PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

जसले टुक्रिसकेका हरिवंशलाई सम्हालिन्



स्वेच्छा राउत

जसले टुक्रिसकेका हरिवंशलाई सम्हालिन्

जिन्दगीको यात्रा अनौठो कोही आउने कोही जाने न हो... 

डाक्टर भोला रिजालको गीतका यी शब्दहरुले रमिला पाठकलाई घत पार्‍यो। फेरि बिहे नगर्ने ११ वर्ष पुरानो सोचलाई उल्टाइदियो। जिन्दगीको नयाँ यात्राका लागि परिवारले पनि साथ दियो। र, २०६९ सालको असारमा दोस्रो विवाह भयो। जीवन साथी बने हरिवंश आचार्य। चर्चित कलाकार। आचार्यले पनि भर्खरै पत्नी गुमाएका। गीतले भनेजस्तै उनको जिन्दगीको यात्राबाट पनि कोही छुटेको थियो। र, कोही जोडिँदै।

नयाँ यात्राका लागि टीकाटालो मात्र के भएको थियो, हरिवंश र रमिला समाचार बने। बिहेको समाचारसँगै उनीहरुबारे टीकाटिप्पणी चलिरहे। तर त्यस्ता गाइँगुईंले असर पार्थ्‍यो भने जिन्दगीको नयाँ यात्रा शुरु नै हुँदैन थियो।
 
आफ्नो अडान भत्काएर दोस्रो विवाहका लागि आफ्नो हृदयलाई मनाएपछि पहिलो अनुमति लिइन् छोरा परिचितसँग। छोराले भने,'मामु दबाबमा आएर निर्णय लिनुभएको होइन भने म सधैं हजुरको खुशीको पक्षमा छु। तर त्यसअघि एकपटक म हजुरको अनुहार हेर्न चाहन्छु।'

पढाईका लागि अमेरिकामा रहेका परिचित नेपाल आए। रमिलालाई भेटे। विवाहको निर्णय कसैको करकापमा नभएको बुझे, सायद। त्यसैले खुशी खुशी आफूले सक्दो सहयोगमा जुटे।
 
'मलाई डर छोराको मात्र थियो। उसलाई अन्याय हुन्छ कि भन्ने डर। उसले नाईं भनेको भए म प्रतिकार गर्दिनथें', रमिला थोरै मुस्कुराउँछिन् र थप्छिन्,'आखिर मैले आफ्नो जिन्दगी नै उसैलाई समर्पित त गरेको थिएँ।' 



***

१७ वर्षकी रमिला। स्वभावले चञ्चल। साथीहरुसँग घुम्नु, फिल्म हेर्न जानु उनको रहर थियो। चारजना दिदी बहिनी, एक दाजुकी कान्छी बहिनी र भाइकी प्यारी दिदी हुनुले पनि उनी मायामा हुर्किएकी थिइन्। आमाले सधैं भन्थिन्- कान्छी छोरीलाई चाहिं धेरै पढाउने। चाँडै बिहे नगर्दिने। यस्तो सुन्दा रमिला दङ्ग पर्थिन्। 

तर आफ्नो बलबुतामा व्यवसाय गर्दै आएको केटोले रमिलासँग विवाहको प्रस्ताव राखेपछि परिवारले बिहेको तयारी शुरु गर्‍यो। रमिलाले 'नाईं' भन्न सकिनन्। 'त्यो समयमा बुवा आमाले लिएको निर्णयको विरोध गर्न गाह्रै थियो', उनी सम्झिन्छिन् विवाहको लागि तम्तयारी हुँदा आफू अलमल्ल परेर हेरिरहेको अवस्था।
 
विवाह भयो र उनी काठमाडौं आइन्। पढाईमा ब्रेक लाग्यो तर खुशीमा लागेन। विवाह भएको १ वर्षपछि छोरा जन्मिएपछिको रौनक बेग्लै। 'तर सधैं समय उस्तै रहन्छ भनेर चाहिं सोच्न नहुने रहेछ', भोगाइले धेरै कुरा सिकाएको रमिलाको आत्मविश्वास र धैर्य निकै सकारात्मक लाग्छ। कुरा सुनाउँदै गर्दा उनको नम्र बोली थप ऊर्जाशील लाग्छ।

त्यो कालो दिन

कामकै सिलसिलामा चन्द्रनिगाहपुर पुगेका उनका श्रीमान् जीवन थापालाई ब्रेन ह्यामरेज भएको खबर अकस्मात् आयो। उपचारका लागि हतार हतार काठमाडौं ल्याइए पनि ढिला भइसकेको थियो। उनी सदाका लागि बिदा भए। जिन्दगीमा सबैभन्दा फराकिलो ठाउँ बनाएको पात्र गुमाएपछि रमिलाले सोचेकी थिइनन् जिन्दगीमा अर्को कोही पति बनेर आउँछन् भन्ने। 'श्रीमान बित्नु भएको ११ वर्षसम्म दोस्रो विवाहको कुरा त के, सोच समेत आएन। मेरो दोस्रो विवाहको निर्णय आफ्नै लागि अप्रत्याशित थियो।' 

एक त समाज उदार थिएन। झन् रमिलामा त छोरोप्रतिको दायित्वबोध उग्र। उनी एक्लैले हुर्काइन्। कक्षा ४ मा पढ्ने छोराको लागि आफ्ना रहरहरु तिलान्जली दिइन्। भर्खर २७ वर्ष लागकी रमिलाका दिनहरु छोराको आँखा छलेर रुँदै बित्न थालेका थिए। उनी चाहन्नथिन् छोराले आफूलाई कमजोर बुझोस्। 'मलाई निकै समय लाग्यो अवस्थालाई स्वीकारेर अघि बढ्नु पर्छ भन्ने बुझ्न। तर जब बुझें तब मैले आफैलाई बलियो बनाए। किनकि मेरो साथ र सहयोगमा सबैजना हुनुन्थ्यो र मेरो छोराको लागि म मात्र थिएँ।' 

जब पीडाको भाव उत्कर्षमा पुग्थ्यो रमिला आफूभन्दा दुःखी कोही सम्झिन्थिन् र मनलाई शान्त पार्थिन्। यसअर्थमा पनि उनले रमाउन सिकेकी थिइन्। छोरा र दिदीहरुका छोरीहरु सबैभन्दा नजिकका साथी बने। 'तर जब उनीहरु हुर्किए पढाई र अरु काममा व्यस्त हुन थाले। म पटकपटक आमासँग गुनासो गर्थें छोराछोरी ठूला भएपछि म एक्लो महसुस गर्दैछु।' तर आमाबुवा, दिदी दाइ वा कसैले पनि उनलाई विवाह गर्ने सुझाव भने दिएनन्। 'मैले भोग्नु परेको पीडा आमाबुवाको आँखामा देख्थें। सँगै मेरो निर्णयप्रतिको सम्मान पनि।' 



***

विवाहको अप्रत्याशित प्रस्ताव

एकदिन रमिला माइजुसँग 'माता'कहाँ गइन्। माताले भनेकी थिइन्- तिम्रो अर्को बिहे हुन्छ। माताले सुनाएको कुराले माइजु त खुशी थिइन्। तर रमिला भने आत्तिइन्। 'म त्यस्तो कुरामा धेरै विश्वास गर्ने मान्छे त थिइनँ तर खोइ किन हो डर लाग्यो', घटना सम्झेर उनी दङ्ग परेको प्रष्ट हुन्छ।

भोलिपल्ट उनकी दिदी उही माताकहाँ जान तयार हुँदा आग्रह गरेकी थिइन्- दिज्जु मेरो बिहे नहुने बनाउन मिल्छ कि मातालाई सोध्नुस् है। 

दिदीले त्यसदिन मातालाई केही सोधिन् कि सोधिनन् रमिलालाई थाहा छैन। तर एकदिन उनी बाहिर भएको दिन दिदीले फोन गरिन्  र सोधिन्,'नानी तँलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य कस्तो लाग्छ?' 

रमिलाले मह जोडीको दशैं, लालपूर्जा, १५ गते लगायत फिल्म/ टेलिफिल्म हेरेकी थिइन्। दोहोर्‍याई दोहोर्‍याई। मनपर्ने कलाकारको नाम सुन्दा उनले नधकाई भनिन्,'राम्रो लाग्छ किन र?' 

दिदीले मख्ख मुद्रामा जवाफ फर्काइन्,'अँ हामीलाई पनि राम्रो लाग्छ। छिटो आउ अनि कुरा गरौंला।' 

हास्य कलाकार बसुन्धरा भुषालले हरिवंश आचार्यसँग रमिलाको विवाहको प्रस्ताव लिएर गएकी रहिछन्। त्यसदिनसम्म आमाबुवा वा परिवारको कसैले राख्न आँट नगरेको प्रस्ताव भुषालले राखिन्। भुषाल र रमिलाको पारिवारिक सम्बन्ध छ। र दुईबीच विशेष निकटता। 'म तयार थिइनँ त्यसैले शुरुमा नाईं भने। आन्टीले उहाँलाई भने मेरो फोटो देखाइ सक्नु भएको रहेछ। मन परेपछि कुरा अगाडि बढाउन पठाउनु भएको', उनले सुनाइन्। 

के ठीक के बेठीकभन्दा बढी दोस्रो विवाहले आफूलाई खुशी दिन्छ वा दिंदैन भन्ने प्रश्न महत्वपूर्ण थियो। आमाबुवाको आँखामा हेरिन्, दिदीहरु र दाजुभाइमा उत्साह देखिन् अनि अन्य आफन्तमा आग्रहको भाव। र हृदयको कुरा सुनिन्,'मैले विवाह गरेर पनि त केही बिग्रिदैन। आखिर मेरोजस्तै पीडा भोग्ने अर्को कोहीको साथी बन्छु।' 

सम्बन्धसँग जोडिएका संयोगहरु 

'हुन्छ बिहे गर्छु' भन्नुअघि उनले केही महिना अघिको घटना सम्झिइन्। रमिलाकी आमा केही पढेर रुँदै थिइन्। आमाले नचाहँदा नचाहँदै रमिलाले खबर पढिन् 'हास्य कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको निधन। उनलाई केही समयअघि देखि मुटुको समस्या थियो।'
 
रमिलाका आँखा भरिए। दुनियाँलाई हँसाएर नाम कमाएका हरिवंशले भोग्नु परेको अवस्थालाई उनी महसुस गर्न सक्थिन्। लागेको थियो,'समयले आफूलाई बाहेक कसैलाई समय दिंदैन रहेछ। हामीले यही सत्यलाई स्वीकार्नु पर्छ। अब केही समय हरिवंशको दैनिकी फेरिने छ।'

उनले आफूले १० वर्ष अघि पति गुमाउँदाको पीडालाई अत्याधिक अनुभूत गरिन् र आमालाई भनिन्,'रोएर के गर्नु आमा? कोही आउला नि उहाँलाई साथ दिन।'

रमिलालाई पनि थाहा थिएन उनी स्वयं हरिवंशको साथी बन्छिन् भन्ने। जसको लागि बसुन्धरा भुषालसँग रमिला र हरिवंश आचार्य दुबै निकट हुनु नै सुन्दर संयोग बन्यो। भाइ बुहारीकी सानी आमा बसुन्धराले रमिलालाई त्यसअघि कहिले पनि विवाहको बारेमा सोधेकी थिइनन्। जब उनले हरिवंशलाई एक्लै देख्न सकिनन् तब मनमनै दुईजनाको जोडी जुराइन् र लमी बनिन्। 

विशेष कुरा त बसुन्धरा र हरिवंश टेलिश्रृङ्खला 'गाउँकी तारा' छायांकनको क्रममा धम्पुसमा थिए। धेरै वर्षपछि मह जोडीसँग उनको सहकार्य। छायांकन अवधिभर रमाइलो हुन्थ्यो। र छायांकन सकिनासाथ हरिवंश एक्लै बसेर टोलाउथे वा रुन्थे। 'आन्टीले उहाँलाई त्यस्तो अवस्थामा देख्न नसकेर विवाह गर्न सुझाव दिनु भएको थियो। धेरै प्रयासपछि उहाँ सकारात्मक सुनिनु भयो र मसम्म प्रस्ताव ल्याउनु भएको रे', उनले खुशी खुशी सुनाइन्। 

रमिलाले सधैं समय र सम्बन्धमा विश्वास गरिन्। त्यसैले जिन्दगीमा घटेका घटनाहरुले उल्का अचम्मको रुपमा लिँदिनन्। 'कसैको हातमा केही नहुने रहेछ। कसले सोचेको थियो र ग्यालेक्सी पब्लिकमा पढ्दा 'स्कूल मेट' रहेका हाम्रा छोराहरु दाजुभाइ हुन्छन् भने', यति सुनाउँदा उनको आँखामा बेग्लै चमक देखिन्छ। भन्छिन्,'यिनै छोराहरुले दिएको साथ त हाम्रो हौसला बन्यो नि।'


 
***

विवाहको दिन सर्वाधिक पीडा

'विवाहको दिन हामी दुबैका लागि सर्वाधिक पीडाको दिन थियो', केही भावुक देखिन्छिन् तर अवस्था बुझाउन चुक्दिनन्,'मेरो घाउ त केही पुरानो थियो। उहाँको त चोट भर्खर लागेको थियो ...'

केही बेर रोक्किइन् उनी।

वातावरण सामान्य बनाउने कोशिश गर्छिन् रमिला। 'दाइको विवाहको फोटो हेर्नुस् न कति निरस छ। फोटो हेर्दै मनमनै सोचेको थिएँ अब यो मान्छेलाई सक्दो खुशी बनाउँछु।' 

रमिलालाई विवाह गरेर भित्रिएको केही समय निकै गाह्रो भएको थियो। हरिवंश भावनात्मक रुपमा त कमजोर भएका थिए नै, व्यवहारमा पनि अस्तव्यस्त। 'तर मैले कहिले पनि हारेर हात उठाएको याद थिएन। उहाँलाई सम्हाल्छु भन्ने अठोट लिएर खडा उत्रिएँ।'

खानाको समय, लगाउने लुगा, सुत्ने आराम गर्ने समयका कुराहरु- उनी आइन् सम्हाल्न, सम्झाउन। जब जब हरिवंश दु:खी हुन्थे, कार्यक्रममा जान मन गर्दैनथे तब तब भन्थिन्,'उहाँहरु हामीलाई दु:ख दिएर जानु भएको हो र? माया नै माया दिएर जानु भएको हो। उहाँहरुको शान्तिका लागि पनि हामी हाँस्नु पर्छ, हँसाउनु पर्छ।'

मीरा आचार्यलाई सम्झिएर रोएका हरिवंशलाई सम्झाउँछिन् र मनमनै भन्छिन्- मीरा दिदी, तपाईंले बनाउनु भएको यो घर सम्हाल्ने मौका मैले पाएको छु। म जिम्मेवार बन्नेछु।

अहिले कार्यक्रम, सभा समारोह अनि स्टेज कार्यक्रमहरुमा हरिवंश आचार्यसँगै अर्को ऊर्जाशील अनुहार देखिन्छ। उनी नहाँसेको अवस्थामा निकै कम भेटिन्छिन्। कतिपटक मन दुख्छ, कतिपटक नराम्रो लाग्छ तर रमिला ती कुराहरुको असर अरु कसैलाई नपरोस् भन्ने लाग्छ। त्यसैले उनी हाँस्न हँसाउन छोड्दिनन्। 

'रिसाउनु हुन्छ, रिस गर्नु हुँदैन', मेरो जिन्दगीका घटना दुर्घटनाले सिकाएको यही त हो। उनी चाहन्छिन् आफ्नो साथ, उपस्थितिले ऊर्जा थपोस् सबैमा। उनलाई लाग्छ पीडा र दु:खको बहानामा विवाह गरेको भए श्रीमान श्रीमती मात्र बन्थे। 'सम्बन्ध मागेर खोजेर पाइएला। तर माया र स्नेह पाइँदैन। मैले धैर्य राख्न र सम्मान गर्न सिकेँ। त्यसैले कसैको जिन्दगीमा यति सुन्दर ठाउँ पाएको छु।'
 
भन्छिन्, 'आज पाएको ठाउँ सुन्दर छ र त जिन्दगीमा लड्न सकिने अरु भिरहरु बारे सतर्क छु।' 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell