- सबिन मिश्र/पहिलोपोस्ट-
सोख र सुरक्षाका उद्देश्यले कुकुर पाल्नेहरुको संख्या ठूलो छ। कुकुर पाल्नेको संख्या बढेसँगै यसको व्यापार सानो अंकमा छैन। कुकुर र यसले खाने दानाका लागि विदेशी बजारमा निर्भर रहनुपर्ने अवस्था छ। कुकुरलाई परिवारको सदस्य जस्तै ठानेर पाल्ने पश्चिमा संस्कृति भित्र्याउदै हुनेखाने वर्गले यसमा खर्च निकै बढाएका छन्।
एक वर्षको अवधिमा काठमाडौंमा मात्रै २५ करोड रुपैयाँ बराबरको कुकुर तथा कुकुरसँग सम्बन्धित सामानको व्यापार हुने गरेको व्यवसायीहरु बताउँछन्। यो तथ्यांक हरेक वर्ष तिव्र गतिमा उकालो लाग्दै छ। राजधानीमा खुलेका केनल क्लब संख्याले पनि कुकुरको व्यापार वृद्धिलाई स्पष्ट देखाउँछ।
काठमाडौंमा रहेका ४० भन्दा धेरै केनल क्लबमार्फत कुकुरको व्यापार हुँदै आएको छ। यी केनल क्लबमार्फत करिब ५० जातका स्वदेशी तथा विदेशी कुकुरको व्यापार हुने गरेको छ। अहिले एउटा केनल क्लबले मात्रै वार्षिक एकसयभन्दा धेरै कुकुरको व्यापार गर्न थालेका छन्। तर अझै पनि कुकुरको किनबेच राजधानी केन्द्रित छ।
लाखभन्दा महँगा कुकुर

नेपालमा व्यापार हुने मध्ये सबैभन्दा महँगो कुकुर एक लाख ५० हजार रुपैयाँसम्मको रहेको नेपाल केनल क्लबका अध्यक्ष सुरेश शाहले बताए। उनका अनुसार बुल डग जातको यो कुकुर नेपालमा व्यापार हुनेमध्येको अहिलेसम्मकै महँगो हो।
.jpg)
'हामीले केही अघि अनौपचारिक सर्वेक्षण गरेका थियौं, त्यसले के देखायो भने नेपालको डग इन्डस्ट्री २५ करोड भन्दा धेरैको भइसकेको छ,' शाहले भने, 'व्यवस्थित रुपमा पाल्न सिकाउने गरी केनल क्लबले काम गर्न थालेकाले कुकर पाल्नेहरु बढेका छन्।' शाहका अनुसार व्यवसायिक रुपमा कुकुर पाल्नेले एउटै घरमा १० वटासम्म कुकुर पाल्ने गरेका छन्।
नेपालमा पाँच हजारदेखि ७० हजार रुपैयाँसम्मका कुकुर धेरै किनबेच हुन्छन्। शाहका अनुसार २०५४ सालबाट नेपालमा केनल क्लबको व्यवसाय सुरु भएको हो। त्यतिबेला सामान्य रुपमा हुने कुकुरको व्यापार अहिले निकै बढेको छ।
कुकुर खरिदका लागि धेरै खर्च नभएपनि त्यसको खाना तथा उपचारमा धेरै खर्च हुने नमस्ते भेट तीनकुनेका सञ्चालक रेमशराज पोखरेल बताउँछन्। एउटा कुकुरलाई वार्षिक एक हजार तीनसय रुपैयाँको भ्याक्सिन तथा तीनहजार रुपैयाँको उपचार खर्च लाग्ने उनको भनाइ छ।
पशु बीमाले छुँदैन कुकुरलाई
नेपालमा व्यवसायिक रुपमा कुकर पालन हुन थालेको २० वर्ष भन्दा धेरै भएपनि कुकुरलाई अझै अन्य पशुसरह व्यवहार नभएको व्यवसायीको भनाइ छ। सरकारले दुई वर्ष अघि नै बाली तथा पशु बीमा कार्यक्रम अघि बढाए पनि यो योजनाले कुकुर पालनलाई भने छोएको छैन।'एउटा भैंसीको बीमा हुन्छ तर कुकुरको बीमा हुने व्यवस्था छैन,' माउण्ट एभरेष्ट केनल क्लबका शाह भन्छन्, 'कुकुरलाई सोखको लागि पालिने जनावर भनिएको छ।'

९० प्रतिशत आहारा भारतबाट आयात
नेपालको कुकुर बजार २५ करोडको पुगेपनि वार्षिक करिब १५ करोड रुपैयाँ बराबरको अाहारा भारतबाट आयात हुने गरेको छ। भारतीय दाना उत्पादक कम्पनीहरु ड्रुल्स र पेडिग्री कम्पनीका दाना नेपालमा धरै खपत हुने गर्छन्। यस बाहेक नेपाली कम्पनीका उत्पादनहरु मेट मिल र पेट फुडले करिब १० प्रतिशत जति बजार हिस्सा ओगटेका छन्।नेपालकै पुरानो मध्येको माउण्ट एभरेष्ट केनल क्लबका अध्यक्षसमेत रहेका शाहका अनुसार नेपाली उत्पादनले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने तथा नेपाली उत्पादनको मार्केटिङ च्यानल बलियो नभएकाले भारतीय उत्पादनकै भर पर्नुपर्ने अवस्था छ।
केनल क्लब एसोसियसनका अध्यक्ष प्रविण बज्राचार्य पनि नेपाली उत्पादनले गुणस्तरियता कामय गर्न नसक्दा विदेशबाट ठुलो परिमाणममा दाना आयात गर्नु परेको बताउँछन्। 'नेपालमा दुई ब्राण्डले दाना उत्पादन थालेका छन्,' बज्राचार्यले भने, 'उनीहरुले क्वालिटी मेन्टेन गर्न पनि सकेका छैनन र उनीहरुको मार्केटिङ पनि राम्रोसँग हुन सकेको छैन।'
नेपाली मौलिक जात संकटमा
एसोसिएसनका अध्यक्ष बज्राचार्य संरक्षणको अभावमा नेपाली मौलिक भोटे जातको कुकुर लोप हुने अवस्थामा पुगेको बताउँछन्। 'हामीले राम्रोसँग प्रिजर्भ गर्न सकेनौं,' बज्राचार्यले भने, 'यसले हाम्रो मौलिक जातको भोटे कुकुर लोप हुने अवस्थामा छ।'नेपालको भोटे कुकुर तिब्बत तथा चीनका अन्य भागमा लोकप्रिय रहेको छ। 'हामीले यो पेशालाई थप व्यवस्थित बनाउने हो भने चीनमा मात्रै करोडौंको कुकुर निर्यात गर्न सकिन्छ,' शाहले भने, 'हाम्रोमा ब्रिडिङको लागि हावापानी राम्रो छ त्यसैले हाम्रा कुकुर विदेशमा पनि राम्रो मूल्यमा व्यापार गर्न सकिन्छ।'