PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुन काण्ड : अदालतमा विचाराधीन मुद्दामा पूर्व वरिष्ठ प्रहरी किन सक्रिय?



सुन काण्ड : अदालतमा विचाराधीन मुद्दामा पूर्व वरिष्ठ प्रहरी किन सक्रिय?

काठमाडौँ :  सुन प्रकरणमा सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले केही वरिष्ठ पूर्वप्रहरीहरुले आइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ।
 
आइतबार केही वरिष्ठ पूर्वप्रहरीहरुले भने सरकारको छानबिन निष्पक्ष नभएको र निर्दोष प्रहरी फँसेको दावी एक कार्यक्रममा गरेका थिए। यसरी दावी गर्ने अग्रपंक्तिमा थिए पूर्वडिआइजी रमेश खरेल। 

समितिका संयोजक ईश्वरराज पौडेलले अदालतमा विचाराधीन मुद्दामा बोल्दै हिँड्नु गलत भएको बताए। संयोजक पौडेलले पहिलोपोस्टलाई भने, 'यो अदालतमा विचाराधीन मुद्दा हो। उहाँहरुले मुद्दा प्रभावित हुने गरी नबोल्दा राम्रो हुन्थ्यो। अनुसन्धान फितलो छ कि के छ, सबैले देखेकै विषय हो।'

आइतबार बिहान पाटनको ढोकैमा क्याफेमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वडिआइजी खरेलले सरकारको अनुसन्धान निष्पक्ष नभएको दावी गरेका थिए। 

बिहान ११ बजेतिर भएको कार्यक्रममा सहभागी हुन खरेलसँगै पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी र पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी पनि थिए। पूर्वडिआइजी खरेलले कार्यक्रममा अनुसन्धान प्रभावकारी नभएको बताए पनि पहिलोपोस्टसँगको कुराकानीमा भने यस विषयमा बोल्न चाहेनन्। उनले भने 'अब यस विषयमा थप कुरा नगरौं।'

केही घन्टासम्म चलेको अन्तर्क्रिया कार्यक्रमा सहभागी पूर्वडिआइजी राजेन्द्रसिंह भण्डारीले एसएसपी दिवेश लोहनीलाई संगठित अपराधमा मुद्दा चलाइनु गलत भएको बताए। 

भण्डारीले पहिलोपोस्टसितको कुराकानीमा भने एक काबिल अफिसरलाई यसरी मुद्दा चलाउँदा प्रहरीमा पछि काम गर्ने गाह्रो हुने जिकिर गरे। 

कार्यक्रममा हिमाल मासिकका सम्पादक किरण नेपाल, नारायण वाग्ले, शिव गाँउले, प्रतीक प्रधान, हरिबहादुर थापा लगायतको उपस्थित रहेको सहभागीहरुले बताए। 

छलफलमा सहभागी पूर्वडिआइजी हेमन्तमल्ल ठकुरीले घटना प्रहरीको संलग्नताले संगठनको छविमा असर परेको बताए। उनले भने, अनुसन्धान राम्रोसँग बढिरहेको छ। प्रहरीको संलग्नता के छ भन्ने कुरा अदालतले नै निर्णय गर्ने विषय हो। तर यदि प्रहरीले अन्डर कभर अप्रेसन नै गरेको भए अब यस्ता अनुसन्धान गर्न प्रहरीले रिस्क भने कम लिन सक्छन्।'

संयोजक पौडेलले अनुसन्धान अझै  नसकिएकाले अन्य शंकास्पद व्यक्तिबारे अनुसन्धान समेत भइरहेको बताएका छन्। पौडेलले प्रमाण बिना अदालतले कसैलाई पूर्पक्षमा नपठाएकाले प्रमाण पुष्टि भएको समेत दावी गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell