PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कौशीबाट थिएटरको आयाम छुने 'आकांक्षा'



स्वेच्छा राउत

कौशीबाट थिएटरको आयाम छुने 'आकांक्षा'

म सात वर्षको थिएँ, अबोध बालकै थिएँ, 
कुनै कुरा थिएन थाहा, मस्त निदमा थिएँ, 
मलाई घच्घच्याउँदै, उठाउँदै, 
'ल हिँड्' भने अघोर मध्य रातमा 
धुरुधुरु रुँदै गएँ 

कक्रक्क परेर सुकेको बुढो रुखको जरा। जरामुनिको जमिनमा आमाको चिहान। जरामाथि टेकेर आफ्नी आमालाई अस्तु दिइरहेको एउटा मान्छे। पृष्ठभूमिमा मधुर संगीत अनि अधिश्री ढुङ्गानाको आवाजमा भीमनिधि तिवारीको कविता दागबत्ती।
 
नाटक 'दयालु रुख' यसरी सुरु हुन्छ। 



काठमाडौंको टेकुमा सुरु भएको नयाँ ‘कौशी थिएटर’ र थिएटरको पहिलो प्रस्तुति ‘दयालु रुख'। नाटकघर र नाटक दुवैको ‘क्याप्टेन’ हुन् आकांक्षा कार्की। 

आकांक्षा नाटकको सुरुवाती दृश्यमा देखिने उक्त पात्र जस्तै गरी उभिएकी छिन् - आर्थिक रुपमा जरजर परेको नेपाली रङ्गमञ्चको बीचमा। 
नाटकमा सुकेको जराबाट नयाँ पालुवाहरु पलाएको दृश्य देखाइन्छ। देखिएका दृश्यहरुलाई आकांक्षाका उद्देश्यहरुसँग जोडेर हेर्दा, उनको आशा पनि धेरै ठूलो होइन। रङ्गमञ्चमा पलाउन सक्ने नयाँ पालुवाहरुलाई उस्तै गरी सम्भावित ठाउँ देखाउनु हो। अर्थात् गुरुकुल, थिएटर भिलेज, थिएटर मल आदि भत्कनुको कारणभन्दा माथि रहेका अवसर र सम्भावनाको नयाँ जग खन्नु हो। 

मिति २०७५ असार ८ गते। 

कौशी थिएटरको उद्घाटनले केही उत्साहित र केही नर्भस थिइन् आकांक्षा। शुभकामना तथा बधाइ मन्तव्य दिने क्रममा नाट्यकर्मी लुनिभा तुलाधरले भनिन्- 'हाम्रो समयमा रङ्गमञ्चमा बिग्रेका केटीहरुले मात्र काम गर्छन् भनिन्थ्यो। त्यसैले महिला कलाकार कम हुन्थे। महिलाको भूमिका पनि पुरुष कलाकारले नै निर्वाह गर्नुपर्थ्यो।’

लुनिभाको अनुभव सुनेकी आकांक्षा अभिनयमा आफ्नो सुरुवाती दिन सम्झन्छिन्। कक्षा ४ मा पढ्दादेखि नाटकमा अभिनय गरिन् उनले। आफूले प्राय केटाको रोल गरेको उनलाई याद छ। भन्छिन्, ’स्कूलको मञ्चमा र रङ्गमञ्चको अवस्थामा पक्कै फरक थियो। लुनिभा दिदीहरुले जे भोग्नु भयो मैले ठ्याक्कै फरक अनुभव बटुलेँ।’ 


केटाको रोल गर्दै आकांक्षा (बीचमा)। फोटो : आका‌ंक्षाको फेसबुकबाट

उनलाई परिवारले कहिले पनि नाटक नगर् भनेन। नाटक गरे बिग्रेको भइन्छ भन्ने पनि स्कूलले सिकाएन। केटा बनेर मञ्चमा प्रस्तुत हुनुलाई उनी स्वयंलाई अनुचित लागेन। आकांक्षाले नाटकलाई नजिकबाट हेर्ने मौका पाइन्। ‘रङ्गमञ्चमा मात्र होइन समाज, घर सबैतिर महिलालाई गाह्रो थियो र अहिले पनि छ। तर, मेरो घरको हकमा वातावरण केही फरक थियो। समाजको ट्रेन्डभन्दा केही रिभर्स। आमा ‘ब्रेड विनर’। अनि छोरी भएर गर्न हुने/ नहुने कुराहरु सिकाइएन,’ यो सबै सुनाउँदा आकांक्षा दङ्ग सुनिन्छिन्। परिवार बुझ्ने हुनुले आफूलाई सधैं मन परेको काम गर्न हौसला मिलेको उनको विश्वास रह्यो।  

ए लेभल्समा साइकोलोजी, सोसोलोजी र इङ्लिस लिट्रेचर लिएर पढेकी उनले ब्याचलर्समा पफर्मिङ आर्टलाई मेजर सब्जेक्ट बनाइन्। पढ्नका लागि इन्डिया पुगेकी उनको पढाई र सँगै लिएर हिँडेको रङ्गकर्मको समर्थनमा थियो परिवार। काम देखेर खुशी युनिभर्सिटीका गुरुहरुले उनलाई ब्याचलर्सपछि पनि थिएटरलाई निरन्तरता दिन सुझाए। जसको लागि उत्कृष्ट ठाउँ बन्न सक्थ्यो नेसनल स्कूल अफ ड्रामा। तर, यसपटक परिवार साथमा रहेन। 

‘पढुन्जेल ठीक छ। अब काम चाहिँ केही टेक्निकल फिल्डमा नै गर न। थिएटरलाई पेशा नबनाउने सुझाव दिनु भयो,’ उनी सुनाउँछिन्। 

साइकोलोजीमै मास्टर्स गरेकी उनलाई आजसम्म लाग्छ – ‘त्यो बेला आजजस्तै जिद्दि भएको भए, एनएसडी गएको हुन्थेँ। थिएटर नै पढ्दै हुन्थेँ। तर, आमाबुवाको सुझाव निर्णय पनि गलत त हुँदैन भन्ने सोचेँ र मास्टर्स गरेर नेपाल फर्किएँ।’ 

सानो बजार, सीमित दर्शक, लेखकको रोजाइमा नाटक नपर्नुको बाबजुद पनि भइरहेको काम। सन् २०१६ मा नेपाल आएपछि उनले बुझिन्, थिएटरलाई प्रोफेसन बनाउन मोल्नु पर्ने रिस्कबारे। परिवारले थिएटरमा करियर नदेख्नुको कारण बुझ्दै थिइन्। 



आएर साइकोलोजिस्टको रुपमा काम थालेकी उनले थिएटरलाई कहाँ टाढा राख्न सक्थिन् र? इन्डियामा ८/ १० वटा नाटक निर्देशन गरिसकेकी उनले रिस्क लिएरै यता पनि निर्देशनमा हात हालिन्। 

‘यताको थिएटरसँग प्रत्यक्ष रुपमा जोडिएपछि हामी कति सतहमा काम गरिरहेका छौं भन्ने महसुस गरें,’ उनले भनिन्। 

यसबीचमा उनले ‘भजाइना मोनोलग’, ‘लाइन’ र शुशिला आर्टस् एकेडेमीका लागि केही नाटक निर्देशन गरिसकेकी थिइन्। उनलाई अन्य थिएटरमा हेरेका केही नाटकमात्र नभएर आफ्नै काम पनि औसत भन्दा तलको लाग्यो। जसले न व्यक्तिगत विकासमा सहयोग पुग्थ्यो न रङ्गमञ्चलाई केही योगदान। नाटकको सङ्ख्या बढ्नुले मात्र केही हुनेवाला थिएन। भन्छिन्, ‘यस्तो बेलामा निर्णय गर्न, ठीक बेठीक छुट्याउन निकै गाह्रो हुने रहेछ। नेपाल आएपछिको एक वर्ष म यस्तै अवस्थाबाट गुज्रिएँ। केही प्रोडक्टिभ भइरहेको थिएन।‘ 

आकांक्षाले दुईवटा विकल्प देखिन्- एउटा अवसर खोज्न विदेशिने र अर्को अवसर सिर्जना गर्ने, आफू र आफूजस्तै अरुको लागि पनि। परिवारको प्राथमिकता विदेश जानु नै थियो। तर, केही समयको कार्य अनुभव र बटुलेको हौसलाका कारण उनले सम्भावना पनि देखेकी थिइन्। उनले अवसर सिर्जनाको बाटो रोजिन्। 

र, बन्यो ‘कथा घेरा’को कन्सेप्ट। 



‘कथा सुन्ने र सुनाउने उद्देश्यका साथ चौतारी नाटक (प्लेब्याक थिएटर) सुरु गर्‍यौँ। जहाँ भनिएको कथालाई नाटकमा रुपान्तर गरेर मञ्चन हुन्छ,‘ भनिन्। रिहर्सल र अन्य तयारीका लागि कथा घेरा टिमलाई खाली ठाउँ चाहिएको थियो। परपर ठाउँ खोज्दा नभेटिएपछि उनले आफ्नो घरको कौशीलाई सिक्ने सिकाउने उपयुक्त ठाउँ देखिन्। 

यतिन्जेल गरेको काम र कमाएको वाहवाही देखेका आमाबुबा छोरीले थिएटर रोज्नुप्रति सकारात्मक भइसकेका थिए। त्यसैले कौशी प्रयोगका लागि अनुमति पाइन्। तयारी सुरु भयो। 

‘रिहर्सलका लागि संरचना तयार हुँदै गर्दा नाटकघर नै किन नबनाउने? भन्ने भयो,’ आकांक्षा आफूले सधैं घाम ताप्न बस्ने ठाउँ कौशीबाट कौशी थिएटरमा परिवर्तन हुँदै गर्दाको समय सम्झन्छिन्। 

अलिकति बढी समय लाग्ने भयो। ऋण केही थपिने भयो। केही थप मान्छे खटिनुपर्ने भयो। यो सब सोचहरुले जित्नुभन्दा पहिले ‘केही गर्नु छ’ भन्ने होडले टाउको उठायो। सुरुवातदेखि साथ दिइन् गुञ्जन दीक्षितले। प्लेब्याक, ब्याक स्टेजसाथै अभिनयमार्फत् रङ्गमञ्चमा सक्रिय छिन् गुञ्जन। दुवैलाई साथ र सहयोग रह्यो परिवारको, साथीभाइको र रङ्गकर्मीको। नाटकघर बन्ने भयो। कलात्मक प्रयोग, सिकाइ/ग्रुमिङ, आत्ममूल्याङ्कन र प्रस्तुतिका लागि नयाँ ठाउँ बन्ने भयो। 

‘कौशी थिएटर’ उद्घाटन भयो। आकांक्षा जत्ति नै खुशी छन् उनका आमाबुबा पनि। 

‘उहाँहरुको सहयोगबिना यो सब सम्भव हुने थिएन। तर, घरमा थिएटर खोल्नुकै कारण मलाई पटकपटक ‘लक्की’ भनिनु चाहिँ उचित लागेको छैन,’ उनी प्रश्न गर्छिन्,’म छोरी भएर पनि बाबाको घरमा थिएटर खोलेँ भनेर लक्की हुँ? यदि म छोरा हुन्थेँ र यही स्पेसमा पुल वा क्याफे खोल्थेँ भने चाहिँ त्यो मेरो अधिकार कहलिन्थ्यो होला होइन?’ 

उनी छोरी भएर ‘लक्की’ कहलिनुमा मात्र होइन ‘महिला भएर थिएटर खोलेँ’ भनिनुमा पनि गर्व महसुस गर्दिनन्। समाजमा सकारात्मक संदेश प्रवाह र प्रेरणाका लागि आफूहरुको मिहेनत उदाहरण बनोस्। तर, सधैं चर्चाको विषय नबनोस् भन्ने उनको चाहना हो। भन्छिन्, ‘कौशी थिएटर महिलाहरुले होइन युवा रङ्गकर्मीले स्थापना गरेको भन्दा हामी बढी खुशी हुन्छौं।’



अनुशासन, सकारात्मक परिवर्तन र ऊर्जा यस्तै कुराहरु सिकाउने थिएटरबारे यस क्षेत्रमा जोडिएका र जोडिन आउने हरेकले अझै धेरै बुझुन् भन्ने चाहन्छिन् उनी। भन्छिन्, ‘थिएटर अभिनय मात्र होइन नि।’ 

‘ग्ल्यामर’ र देखिनु बाहेक थिएटरका अन्य आयामप्रति रुचि नहुनुले धेरैले थिएटरलाई देखेको तर नबुझेको जस्तो लाग्छ उनलाई। 

‘विदेशमा थिएटर पढाई हुन्छ। लाइट, म्युजिक कम्पोजिसन सिकाइन्छ। तर, हाम्रोमा बाहिर देखिने कुरामात्र केन्द्रमा राखिन्छ। भएका ४/५ वटा थिएटरमा कुल ४ जना होलान् लाइट मजाले चलाउने,’ आकांक्षा असन्तुष्ट सुनिन्छिन्। 

नाटकको सङ्ख्या बढेर पनि मेकिङमा ध्यान नदिइनु, अभिनय गरेर पनि कलाको पाटोमा जोड नदिनु, कलाकार धेरै भए पनि प्राविधिक नहुनुले हामी कहाँ पुग्छौं भन्ने प्रश्नमात्र उब्जाउने उनको तर्क छ। 

आकांक्षा स्वयं भने मेकिङमा मिहेनत गर्न रुचाउँछिन्। कौशी थिएटरको उद्घाटन नाटक ‘दयालु रुख’लाई उनैले निर्देशन गरेकी हुन्। अमेरिकी बालकथा ‘द गिभिङ ट्री’को नेपाली भावानुवादमा उनको मिहेनत प्रष्ट झल्कन्छ। छन्द कविता र प्रत्यक्ष संगीतको प्रयोगले विदेशी कथालाई हाम्रो परिवेशको बनाएको छ। 

भीमनिधि तिवारीको ‘दागबत्ती’ वाचनबाट सुरु हुन्छ नाटक। 
चिता थियो, प्रशस्त दाउरा बिछान झै थियो, 
ऊ माथि एक लम्ब लाश लम्पसारमा थियो, 
सफेद वस्त्र ओढनी, सिरान केशको थियो, 
त्यही पवित्र मूर्तिमा अनन्त कामना थियो।। 

त्यस्तै केन्द्रीय पात्रको बालपन झल्काउन रमेश खकुरेलको ‘चन्चले’ कविताको प्रयोग गरिएको छ। परिवेश र घटना अनुसार माधवप्रसाद घिमिरेको ‘वन जीवन्त मानिस’, कलनाथ अधिकारीको ‘आइजो निदरी’ लगायत कविता गायिकासँगै रुख बनेर उभिएका कलाकारले गाउँछन्।कलाकारसँगै दर्शक बाँधिन्छन्। गुन्गुनाउँछन्। संगीतको तालमा जिउ यताउता गर्छन्। 

नाटक कलात्मक लाग्छ। जहाँ दिएर नथाक्ने रुखको कथा भनिन्छ। नाटकका कलाकारहरुको कथाको रुखजस्तै लाग्छन् जसले नेपाली रङ्गमञ्चबाट थोरै लिएर रङ्गमञ्चलाई धेरै दिने उद्देश्य बोकेका छन्। 

सो पछिको सन्तुष्टि उनीहरुको मुहारमा झल्कन्छ। सबैलाई हेरेर आकांक्षा भन्छिन्, ‘जति सक्छु त्यति पैसा दिन्छु। थोरै भए पनि। आखिर कलाकार, भोलन्टर्स सबैलाई यो क्षेत्रमा लाग्न मोटिभेट गर्ने हामीले नै त हो।’ 

नाटकको कलात्मक र व्यवसायिक पाटो उत्थान र प्रवर्द्धनका लागि आकांक्षा, गुञ्जन र कौशी थिएटर टिमले उठाएको कदम सराहनीय छ। यसलाई सफल बनाउन दर्शकको योगदान पनि खाँचो छ। 



कौशी थिएटर र यसको पहिलो प्रस्तुति हेर्दैगर्दा दर्शको मनमा प्रश्न सिर्जना हुनसक्छ- के हामी दर्शक नाटकको केन्द्रीय पात्र (बालक) जस्तो त भएका छैनौं? जो रुखबाट लिन्छ तर रुखलाई दिन सक्दैन। 

यसबारे आकांक्षा भन्छिन्, ‘यसमा कमजोरी एउटा पक्षको मात्र छैन। हामीले लायक सामाग्री बनाउनु पर्छ अनि दर्शकले विश्वास गर्छन्। र बिक्न र टिक्नका लागि हामी गिभिङ ट्री बन्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell