PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

मोदीलाई ‘अवैध महन्थ’बाट जानकी मन्दिरमा पूजा!



मोदीलाई ‘अवैध महन्थ’बाट जानकी मन्दिरमा पूजा!

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिरमा विशेष पूजाका लागि जनकपुरधाम जाँदैछन्। नेपाल भ्रमणका क्रममा पटनाबाट सीधै जनकपुरधाम पुग्ने मोदीले बिहान सबभन्दा पहिले जानकी मन्दिरमा ‘षोडशोपचार पूजा’ गर्नेछन्।

जानकी मन्दिर परिसरमा प्रधानमन्त्री ओलीले मोदीको स्वागत गर्दै पूजामा जानेछन्। जानकी मन्दिरको सबभन्दा विशेष पूजा मध्येको ‘षोडशोपचार’ जानकी मन्दिरका महन्थ र पूजारीहरुले गराउनेछन्।

रोचक पक्ष यो छ कि, भारतीय प्रधानमन्त्री मोदीको पूजा जानकी मन्दिरका 'अवैध' महन्थ रामतपेश्वर दासले गराउने छन्। त्यहाँ नेपालका प्रधानमन्त्री ओलीसमेत सहभागी हुने सम्भावना छ।

महन्थ रामतपेश्वरले अवैध रुपमा मन्दिर कब्जा गरी विगत १२ वर्षदेखि बस्दै आएको निर्णयसहित गूठी संस्थानले २०७० माघ १७ गते जगदीशदास बैष्णवलाई नयाँ महन्थ नियुक्त गरेको थियो।

रामतपेश्वर दास २०५३ साल साउन २७ गतेदेखि महन्थ छन्। 

गूठी संस्थान ऐन २०३३ को दफा १६ (२०) मा संस्थानले मठ मन्दिरमा बढीमा पाँच वर्षका लागि महन्थ नियुक्ति गर्ने व्यवस्था छ। रामतपेश्वरलाई संस्थानका तत्कालीन प्रशासक विष्णु पोखरेलले १९ वर्षअघि नियुक्तिपत्र दिएका थिए। तर रामतपेश्वरले अहिलेस्म्म मन्दिर कब्जा गरी बसेका छन्।

गूठीको उक्त निर्णयविरुद्ध रामतपेश्वर दास सर्वोच्च अदालतसमेत पुगेका थिए। 

सर्वोच्च अदालतले उक्त मुद्दामा तीन वर्ष पहिले फैसला सुनाउँदै निर्देशिका बनाई नयाँ महन्थ नियुक्त गर्ने आदेश दिएको थियो। पूजा विधिमा ज्ञान भएका आर्यायलाई योग्यताका आधारमा महन्थ नियुक्त गर्न आदेश दिइएको छ। जसमा जगदिश दासलाई प्राथमिकता दिइने भनिएको छ।

तर, अहिलेसम्म प्रक्रियाअनुसार जानकी मन्दिरले ‘वैध महन्थ’ पाउन सकेको छैन।

रामतपेश्वर दासमाथि जानकी मन्दिरको सम्पति हिनामिना गरेको भन्दै अख्यितारले ३३ करोड भ्रष्टाचार गरेको भन्दै मुद्दासमेत चलाएको छ। 

जानकी मन्दिरको सम्पत्ति हिनामिना

महन्थ रामतपेश्वरले आजसम्म जानकी मन्दिरको आयव्ययबारे जानकारी गुठी संस्थानलाई दिएको छैन। संस्थानका अधिकारी जयप्रकाश रेग्मीका अनुसार  महन्थ नियुक्त भएदेखि प्रत्येक वर्ष आयव्ययको विवरण गूठी संस्थानलाई बुझाउनुपर्ने नियम छ। तर महन्थ दासले हालसम्म कुनै आयव्यय विवरण संस्थानलाई उपलब्ध गराएको छैन। 

हालसम्म जानकरी मन्दिर सयौं विघा जग्गा विक्री गरिएको भोजराज पोखरेल आयोगको प्रतिवेदनले देखाएपनि महन्थ दासमाथि कुनै कारबाही भएको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell