- मनोज सत्याल/सविन मिश्र-
रामेछापका ४७ वर्षीय ज्ञानबहादुर तामाङको भनाइ हो यो। ३० वर्षदेखि ड्राइभिङ गर्दै आएका उनले २० वर्ष त ट्याङ्कर चलाउन थालेकै नाघिसक्यो। भारतीय नाकाबन्दीका कारण चीनले अनुदानमा दिएको पेट्रोल लिन तामाङ पहिलोपटक रसुवागढी आइपुगेका छन्।
नुवाकोटको बाटो हुदैँ राम्चेको पहिरो उक्लँदै गर्दा डाँडापारी हिउँ पर्यो। ट्याङ्कर गुड्ने बाटो पानीले हिलो भयो। तामाङले भने, – 'तेलका लागि ट्याङ्की लिएर हिमाल चढ्ने दिन आए।'
तामाङसँगै आएका सबै ट्याङ्कर चालकका लागि रसुवागढीको बाटो नौलो हो। उनीहरु सबै पहिलोपटक सँधै तेल ल्याउने गरेको बाटो छाडेर धादिङको गल्छी हुँदै नुवाकोटबाट उकालो लागे। नुवाकोटको सदरमुकाम ढुङ्गेबाट उकालो लाग्नुपर्ने उनीहरुले बाटो नै झुक्किए।
भारतीय नाकाबन्दीका कारण राजधानीलगायत देशभर यतिबेला इन्धनको चरम अभाव छ। इन्धन अभाव टार्न सरकारले चीन सरकारसँग पेट्रोलियम पदार्थ ल्याउने सम्झौता गरिसकेको छ। नेपालको तत्कालिक अभाव टार्न चीनले शनिबारबाट नेपाली ट्याङ्करमा केरुङ ल्याएर इन्धन लोड गरिदिन थालेको छ। तर ड्राइभरहरु भने ट्याङ्करहरुले पूर्ण क्षमतामा तेल ओसार्नेमा सन्देह व्यक्त गर्छन्।
रसुवागढी पुग्ने बाटोमा के-के छन् समस्या ?
धादिङको गल्छीबाट त्रिशुलीको किनारै किनार हुँदै पहिलोपटक ट्याङ्करहरु नुवाकोट काटेर रसुवाको उकालो चढे। साँघुरो बाटोमा गाडीको इन्धन अभाव भोगिरहेकाहरुले ट्याङ्करको लाइन देखेपछि हात हल्लाउँदै स्वागत गरे।एक मोटरसाइकल चालकले भने – छिटो तेल लिएर आउनुहोस्।
तर चालकहरु भने साँघुरो बाटो र मोडबारे चिन्तित छन्। यदि चीनबाट नियमित तेल ल्याउनुपर्ने हो भने बाटो फराकिलो पार्नुपर्ने आवश्यकता उनीहरु औल्याउँछन्। साँघुरो बाटोमा दुईतर्फी सवारी साधन सञ्चालन अप्ठेरो देखिन्छ। बाटोमा गाडी साइड दिनै समस्या छ।
दोश्रो समस्या भनेको रसुवाको राम्चे र ग्राङ्रमा बिग्रिएको बाटो हो। भूकम्पपछि आएको पहिरोले बाटो बढारेको छ। पहिरोबीच खोलिएको ट्रयाकमा फेरि पानी पर्ने बित्तिकै समस्या हुने देखिन्छ। बाटोमा ठूलो ठूलो ढुङ्गा छन्, अनि कतै उकालो र कतै भिरालो छ। झण्डै चार किलोमिटर लामो भीरको बाटोको पहिरोमा गाडीको पाङ्ग्रासमेत नअट्ने बाटो छ। ट्याङ्करको झ्यालबाट सिधै त्रिशुली नदी देखिन्छ। तत्काल बाटो फराकिलो बनाउने र स्थायी रुपमा सवारी साधन सञ्चालनको व्यवस्था गर्नुपर्ने देखिन्छ।
तेस्रो समस्या जोखिमपूर्ण भीरको बाटो नै हो। जहाँ जहाँ पहिरोले अप्ठेरो भएको छ, त्यँहीको बाटो निकै साँघुरो मात्रै छैन उकालो ओरालो पनि छ। सिमसिम पानी परिरहने लेकमा सानो पानीले पनि बाटो चिप्लो बनाइदिन्छ जसका कारण ट्यांकर उक्लन समस्या पर्छ। पर्याप्त स्पिड लिन नपाउँदा ट्यांकरलाई बाटोका ती गौंडा उक्लन मुस्किल पर्छ। अर्कातिर तिनै भीर यति अग्ला छन् कि त्यसको दुई किलोमिटर तल मात्रै त्रिशुली नदी देखिन्छ। जसले ट्यांकर चालकलाई यो बाटोमा केही कठिनाई सिर्जना हुन सक्छ।
चौथो समस्याको रुपमा रहेको छ ठाउँ ठाउँको चेकिङ। लाङटाङ निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले धुन्चेमा रित्तो ट्याङ्करसमेत झण्डै १० मिनेट लगाएर चेकिङ गर्यो। त्यहाँमात्रै होइन कयौँ ठाउँमा प्रहरीको पोस्टहरुमा गाडीको नम्बर टिपाउनुपर्ने र प्रक्रिया पुरा गर्नुपर्ने ठाउँ राखिएका छन्। त्यस्ता ठाउँहरुमा दुईदेखि तीन वटा गाडीसमेत रोक्ने स्थान अभाव छ।
तातोपानी नाकाको विकल्पको रुपमा हेरिएको रसुवागढी नाकामा पार्किङ र कार्यालयहरु समेत छैनन्। दिनभर मितेरी पुलको वारी नेपाल प्रहरी दुई वटा रजिष्टर लिएर बस्छन्। उनीहरु साँझ त्यहाँ बस्दैनन्। भीरको मुनि असुरक्षित महसुस गरेका उनीहरुको पोस्ट दुई किलोमिटर वरै छ। यस्तोमा ट्याङ्कर लगायतका सवारी साधनको उचित पार्किङ र सुरक्षाको समेत प्रश्न छ।
भीरको कच्ची बाटोमा पेट्रोलियम ओसार्न सम्भव छ। तर नियमित रुपमा पेट्रोलियम आयातका लागि बाटोमा उल्लेख्य सुधार गर्नुपर्ने देखिन्छ। चीनका लागि नेपाली राजदूत डा महेश मास्केले अब नेपालले कूल आयातको ३३ प्रतिशत पेट्रोलियम चीनबाट ल्याउने बताइसकेका छन्। दुई मुलुकको बीच व्यापारिक सम्झौता गर्ने समेत तयारी छ। तर पेट्रोलियम ढुवानीका लागि पूर्वाधार सुधार अत्यन्त जरुरी देखिएको छ।
मास्केले पनि चीनले आफ्नो तर्फको बाटो सुधार गर्ने बताइसकेको उल्लेख गरेका छन्। पहिलोपटक चीनबाट पेट्रोलियम लिन हिँडेका ट्याकर तिब्बती बाटोको हिउँकै कारण अवरोध खेप्न बाध्य भए। बिहानै नेपाली भन्सार पार गरेका ट्याङ्कर दिउँसो बल्ल चीन पुगे।