PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ब्रम्हपुत्रको शीरमा चीनले डेढ अर्व खर्चेर बनायो ५१० मेगावाटको परियोजना



ब्रम्हपुत्रको शीरमा चीनले डेढ अर्व खर्चेर बनायो ५१० मेगावाटको परियोजना

काठमाडौं : चीन स्वशासित तिव्वतमा अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत परियोजना सञ्चालनमा आएको छ। ५१० मेगावाट क्षमताको जाम हाइड्रोपावर आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको चिनियाँ समाचार संस्थाहरुले लेखेका छन्।  
 
संसारको सबैभन्दा अग्लो स्थानमा निर्माण भएको यो परियोजना नौ अर्ब ६० करोड युआन अर्थात एक अर्ब ५० करोड डलरमा तयार भएको हो। यो तिव्वतमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत परियोजना पनि हो। यसबाट उत्पादन हुने विद्युतले तिव्वतको एक तिहाइ विद्युत मागलाई एक्लैले पूरा गर्नेछ।  
 
विश्वको छाना भनेर चिनिने तिव्वतको ३३०० मिटरको उचाइमा बनेको यो आयोजना चीनको हाउनेन समूहले बनाएको हो। यो समूह सरकारी स्वामित्वमा स्थापित कम्पनी पनि हो। तिव्वतमा यारलुङ जाङबु नदीले चिनिने यही नदी बग्दै भारत र बंगलादेशसम्म पुग्छ। भारतमा यो नदीलाई ब्रम्हपुत्र भनेर चिनिन्छ।  
सहनान प्रिफ्केचरको ग्याचा गाउँमा बनेको यो जलविद्युत परियोजना निर्माण सम्पन्न भएपछि भारतलाई भने टाउको दुखाइ बनेको छ। ब्रम्हपुत्रको शीरमा बनेको ड्याम 'युद्ध' जस्तो समयमा खोलिदिए भारत नै तहसनहस हुने भन्दै भारतमा यस्को विरोध भएको हो।  
 
तर चीनले भने यो आयोजना 'रन अफ दि रिभर' भन्दै यसबाट भारतलाई कुनै क्षति नहुने जानकारी दिएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले परियोजनाबाट भारतलाई कुनै पनि समस्या नहुने बताइन्। उनले भनिन्, 'हामीले भारतको चासोलाई बुझेका छौं,  हामी नदीको पानीका विषयमा भारतसँग सम्पर्कमा रहने छौं।'  
 
सन् १९७२ देखि अध्ययन थालिएको यो परियोजना निर्माणका लागि सन् २००९ मा गेजुवा समूहलाई छानिएको थियो। यसबाट सन् २०१४ को नोभेम्वर २३ मा पहिलो युनिटबाट विद्युत उत्पादन थालिएको थियो। परियोजनामा ८५ मेगावाटका छ वटा युनिट लगाइएको छ।  
 
परियोजनालाई वातावरण मैत्री बनाउन माछाका लागि छुट्टै बाटो बनाइएको छ। जसका लागि कम्पनीले करोडौं रुपैयाँ खर्च गरेको छ। त्यसैगरी सिभरेज लगायतका विभिन्न काममा पनि कम्पनीले ठूलो रकम खर्च गरेको छ।  
 
अब चीनले यो ड्यामभन्दा माथि ६४० मेगावाटको दागु तथा ५६० मेगावाटको जेइचु र यो परियोजनाभन्दा तल ३२० मेगावाटको जियाचा ड्याम बनाउन अनुमति दिएको छ। ११६ मिटर अग्लो र ३८९ मिटर लामो कंक्रिट ड्यामले यारलुङ जाङबु नदीको पानीलाई रोकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell