्म पनि थिएन।
 
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई दिएको प्रतिक्रियामा समेत उनले पदमै रहन्छु भनेका थिए। तर त्यो हुँकार एक दिन पनि टिकेन। सोमबार एन्फा उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठलाई कार्यवाहक अध्यक्षमा नियुक्त गर्दै पाखा लाग्न उनी बाध्य भए।
 
यसअघि संसदीय लेखा समितिले आफूलाई निलम्बन गर्ने निर्णय गरेको प्रतिक्रियामा एसियाली फुटबल महासंघ (एएफसी) का उपाध्यक्ष समेत रहेका थापाले अन्तर्राष्ट्रिय सहयोग लिने धम्की दिएका थिए। विश्व फुटबल महासंघ (फिफा) ले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। फुटबल कप्तानहरुलाई आफ्नो पक्षमा डेलिगेसन पठाएका थिए। यति हुँदाहुँदै पनि अचानक थापा किन सेलाए? अहिले यो जिज्ञासाले नेपाली फुटबल तातेको छ।
 
 

फिफाको 'यल्लो कार्ड'

घटना क्रमलाई सरसर्ती हेर्दा फिफा र एएफसी पनि आफ्नो पक्षमा नहुने देखेर थापाले अहिले सुरक्षित अवतरणका लागि आफू निकट मानिएका श्रेष्ठलाई जिम्मेवारी दिएको निष्कर्ष निकाल्न सकिन्छ।
 
थापाले आफूलाई कारबाही गरिए नेपालले 'रेडकार्ड' पाउने चेतावनी दिइरहेका थिए। तर भइदियो उल्टो। फिफा आफैले थापा नेतृत्वको एन्फामा आर्थिक अनियमितता भेटिएको पुष्टि गर्‍यो। पहिलोपोस्टको जिज्ञासाको जवाफमा फिफा प्रवक्ताले पठाएको इमेलमा 'सन् २०१२ को लेखा परीक्षण प्रतिवेदन सन्तोषजनक नभएको र 'अनुचित नगद प्रवाह' देखिएको स्पष्ट पारेका छन्। 'त्यसका कारण २०११/२०१२ का लागि फरेन्सिक अडिट गरिएको र सन् २०१३ मा एथिक कमिटीको आदेशमा नेपाल पनि फरेन्सिक अनुसन्धानको टार्गेट बनेको हो', इमेलमा लेखिएको छ।
 
अहिलेसम्म सार्वजनिक रुपमा बाहिर नआएको यो विषय फिफा आफैले बाहिर ल्याउनु थापाका लागि फिफाले 'यल्लो कार्ड' देखाए सरह थियो।   

फिफामा पकड कमजोर हुँदै

लेखा समितिले थापासहित एन्फाका चार पदाधिकारीलाई ५८ करौड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पद स्थगन गरी अनुसन्धान अगाडि बढाउन खेलकुद मन्त्रालय, अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिएको थियो। समितिको यहाँसम्मको प्रकृया नितान्त साधारण अनुसन्धान प्रकृया थियो।
 
उनकै छोरा गौरव थापाले एएफसीका निलम्बित अध्यक्ष मोहम्मद बिन हमामसँग लिएको एक लाख अमेरिकी डलरदेखि एन्फाले आफूले देखाउन पर्ने हिसाब किताबको विवरण स्पष्ट नभएको, भवन निर्माण, गोल प्रोजेक्टको लागि प्राप्त भएको रकमको हिसाबकिताब लगायतका विभिन्न १६ वटा विषयलाई लेखासमितिले थप अनुसन्धान गर्नुपर्ने ठहर गर्‍यो।
 
छानबिन प्रकृयामा थापा सुरुदेखि नै कहिल्यै लेखा समितिका अगाडि सहयोगी देखिएनन्। समितिलाई जवाफ दिने क्रममा उनी गर्जिएको दृश्य सन्चार माध्यममा छ्याप्छ्याप्ति छाएको थियो। त्यसमाथि आफू निलम्बनमा परेपछि फिफासमक्ष जाने र नेपाली फुटबल नै अन्तर्राष्ट्रिय प्रतिबन्धमा पर्ने धम्की दिन पनि थापाले भ्याए।
 
तर उनको फिफामा जाने प्रतिक्रिया बोले जस्तो सजिलो थिएन। यथार्थमा फुटबलका अन्तराष्ट्रिय संस्थाहरु फिफा र एएफसी दुबैमा थापाको पकड कमजोर बनिसकेको थियो।
 
फिफा अध्यक्ष सेप ब्लाटरले भ्रष्ट्राचारको आरोपमा एएफसीका तत्कालीन अध्यक्ष बिन हमामलाई निलम्बन गरेका थिए। थापा हमामकै निकट थिए। तिनै हमामले थापाका छोरा गौरवलाई रकम दिएको कुरामा फिफा र एएफसी अनभिज्ञ थिएनन्। त्यसमाथि  आफ्नै संस्थाका पदाधिकारीले एन्फामा आर्थिक अनियमितता भइरहेकोले छानविन गर्न अनुरोध गरेर फिफालाई पत्र लेख्नु र फिफाले यो विषयमा टिप्पणी गर्नु - यो सबैले थापालाई कमजोर बनाइदियो।
 
एन्फाकै उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा र विजय मानन्धरले नेपालको अधिकार प्राप्त निकायले छानबिन गरिरहेको जानकारी गराउँदै, फिफा स्वयंले पनि एन्फामा भएको अनियमितताको छानबिन गर्नका लागि अनुरोध गरेर पत्र लेख्नु, भ्रष्ट्राचारलाई जेरो टोलरेन्सको सिद्धान्त बोकेको फिफाका लागि कम महत्वको थिएन।
 
फिफाले फेयर प्लेका विरुद्ध खेलाडी वा पदाधिकारीबाट हुनसक्ने भ्रष्टाचारलाई रोक्ने उद्देश्य आफ्नो विधानमै राखेको छ। यसैकारण पनि यो विषयमा थापाले फिफाको साथ पाउनु सहज थिएन।
 

गर्जन बन्यो गलाको पासो

आरोप प्रमाणित नभएसम्म दोषी ठहरिँदैन, यो कानूनको सामान्य सिद्धान्त हो। आरोप लाग्नु, अनुसन्धान हुनु र निश्चित अवधिका लागि निलम्बनमा पर्नु - यी सामान्य प्रकृयाका विषय थिए। यसमा गर्जनको चरित्र देखाउनु पर्ने कुनै कारण थिएन।
 
थापाको हठी प्रतिक्रियाले फुटबलको विषयमा चर्को बहस र अनुसन्धानको सिलसिला सुरु भयो। नभए भ्रष्टाचारका विषय क्रिकेटमा पनि कम कुरा नउठेका होइनन्। नेपाल क्रिकेट संघ (क्यान) का कतिपय पदाधिकारी निलम्बन र भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्। अनावश्यक प्रतिक्रिया र चर्चाले अहिले थापा स्वयंलाई कमजोर बनाएको देखिएको छ।
 
जति चर्चा पाएको खेल हुन्छ, त्यसलाई हाँक्ने चुनौती पनि उत्तिकै हुन्छ। सर्वाधिक चर्चित खेल फुटबलमा भएको लगानीको पारदर्शिता जान्न खोज्नु लेखा समिति मात्र होइन सर्वसाधारणका लागि पनि अधिकारको विषय हो। यसमा थापा स्वयंले सहयोग गरेर आफूलाई सही साबित गर्ने सजिलो बाटो छँदै थियो र अझै छ पनि।
 
पद र शक्तिमा रहेको व्यक्तिलाई म बिना राज्य चल्दैन जस्तो लाग्न सक्छ। थापा पनि यही मानसिकताबाट ग्रसित बनेको जस्तो अहिले देखिएको छ।
 
संस्था व्यक्तिमा नभई प्रणाली र नीति नियममा चल्छ। तर विडम्बना नेपाली खेलकुद लामो समयदेखि यही व्यक्तिवादी सोचले ग्रस्त छ। फुटबल मात्र होइन नेपाल ओलम्पिक कमिटी (एनओसी) होस् वा एथलेटिक्स संघ वा क्यान - धेरै संस्था पावर र पोलिटिक्सको आडमा उदण्ड भइरहेका छन्। थापा पनि यो संस्कारबाट टाढा जान नसकेको उनको क्रिया प्रतिक्रियाले देखाएको छ।
 
थापाले खेलाडीका रुपमा नेपाली फुटबलमा पुर्‍याएको योगदान सराहनीय छ। उनले एन्फा अध्यक्षका रुपमा सन १९९५ देखि नेपाली फुटबल हाँक्दै आएका छन्। यो उनको नेतृत्वको अद्वितीय क्षमता पनि हो।  तर यसो भन्दैमा लामो अनुभवकै आधारले कतिपय विषयलाई अँध्यारोमा राख्न पनि सकिँदैन।
 
आर्थिक अनियमितता जस्तो गम्भीर विषयमा यथार्थ कुरा बाहिर आउनु केही समयको लागि नराम्रो बन्न सक्छ। अन्ततः यसले नेपाली फुटबल खेलाडी र सिंगो खेललाई नै राम्रो बाटोमा हिँडाउनेछ।
 
त्यसैले अबका दिनमा एन्फा अध्यक्ष थापाले आफ्नो साख जोगाइ राख्ने हो भने व्यक्ति नभई एउटा संस्था र यसको जिम्मेवारीको हैसियतमा सोच्नु पर्ने आवश्यकता छ। किनभने यो विषय कुनै ब्यक्तिको नभई संस्था र त्यसको उत्तरदायित्वसँग गाँसिएको विषय हो।

यो पनि हेर्नुस्-
एन्फामा यसरी भएको छ आर्थिक अनियमितता र भ्रष्टाचार
यस्तो थियो लेखा समितिमा गणेश थापाको गर्जन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell