काठमाडौं: नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसले संसदमा सत्तपक्षले झैं नीति तथा कार्यक्रम र बजेटको स्वागत गरिरहेको आरोप लगाएका छन्। कम्युनिष्ट सरकारले जनभावना विपरित नीति तथा कार्यक्रम, बजेट ल्याउँदा ताली बजाएर स्वागत गरिरहेको आरोप लगाएका हुन्।
आज नेपाल विद्यार्थी संघ प्रदेश ३ ले काठमाडौंको बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, 'सत्तामा बस्दै आएकाले होला कांग्रेस अहिले पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेट पनि परर ताली बजाएर स्वागत गरेर बस्छ।'
कम्युनिष्ट सरकारले दुईतिहाईको बल देखाउँदै महंगी बढाइरहेको र जनतामाथि निर्मम प्रहार गरेको उनले बताए। यस्तो अवस्थामा कांग्रेसले सदनमा बलियो उपस्थिति जनाउन नसकेको उनको दाबी थियो। अन्तरार्ष्ट्रिय रुपमा मुल्य घट्दा नेपालमामात्र भाउ बढेको उल्लेख गर्दै उनले यो सरकार अधिनायकवादी भएर आएको आरोप लगाए।
कांग्रेस कुनै सानो पार्टी नभएको उल्लेख गर्दै पौडेलले सच्चिनका लागि जनताले अवसर दिएको र सच्चिएर गएमा अर्कोपटक ठुलै पार्टी हुने दाबी गरे।