PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहिलोपल्ट बाँदरबाट आहतहरूलाई राहत : बालीमा पस्ने बाँदरलाई कसरी तह लगाउने?



पहिलोपल्ट बाँदरबाट आहतहरूलाई राहत : बालीमा पस्ने बाँदरलाई कसरी तह लगाउने?

  • राजु आचार्य- 

नेपालमा पहिलोपटक बाँदरबाट भएको नोक्सानीको लागि  राहत प्रदान गरिएको छ। लामो समयदेखि रहेको मानव-बाँदर बिचको द्वन्द्वलाई घटाउन यो प्रयास थालिएको हो। शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज अन्तर्गत  गोलढुंगा जितपुरफेदीका स्थानीय(तार्केस्वर नगरपालिका-६)लाई प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले शनिवार राहत वितरण गरे।
  
नेपालमा पहिलोपटक बाँदरबाट भएको क्षति न्यूनीकरण गर्न ६६ जना कृषकलाई राहतस्वरूप १ लाख ९० हजार ५ सय रुपैयाँ प्रदान गरिएको निकुन्जद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार 'हालसम्म नेपालमा १४ किसिमका वन्यजन्तुले क्षति पुर्‍याएमा 'वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९' (दोस्रो  संशोधन) अनुरूप राहत रकम वितरण हुँदै आएको  छ।  उल्लिखित वन्यजन्तुमा हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जं‌गली बँदेल, मगर गोही, अर्ना, गौरीगाई र अजिङ्गर रहेका छन्।' 

उनले थपे 'उक्त सूचीमा बाँदर, दुम्सी लगायतका वन्यजन्तु उल्लेख छैनन्। तर यसका लागि शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले छुट्टै निर्देशिका "मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका, २०७३ " वन तथा वातावरण मन्त्रालय मार्फत पारित गरी यो प्रयासको थालनी गरेको हो।'

प्रमुख संरक्षण अधिकृत कुँवरले यस्तो राहत वितरण वन्यजन्तु संरक्षणको इतिहासमा पहिलोपल्ट भएको दाबी गरे। 'यस्तो राहत इतिहासमै पहिलोपल्ट प्रदान गरिएको हो। गत वर्ष निकुन्जले पहिलोपटक बँदेल र चितुवाले पुर्‍याएको नोक्सानीको लागि राहत वितरण गरेको  थियो,' कुँवरले भने।

तर बाँदर विज्ञ डा. मुकेशकुमार चालिसेले कार्यक्रम आफैमा राम्रो भए पनि पीडितकोमा  राहत पुग्छ कि पुग्दैन भन्नेमा शंका व्यक्त गरे। उनले भने, 'दीर्घकालीन रूपमा द्वन्द घटाउन अध्ययन आवश्यक छ।'  

के यो समस्या ठुलो हो? 


नेपालमा वन्यजन्तु संरक्षणको मुद्दा सुरु भएदेखि नै वन्यजन्तुसँगको द्वन्द्व पनि चर्कदो छ।  नेपालको  कुनै पनि  मानिसको बसोबास भएको (विशेष गरी पहाडी) भूभागमा बाँदरसँगको द्वन्द्व चलिरहेको छ। 
 
ठिक १ वर्ष अगाडी (२०७४ साल जेठ) बाँदरले नोक्सान गरेको अन्न लिएर धादिङ सदरमुकाममा स्थानीयले प्रदर्शनी गरेका थिए। कृषकले बाँदर आतंक नियन्त्रण गर्न, प्रभावकारी विधि खोजीदिन वा बाँदरले पुर्‍याएको क्षतिपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका थिए। यो त केवल प्रतिनिधि घटना मात्रै हो। यसै गरी ओखलढुंगा, उदयपुर, खोटाङलगायतका जिल्लामा स्थानीयहरू अन्नबाली पाकेपछि बाँदरबाट जोगाउन दिनभर बारीमा रुँगेर बस्ने गर्छन्। नेपालभर यो समस्या सबै ठाउँमा छ।
   
हुँदाहुँदा गत निर्वाचनमा यो चुनावी मुद्दासमेत बन्यो।  चुनावमा गरेको वाचाअनुसार भर्खरै धनकुटा नगरपालिका-६ मा ४०० भन्दा बढी बाँदरहरू समातेर स्थान्तरण गरिएको भनेर समाचार प्रकाशनप्रसारण भएको  थियो। कुन ठाउँमा लगेर छोडिएको भनेर बताइएको छैन। भारतदेखि समाउने विज्ञ ल्याइएको समाचारले उल्लेख गरेका छन्। त्यति धेरै बाँदरहरू समाएर कता लगिएको भन्नेबारे 'अधिकारकर्मी'समेत मौन छन्।
 
अनुसन्धानमुलक पत्रिका 'द हिमालयन नेचुरलिस्ट' मा वन्यजन्तु अनुसन्धानकर्मी यादव घिमिरेको लेखअनुसार संखुवासभा जिल्लामा प्रति घर करिब साठी हजार नोक्सानी  बाँदरको कारणले भएको उल्लेख छ।  उक्त अध्ययन मकालु बरुण राष्ट्रिय निकुन्जको  मध्यवर्ती क्षेत्रको ६ वटा गाउँहरूमा  गरिएको  थियो।  उनका अनुसार यो नोक्सानी अन्नबाली र नगदेबालीमा भएको  थियो। 
  

कुन बाँदरले बढी नोक्सानी पुर्‍याछन्?

 
डा. चालिसेका अनुसार नेपालमा ३ वटा बाँदर र ३ वटा लंगुर प्रजाति अभिलेख गरिएका छन्। यिनीहरू सबैले कुनै न कुनै रूपमा मानिसलाई नोक्सानी पुर्‍याउने भए पनि बाँदर बढीमात्रामा जिम्मेवार ठानिएका छन्। तुलनात्मक रूपमा रातो बाँदरले बढी नोक्सानी गर्दछन्। लंगुरहरुले कम नोक्सानी गर्छन्।

के बाँदर बढेको हो त?  

भारतको  हिमान्चल प्रदेशमा विगत १ दशकमा बाँदरको संख्या ५ गुना बढेको अनुमान गरिएको छ। यो वृद्धि फलफुल बगैंचा भएको क्षेत्रमा हो। अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि बाँदर बढेको स्थानीय बताउँछन्।  बाँदर विज्ञ डा. मुकेशकुमार चलिसेका अनुसार रातो बाँदरको अवस्था हेर्दा तिनलाई मेडिकल क्षेत्रमा प्रयोग गर्ने, मनोरञ्जनमा प्रयोग गर्ने आदि गरेर संख्या नियन्त्रण गर्नु आवश्यक भइसकेको  छ।  उनले थपे 'इन्डोनेसियामा त बाँदरलाई तालिम दिएर मानिसको काममा सहयोग समेत गर्छन्।'
 

बाँदरबाट कसरी बच्ने गर्छन् किसान?


बाँदरबाट जोगिन भारतको  हिमान्चल प्रदेशमा कृषकहरूले 'खेती बचाओ आन्दोलन' नामक समूह नै स्थापना गरेका छन्।  प्रदेश सरकारलेसमेत बाँदर मारेबापत पैसा दिन थालेको छ। रोयटर्सका अनुसार उक्त क्षेत्रमा २ लाख बाँदरले तीन अरबभन्दा बढीको क्षति पुर्‍याएको उल्लेख गरेको छ।

दिल्लीमा बाँदरको आक्रमणबाट बचाउन 'कमन वेल्थ खेल' हुँदा सुरक्षाकर्मीका साथै लंगुरलाई तालिम दिएर परिचालनसमेत गर्नु परेको  थियो। 
सरकारको आँखा पुग्ने ठाउँमा स्थानीयवासीले लुकीछिपी पासो वा अन्य तरिकाले मर्ने गर्दछन्। अन्य स्थानमा भने खुला रूपमा मारिन्छन्। १० वर्ष अघिसम्म कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लाहरूका होटेलहरूमा यिनको मासु लेखकलाई खानुहुन्छ भनेर सोधिएको थियो। 
  
नेपालमा गुलेली प्रयोग, टिन बजाउने, आवाज निकाल्ने, बन्दुक प्रयोग, खेतबारीमा मान्छे जस्तै आकृति बनाउने,  पासो आदिको प्रयोग गरेर कृषकहरू यिनको संख्या नियन्त्रणको  प्रयास गर्दछन्। पछिल्ला दिनमा भारतबाट समाउने विज्ञ समेत झिकाइएको छ। यद्यपि नेपालको कानुनले यी कुराहरू गर्न बन्देज गरेको  छ। 
 

सरकारको प्रयास कस्तो छ?


शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जमा गरिएको यो प्रयास पहिलो हो। अन्य संरक्षण क्षेत्रहरूमा विकासका कामहरू दिएर तथा  चेतना शिविरहरू सञ्चालन गरेर पनि यिनको संरक्षण गर्ने प्रयास गरिएको छ। सहभागितामुलक संरक्षणमा सबैभन्दा सफल मानिएको 'अन्नपूर्ण संरक्षण क्षेत्रमा' पनि बाँदर-मानिस द्वन्द्व कम गर्न सफल हुन सकेको छैन। गुनासाहरू आइरहेका छन्, स्थानीयहरू लुकीछिपी यिनलाई मारी रहन्छन्।   
 
बाँदर नोक्सानीको क्षतिपूर्ति दाबी गर्दै राष्ट्रिय कृषक समूह महासंघले ९ असोज २०७३ मा सर्वोच्चमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामाथि २६ माघ ०७३ मा अदालतले परमादेश जारी गरेको थियो। सर्वोच अदालतले कानुन बनाएर बाँदर पीडितलाई क्षतिपूर्ति दिलाउन परमादेश दिएको थियो।  डेढ वर्षपछि अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको थियो।

अन्तमा, बाँदरले कृषकले गरेको मेहनतलाई एकै छिनमा नोक्सान गर्छन्। बजार क्षेत्रमा मानिसलाई चिथरेको, खाना  खोसेको आदि घटनाहरू सामान्य भई सकेका छन्। हामीले विकल्प नदिने हो भने, बाँदर संरक्षणको हाम्रो भाषण स्थानीयले एक कानले सुनेर अर्कोले  उडाई दिने छन्। सरकार तथा संरक्षणकर्मीहरुलाई थाहै नदिई आफ्नै हिसाबले बाँदरलगायत अन्य हानिकारक वन्यजन्तुको संख्या स्थानीय रूपमा नियन्त्रण गरी दिन्छन्। 'राहत वितरण' थुप्रै उपायहरू  मध्यको एक हो। जुन स्वागत योग्य पनि छ। थप विकल्पहरूबारे छलफल गर्नु आवश्यक भई सकेको छ। 
 
-लेखक 'प्रकृतिका साथीहरू' संस्थाका कार्यकारिणी निर्देशक हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell