PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​कविता : यसरी हत्या गरौँ दसैँको



​कविता : यसरी हत्या गरौँ दसैँको

  • महेन्द्र थुलुङ राई -
जिन्दाबाद
मुर्दाबाद
एउटा दसैमा
दुईवटा नारा घन्काउनेहरुभन्दा टाढा बसेर
आउ प्रिय !
हामी हत्या गरौ
यो दसैको।
 
कसरी आयो दसै?
किन आउँछ दसैँ?
यस्ता प्रश्नहरु मनमा पालेर बस्नुभन्दा
म कसरी परदेशी भएँ?
तिमी कसरी स्वदेशी भयौ?
रातमा तिमी जुनलाई सोधी हेर
दिनमा म घामलाई सोधी हेर्छु।
हावाले खबर ल्याओस्
तिमी बिनाको दसैँ
म बिनाको दसैँ
दसैँ हो कि हैन?
यस पल्ट मनको मझेरी नपोत्नु
म आउने बाटो बङ्गाइ दिनु
दृश्य अदृस्य केही नहोस्
यसरी तिमी र म मिलेर
यो दसैको हत्या गरिदिनु पर्छ।
 
नानीहरुलाई,
यथार्थको लठारोमा राखेर मच्चाइदिनु
रहरको फुर्कोसङ्गै
मेरो ठेगाना टिपुन्
र,हेरुन्
केएल टावर
बुर्ज खलिफा
अनि पर्ल कतार
छ्या भनुन बजुको घर
छ्या भनुन हाम्रो सहारा
टावरको रिङ्गटा लागेर पस्ने सोच गरुन्
मेरो रगत चुस्ने देश
परिवार नै नभए पछि केको दसै?
आफन्तनै नरहे पछि कस्तो दसैँ?
आउ प्रिय!
यसरी तिमी र म मिलेर
यो दसैँको हत्या गरिदिनु पर्छ।
 
म, तिमी सानोमा
बाबाको हातबाट टीका थापेको
धुमौलो तस्बिर हटाउनु
त्यो दैलोको शिरबाट
कतै झुक्किएर आँखा पुगे सोध्लान्
बाजेको हातको टीका थाप्नेले
हाम्रो निधारमा किन आशीर्वाद टाँस्दैनन?
त्यति बेला
रियाल,रिङ्गेट र डिरामले मुखैमा हानी दिनु
र, भन्नू
जा दसैँ किन बजारमा
बुझुन् दसैँ आजकाल किन्नु पर्छ
र,बाबा हाम्रो दशै किन्न
आफ्नो जीवन बेच्नुहुँदैछ।
यसरी सुस्त सुस्त पाराले क्या !
तिमी र म मिलेर
यो दसैँको हत्या गरिदिनु पर्छ।
 
म पनि सरकारलाइ विनय गर्छु
हरियो पासपोर्ट देखाएर
यो दसैँको दिन
कुनै चिलगाडी नउडोस्
मेरो घरको छाना माथिबाट
मेरो बचेराको आँखाको रेटिनाबाट
फेरि भन्न सक्छन्
हाम्रो बाबा आउनु भयो
म आउने बाटो सायद तिमीले
त्यतै देखाएको हुन सक्छ।
हो प्रिय!
कुनै खुशी नबोक्ने
कुनै हासो नहाँस्ने
यो दसैँ हामीलाई के काम
आउ सङ्गै मिलेर यो दसैँको हत्या गरौ।
 
जिन्दाबादको पहाड ठडियोस्
मुर्दाबादको जमिन फाटोस्
त्यो पहाड र जमिनभन्दा टाढा बसेर
तिमी र म मिलेर
हत्या गरौ यो दसैँको।
 
समाप्त 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell