PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

को हुन् मारिएका भारतीय नागरिक?



वीरगन्ज : प्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ । 

नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेट नजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच आज दिउँसो भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेमा सीमावर्ती भारतीय सहर रक्सौल– ११ मेनरोडका २० वर्षीय आशिषकुमार राम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। 


मृतक आशिषकुमारका बुबा अशोक राम र मामा रवि राम नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर शव पहिचान गरेका हुन् । आशिष सामान किन्नका लागि वीरगन्ज गएको उनका परिवार स्रोतले जनाएको छ । 

मृतकको साथबाट दुईवटा भारतीय नम्बरको मोबाइल सेट बरामद गरी सोही फोनबाट आफन्तलाई फोन गरेपछि उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । 

स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरे पनि प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्दै साँझ ६ बजेसम्म वीरगन्जका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र प्रदर्शन गरिरहेका थिए । 

अहिले पनि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell