PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

वीरगञ्जमा भारतीय मारिएपछि प्रधानमन्त्रीलाई फोन गर्दै मोदीले मागे विवरण



वीरगञ्जमा भारतीय मारिएपछि प्रधानमन्त्रीलाई फोन गर्दै मोदीले मागे विवरण

  • पहिलोपोस्ट -
काठमाडौँ : वीरगञ्जमा प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी एक भारतीय नागरिकको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच फोन वार्ता भएको छ। 

एमाले स्थायी समिति बैठक जारी रहँदा भारतीय प्रधानमन्त्रीको फोन आएको थियो। दुई नेताबीच सीमा र आपूर्ति समस्या बारे छलफल भएको नेता योगेश भट्टराईले जानकारी दिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार दुई प्रधानमन्त्रीबीच करिब २५ मिनेट कुरा भएको थियो। 'मोदीले फोन गर्नुभयो, अहिलेको स्थितिबारे छलफल भयो', दाहालले भने, 'प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज पार्न ध्यानाकर्षण गर्नुभयो। उताका प्रमले हाम्रो तर्फबाट हामी गर्छौँ, तपाईँहरुको आन्तरिक समस्या तपाईँहरुले समाधान गर्नुस् भन्नुभयो।'

भारतीय प्रधानमन्त्री कार्यालयले ट्विट गर्दै नेपामा प्रहरीको गोलीबाट विहारका एक युवकको मृत्यु हुनुलाई दुर्भाग्यपूर्ण भन्दै त्यसको निन्दा गरेको छ। घटनाप्रति चासो देखाउँदै प्रधानमन्त्री ओलीलाई फोन गर्दै विस्तृत विवरण दिन आग्रह गरिएको ट्विटमा उल्लेख छ।

इन्धन र अन्य अत्यावश्यकीय वस्तुको आपूर्तिमा भारतीय पक्षबाट कुनै अवरोध नहुने मोदीले आश्वासन दिएका छन् भने संकटको छिटो र प्रभावकारी समाधान गर्न नेपाली नेताहरुलाई आग्रह पनि उनले गरेका छन्। 



  यसअघि ​वीरगञ्जमा आज भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक भारतीय नागरिक मारिएको भन्दै भारतीय विदेश मन्त्रालयले गम्भीर चासो व्यक्त गर्दै विज्ञप्ति निकालेको थियो।  

विज्ञप्तिमा 'एक निर्दोष भारतीय नागरिक मारिएको' लेखिएको छ। वीरगञ्जको श‌ंकराचार्य गेटमा भएको झडपमा गोली लागी घाइते भएका आशीषकुमार रामको मृत्यु भएको प्रहरीले बताएको थियो। प्रदर्शनकारीले माइती नेपालको कार्यालय र इनर्वा प्रहरी चौकीमा आगजनी गरेपछि त्यसलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो।

भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा नेपालले सामना गरिरहेको विषय राजनीतिक प्रकृतिको भएको भन्दै शक्ति प्रयोगबाट यसलाई समाधान गर्न नसकिने बताइएको छ। नेपाल सरकारले यसलाई उचित रुपमा सम्बोधन गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ। 

के भन्छ प्रहरी?

घटनाबारे नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जारी गरेको समाचार यस्तो छ-
​बीरगंज उपमहानगरपालिका–१९ स्थित नेपाल–भारत सीमाना मितेरी पुलमा मधेशी मोर्चाका कार्यकर्ताले सोमबार प्रहरीमाथि ढुङ्गामुढा गरेपश्चात स्थिति नियन्त्रणमा लिनेक्रममा भएको झपडमा परी वीरगंज उपमहानगरपालिका–११ बस्ने भारतीय नागरिक २५ वर्षीय आषिशकुमार रामको मृत्यु भएको छ ।

झडपमा गोली लागेर घाइते भएका रामको नारायणी उप–क्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रदर्शनकारीले सीमास्थित माइती नेपालको कार्यालय र इनर्वा प्रहरी चौकीमा आगजनी गरेपछि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिन प्रयास गर्दा प्रदर्शनकारीहरु थप आक्रामक भएपछि प्रहरीले बल प्रयोग गर्दा भएको झडपमा रामलाई गोली लागेको थियो ।

साथै प्रदर्शनकारीको ढुङ्गा लागेर ६ जना प्रहरी कर्मचारी घाइते भएका छन् । उनीहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने प्रदर्शनकारीतर्फ घाइते भएका ८ जनाको नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटी गएर स्थितिलाई नियन्त्रणमा लिएको छ 
 

दुःखद घटना : भारतका लागि नेपाली राजदूत

यसैबीच भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रहरीको गोलीबाट एक भारतीय नागरिकको मृत्यु हुनु दुःखद घटना भएको बताएका छन्। भारतको सरकारी समाचार एजेन्सी एएनआईसित कुरा गर्दै राजदूत उपाध्यायले यो विषयमा सम्बन्धित अधिकारीहरुले अनुसन्धान गरिरहेको जनाएका छन्।

उनले यो नेपाल र भारतबीच द्विपक्षीय विषय भएकोले एक अर्कालाई कुटनीतिक हिसाबले सल्लाह गरिने जानकारी दिए। 

कसरी भयो घटना?

वीरगञ्जको नेपाल– भारत सीमामा बसेर धर्ना दिइरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई सुरक्षाकर्मीले एकाबिहानै बल प्रयोग गरी हटाएको थियो। मोर्चाका कार्यकर्तालाई हटाएपछि नेपालतर्फ रोकिएका भारतीय सवारी साधनलाई भारत पठाउन थालियो।भारततर्फ नेपाल आउन रोकिएर बसेका सवारी साधन भने नेपाल आउन पाएनन्। 

प्रदर्शनकारीहरुलाई बल प्रयोग गरी हटाइएपछि बिहान ५ बजे मन्दिर र मस्जिदबाट आन्दोलनमा उत्रन आह्वान भएको थियो। भारतमा चुनाव भएको थियो हिजो चौथो चरणको। त्यसैले बोर्डर सिल थियो। बोर्डर सिल भएकाले दशगजामा आन्दोलनकारी कम थिए। सिल भएको बोर्डर आजदेखि खोल्ने तय थियो।

प्रदर्शन चर्कँदै जाँदा प्रदर्शनकारीले सीमास्थित माइती नेपालको कार्यालय र इनर्वा प्रहरी चौकीमा आगजनी गरे। त्यसपछि लाठिचार्ज, अश्रुग्यास र त्यसपछि गोली प्रहार भयो। स्थितिलाई नियन्त्रणमा लिन त्यहाँ दिउँसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell