PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

ने क पाको पहिलो स्थायी समिति बैठकमा के के भयो निर्णय ? 

ने क पाको पहिलो स्थायी समिति बैठकमा के के भयो निर्णय ? 


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी सञ्चालनका लागि तयार भएको नियमावलीको मस्यौदामा छलफल भएको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको मस्यौदा माथि छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मस्यौदा अध्ययनका लागि स्थायी समितिका सदस्यहरुलाई दिइएको छ। 

स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय–सुझावहरु दिने र केन्द्रीय सचिवालयले ती राय–सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५  दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने निर्णय आजको बैठकले गरेको श्रेष्ठले बताए। 

यसैबीच बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको असार ५ गतेदेखि हुन लागेको चीनको राजकीय भ्रमणका विषयमा समेत छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री ओली र स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमणका बारेमा जानकारी गराएका थिए। 

भ्रमणलाई दुई देशबीचको आपसी हितका पक्षमा केन्द्रित गराउने गरी तयारी भइरहेको प्रधानमन्त्री ओलीले स्थायी समितिलाई जानकारी गराएका थिए। 

यसैबीच बैठकमा पार्टीका दुबै अध्यक्षहरुले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता र जनसमुदायमा पैदा भएको उत्साहलाई आत्मसात गर्दै पार्टी निर्माणमा जुट्न निर्देशन दिएका थिए। 

‘बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै सांगठिक एकीरकणको प्रक्रियालाई छिटोभन्दा छिटो अघि बढाउने निष्कर्ष निकालेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने। 

त्यस्तै बैठकले सरकारका कामहरुको जनस्तरमा राम्रो प्रभाव परिरहेको निष्कर्ष समेत निकालेको छ। 

बैठकमा महासचिव पौडेलले एकतापछि भएका सांगठनिक कामहरुका बारेमा जानकारी गराएका थिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell