PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

​मधेसबाट फर्केर : ओलीको बोलीले चर्केको आन्दोलन, उनैले सक्छन् सल्ट्याउन



​मधेसबाट फर्केर : ओलीको बोलीले चर्केको आन्दोलन, उनैले सक्छन् सल्ट्याउन

  • ऋषिकेश दाहाल -
काठमाडौ : दसहराका लागि मधेसी मोर्चाले आन्दोलन खुकुलो बनाएको पत्रकार सम्मेलनबाट जानकारी दिँदा धेरैले सोचेका थिए- मधेस आन्दोलन अब सकियो। मधेस आन्दोलन सकियो भनेर मधेसकै भूमिबाट मधेसी नेताविरुद्ध अभियान नै सुरु भएको थियो – प्रधानमन्त्रीको संसदमा भएको निर्वाचनमा आन्दोलनरत दलका नेता सहभागी हुँदा। वार्ताका लागि मधेसवादी दलका नेता काठमाडौंमा रहँदा मधेसका विभिन्न नाकामा धर्ना दिएर बसेकाहरु उनीहरुविरुद्धै आक्रोशित देखिन्थे। मधेसका नेताका पुत्ला पटक-पटक जलाइए आन्दोलनका क्रममा। मधेसी नेताको धेरै पुत्ला दहन भयो। प्रधानमन्त्री केपी ओलीको पनि। मधेस आन्दोलनमा अहिले तारो बनेका छन् प्रधानमन्त्री केपी ओली।
प्रधानमन्त्री हुनुअघि उनले मधेसका विषयमा गरेका टिप्पणीले मधेसमा आन्दोलनमा ऊर्जाको काम गरेको छ। इन्धन अभावले काठमाडौंलगायत मुलुकका सबैजसो भूभाग 'प्यारालाइज' भइरहँदा मधेसमा भने दुईखाले अभिव्यक्ति सुन्न पाइन्थ्यो - ओली नै सबै बिगार्ने राजनीतिज्ञ हुन् र ओलीले नै समस्याको समाधान गर्छन्।
 

किन भए ओली निसानामा?

पार्टी छाड्नु केही दिनअघि डाक्टर बाबुराम भट्टराईले आफ्नै निवासमा पत्रकारहरुसँग कुराकानी गरेका थिए। कुराकानीमा उनले संविधान निर्माण र जारी प्रकृयामा मधेसी दललाई मिलाएरै लैजान गरेको प्रयास केपी ओलीकै कारण असफल भएको सुनाएका थिए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ओलीको होमा हो मात्र मिलाउने र तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संवादका लागि सकारात्मक भए पनि उनका वरपर रहेको घेराले उनलाई अगाडि बढ्न नदिएको भट्टराईले सुनाएका थिए।

पार्टी छाड्दा मधेस मुद्दालाई 'ग्रहण' गरेका भट्टराईको बुझाईमात्र केपी ओलीविरुद्ध माहोल बनाउन पर्याप्त थिएन। त्यसका लागि ओलीको 'छुद्र' बोलीले सबैभन्दा ठूलो भूमिका खेलेको थियो। अहिले मधेसमा ओलीका दुई भनाईले सबैभन्दा बढी चर्चा बटुलेको छ। एउटा झरेको आँप र अर्को माखेसाङ्लो।

मधेस आन्दोलनमा ४५ भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। मधेस आन्दोलन हिंसात्मक हुनुमा पहिलो ठूलो घटनामा कैलालीको टीकापुरबाट सुरु भयो। सुरक्षाकर्मीको जघन्य हत्याले मधेस र थारु आन्दोलनमाथि नै प्रश्न उठ्यो। आन्दोलनले हिंसात्मक मोड लिनु कदापी सही थिएन। त्यसै घटनालाई लिएर तत्कालीन गृहमन्त्री वामदेव गौतमले दक्षिणतिरबाट आएकाले मारेको भन्दिए – संसदमै। त्यसपछि मधेस आन्दोलनमा हिंसात्मक घटनाहरु बढ्न थाल्यो। घुमाउरो पारामा सेना परिचालन नै भयो। त्यसपछि मधेस आन्दोलनमा सहभागी भएका र नभएकाहरुको पनि गोलीबाट मृत्यु हुने क्रम बढ्यो। सुरक्षाकर्मी मारिँदा एउटा नेताले देखाउनुपर्ने इमान्दारिता देखाउँदै ओलीले परिवारजनमा समवेदना दिए। त्यतिसम्म त ठीकै थियो। तर मधेस आन्दोलनका क्रममा दमन भएको भन्दै संविधान सभाबाट बाहिरिने दलहरुप्रति लक्षित गर्दै उनले 'एक दुई आँप झरेर गए केही नहुने' अभिव्यक्ति दिए, जसलाई मृत्यु भएकाप्रति लक्षित भएकोसमेत ठानियो। दोस्रो ठूलो दलको नेतृत्व गरिरहेका व्यक्तिबाट कुनै पनि आन्दोलनमा आउने यस्तो अभिव्यक्तिले आन्दोलनलाई कमजोर होइन बलियो बनाउँछ नै। मधेसमा भयो त्यसै।

मधेसी मोर्चाको आह्वानमा तराईमा सत्याग्रही आन्दोलनका रुपमा मानव साङ्लो तयार भयो। मधेसमा गाउँगाउँबाट मानिसहरु साङ्लो बनाउन जुटे। पूर्वी नेपालदेखि पश्चिम नेपालको तराईका भूभागमा मधेसीहरुले साङ्लो बनाएर आन्दोलन जारी राखे। यो आन्दोलनमा पनि ओलीको कटू वचन नै फुस्कियो : माखे साङ्ग्लो। माखे साङ्ग्लोको शब्दकोषमा भएको अर्थ हैन, भावी प्रधानमन्त्रीका रुपमा प्रोजेक्टेड नेताले मधेसी जनतालाई माखा अर्थात् झिङ्गा मान्छन् भन्ने सोझो भाषा बुझ्यो मधेसले। यसले मौन रहेका मधेसका युवा पङ्ति सबैभन्दा बढी आक्रोशित बन्यो। 'युवाहरु आन्दोलनमा त्यसै होमिएका होइनन्। मधेसी नागरिकलाई झिंगा र आँप भनेपछि मानिस नै हुँ भन्ने देखाउनु बाध्यता बन्यो,' सिरहामा प्रदीप यादवले ओलीको बोलीप्रति आक्रोशित हुँदै भने।

मधेसको राजनीतिमा युवाहरुको सङ्ख्या सँधै कम नै रहँदै आएको हो। तर पछिल्लो पुस्ता राजनीतिमा होमिने सम्भावना बढ्दै गएको छ। काठमाडौं र भारतका विभिन्न सहरमा उच्च शिक्षाका लागि पुगेकाहरु क्रमश आन्दोलनमा समावेश हुँदै गएका छन्। 'हामीले आफूलाई नेपाली हुँ भनेर चिनाउन पर्ने बनाउने केपी ओली नै हुन्। आन्दोलनलाई यहाँसम्म पुर्‍याउन उनकै भूमिका सबैभन्दा धेरै छ,' अर्का युवा विशेश्वर यादवले भने। मधेस आन्दोलनमा मरेकाप्रति ओलीले श्रद्धाञ्जलिसमेत नदिएकोमा मधेसले गुनासो गर्छ।

निसानमा तीन ठूला दल र मिडिया

मधेस आन्दोलनको निसानामा ओली र उनको पार्टी नेकपा एमालेमात्र छैनन्। नेपाली कांग्रेस र एमाओवादीप्रति पनि उत्तिकै आक्रोश छ। जमियत अलमा नेपालका मोहम्मद खालिदका अनुसार नेपाली कांग्रेसले मधेसको इस्युलाई ग्रहणमात्रै गरिदिएको भए पनि यहाँ नयाँ दलहरु जन्मने नै थिएनन्। 'इदका दुई दिन बिदा माग्दा कांग्रेसले वास्ता गरेन,' उनले भने, 'हाम्रो जायज माग पूरा गर्न मधेस आन्दोलन कुर्नुपर्‍यो। त्यसयतामात्रै बिदा पाउन सक्यौं।'

मधेसमा आन्दोलितहरु नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको विरुद्ध छन्। तिनका नेताविरुद्ध खराब माहौल बनेको छ मधेसमा। त्यसैले नाकाका आन्दोलनमा भेटिने कांग्रेसी, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका नेताहरु पार्टीबाट औपचारिक या अनौपचारिक विदा लिएरै उत्रेका छन्।

मधेसका गल्ली गल्लीमा काला झन्डाले यतिखेरको मधेसलाई प्रतिनिधित्व गरिरहेको छ। यहाँ यस्तो कुनै पनि ठाउँ भेटिएन जहाँ कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका झन्डा देखियुन्। भोलि यी दलहरुको अवस्था के हुन्छ भन्न सकिन्न तर यतिखेर मधेस यतिखेर शीर्ष दलका नेता र कतिपय ठाउँमा आन्दोलनमै रहेका आफ्नै नेताविरुद्ध पनि उभिएको छ – चार दल मधेस आन्दोलनको निसानामा छन्।
निसानामा अर्को दल पनि छ – मिडिया। मधेसबाटै निस्कने पत्रपत्रिका पहाडे समुदायले चलाएको भए पनि मधेसको मुद्दा नै तिनमा प्रमुखता पाएको देखियो। केन्द्रीय मिडियाले आन्दोलनलाई दवाउन सघाएको मधेसको बुझाइ छ। 'अस्तिसम्म कांग्रेस, एमाले, माओवादी मधेसविरोधी दल मान्थ्यौं हामी,' रमेश कुमार मण्डलले भने, 'तर यीबाहेक पनि अर्को दल जन्मिएको छ मधेसविरुद्ध। त्यो हो राष्ट्रिय मिडिया।' मधेस आन्दोलनका रिपोर्ट केन्द्रीय मिडियाले खासै नदिने उनीहरुको आक्रोश थियो। राजा ज्ञानेन्द्र सत्तामा हुँदा उनका आसेपासेका मानिसले जसरी कान्तिपुरलाई चौथो दलका रुपमा विश्लेषण गर्थे अहिले मधेसले केन्द्रका मिडियालाई त्यही नजरले हेर्न थालेका छन्। यसले मधेसमा रहेर मिडियाकर्म गर्न कठिन बनाएको छ। आन्दोलनमा रहेका थोरैमात्र केन्द्रका मिडियाको गेट किपिङ र उनका मालिकले लिएको नीतिबारे जानकार छन्। अधिकांशलाई लाग्छ – जिल्लामा रहेका पत्रकारले नै समाचार विगारेर पठाइरहेका छन्।
 

विभेद नै आन्दोलनको कारण

मधेस आन्दोलनको कारण विभेद नै हो। वर्ण, पोशाकदेखि लिएर विकासका गतिविधिमा समेत विभेद भएकाले मधेसको आन्दोलनले अहिलेको रुप लिएको हो। मधेसमा विभेद हुनुमा काठमाडौंसँगै त्यहाँबाट राजनीति गर्ने दलहरुको भूमिका पनि बराबरी नै छ। मधेसले राज्यका सबै हिस्सामा समानुपातिक प्रतिनिधित्व नपाएको भए पनि राजनीतिक हिस्सेदारीलाई मूल्याङ्कन गर्ने हो भने मधेस केन्द्र बनाएर राजनीति गर्नेहरु सधै बलियो पोजिसनमा नै रहेका छन्। अहिलेको मधेस मुद्दा बनेर आन्दोलनको रुप लिनपर्ने अवस्था आउनुमा मधेसी दलका नेताहरु पनि जिम्मेवार छन्। मधेस आन्दोलनमा उनीहरुका पुत्ला जल्नुको पछाडि सत्तामुखि र लोभी चरित्र नै कारण बन्दै आएको छ।
यहाँका जनता पनि विकास र समुन्नति चाहन्छन्। शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधार नै यहाँको आवश्यकता हो। त्यसमै जोडिएको हो आत्मसम्मान – जुन उनीहरु संविधानका पानामा देख्न चाहन्छन्। संविधानमा उनीहरुले परिकल्पना गरेका कुरा अटाउँने विषय हुन या होइनन् यहाँ आन्दोलनमा उत्रिएका मानिसलाई थाहा छैन। न त उनीहरुले संविधान पढ्न नै पाएका छन् न त्यो भाषा बुझ्न नै सक्छन्। अशिक्षा, वेरोजगारी, महँगीसँगै स्वाभिमान उनीहरुको आन्दोलनको मुद्दा बनेको छ। संविधानका धारा र उपधारा उनीहरुलाई त्यति चासो छैन जति छ पहिचानको। 
 

आरोपसँग आशामा ओली नै

मधेस आन्दोलनमा जुटेकाहरु प्रधानमन्त्री ओलीलाई जति क्रुर रुपमा प्रस्तुत गर्छन् त्यति नै उनीबाट आशा गर्छन्। त्यसो त प्रधानमन्त्री बन्नुअघि चर्का कुरा गरेका ओलीको बोलीमा पदसँगै लगाम पनि लाग्न थालेको छ। प्रकृयाबाट संविधान जारी गर्ने क्रममा राष्ट्रियता भन्दै आन्दोलन दुत्कार्ने उनले पछिल्ला अभिव्यक्तिहरुमा वार्ता र संवादलाई सम्बोधन गरिरहेकै छन्। 'सबैभन्दा बढी मधेसविरुद्ध बोलेकाले पनि होला अब यिनैले केही गर्लान जस्तो लाग्छ,' वीरगञ्जका व्यवसायी ओमप्रकाश शर्माले भने, 'प्रधानमन्त्रीमा सुशील कोइरालाले जितेको भए समस्या समाधान हुने थिएन। केपी मधेस विरोधी हुन् त्यसैले उनले आफू सफल हुन पनि मधेस मुद्दालाई सम्बोधन गर्छन्।'

ओलीसँग मधेसले आशा गर्नुमा खास केही कारण छन्। पहिलो त सत्ता बलियो बनाउन जनताको साथ लिनै पर्छ। केपीका लागि मधेसलाई आफ्नो पक्षमा लिनु आफ्नोमात्र होइन मधेसमा गुमेको आफ्नो साख पुरानै अवस्थामा ल्याउन पनि सफलता हुन्छ। दोस्रो हो संविधान संशोधन। सुशील कोइराला प्रधानमन्त्री हुँदा संविधान संशोधनको प्रस्ताव परिसकेको छ। सत्ताबाट प्रतिपक्षमै पुगिसकेको भए पनि कांग्रेस अब त्यसबाट फर्किन सक्दैन। ओली प्रधानमन्त्री हुन्थेनन् भने संविधान संशोधनका लागि जुन प्रस्ताव राखिएको थियो त्यो लागू हुन नसक्ने मधेसको बुझाइ छ।

त्यसो त मधेसले आफ्ना मागको ३५ बुँदे सूची पेश गरेको छ। दुई कदम अघि बढेर एक कदम फर्कन यस्ता धेरै बुँदाले सहयोग पुर्‍याउँछ नै। संशोधनमा परेका प्रस्तावबाहेक मधेस मुद्दा सीमाङ्कनमा मात्रै अल्झिने अवस्थामा पुगेको छ। यदि सीमाङ्कनमा मधेसका आन्दोलनकारी र प्रमुख दलहरुले लचकता अपनाउने हो भने मधेसको मुद्दाले सधैका लागि उन्मुक्ति र केपी ओलीको बोलीबाट छुटेको गोलीले घाइते बनाएकाहरुको मनमा मल्हम पनि लगाउन सक्थ्यो। 

स्थलगत रिपोर्टहरु

ग्राउन्ड जिरो रक्सौल : आन्दोलनकारी भन्छन् - दिल्लीसँग वार्ता गरेर यता सुल्टिन्न
ग्राउन्ड जिरो बारा : के सोच्छ मधेश, किन चाहन्छ आन्दोलन?  
ग्राउन्ड जिरो बरगनिया : आन्दोलनकारीको आरोप- मधेसलाई आफ्नो ठान्दैन राजधानी 
ग्राउन्ड जिरो भिट्ठामोड : 'कोही छैनन् यहाँ अंगिकृतवाला'
ग्राउन्ड जिरो सिरहा : 'हामी पहाडी नेतालाई जिताउँछौं, के रुकुमबाट मधेसी नेता जित्छ?'
ग्राउन्ड जिरो माडर : सानो नाका, ठूलो राजनीतिक महत्व  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell