PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

सञ्जय दत्तको जीवनमा आधारित फिल्म 'सञ्जु'लाई काठमाडौँका मल्टिप्लेक्सहरुले किन गरे बहिस्कार? 



सञ्जय दत्तको जीवनमा आधारित फिल्म 'सञ्जु'लाई काठमाडौँका मल्टिप्लेक्सहरुले किन गरे बहिस्कार? 

काठमाडौँ : भारतीय कलाकार सञ्जय दत्तको जीवनमा आधारित बहुप्रतीक्षित हिन्दी फिल्म ‘सञ्जु’ काठमाडौँका अधिकांश मल्टिप्लेक्समा रिलिज भएन। 

राजधानीमा सबैभन्दा बढी हलको नेटवर्क भएको क्युएफएक्सका पाँच वटा मल्टिप्लेक्स ठमेलको छायाँ सेन्टर, पाटनको लबिम मल, सुन्धाराको सिभिल मल,  कुमारी र जय नेपालमा शुक्रबार चार वटा हलिउड फिल्म र दुई हप्ताअगाडिको रेस ३ मात्र देखाइएको छ। शनिबार भने रेस थ्रीका कुनै शो रहेको जानकारी शुक्रबार दिउँसोसम्म क्युएफएक्सको वेबसाइटमा राखिएको छैन। 

चार वटा हलिउड फिल्मका पनि केही शोहरु मात्र भोलिका लागि राखिएका छन्। सबैभन्दा धेरै शो हुने तीन वटा हल भएको क्युएफएक्स सिभिल मलमा शनिबार कुन फिल्म लाग्ने शुक्रबार दिउँसोसम्म वेबसाइटमा जानकारी छैन। सामान्यतया क्युएफएक्समा केही दिनअघिदेखि नै बुकिङ खुला हुने गर्छ। 

त्यसैगरी कमलपोखरीको बिग मुभिज, गोंगबुको बिएसआर मुभिज र चाबहिलको एफक्युबमा पनि ‘सञ्जु’ लागेको छैन।

आखिर सबैभन्दा बढी शो र व्यापार हुने सप्ताहान्त शुक्रबार र शनिबारमा आफ्ना हलै खालीसमेत हुने गरी किन मल्टिप्लेक्सहरुमा सञ्जु रिलिज भएन त?

फिल्म वितरण कम्पनी र हल सञ्चालकबीच कुरा नमिलेपछि मल्टिप्लेक्सहरुमा सञ्जु रिलिज नभएको हो। सञ्जुलाई गोपिकृष्ण मुभिजले नेपाल राइट्स किनेको छ। 

मंगलबार, बुधबार र बिहीबार मल्टिप्लेक्सले दर्शकलाई दिंदै आएको टिकटमा सहुलियत सञ्जुका लागि उपलब्ध गराउन नपाउने वितरकको माग हो। मल्टिप्लेक्स उक्त माग सम्बोधन नगर्ने निर्णय गरेपछि ‘सञ्जु' नलागेको हो नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपीलकाजी कायस्थले बताए। उनका अनुसार शनिबार वितरक र हल व्यवसायी बीच विषयमाथि बैठक बोलाइएको छ। 

सञ्जुको नेपालका लागि आधिकारिक विक्रेता गोपिकृष्ण मुभिज हो। काठमाडौं भित्रका लागि गोपिकृष्णले नै फिल्म वितरण गर्छ भने मोफसलमा मनोज राठी वितरक हुन्। ‘व्यवसायिक कुरा नमिलेको हो। सानो कुरालाई ठूल विवादका रुपमा प्रस्तुत गरिदैंछ’, मनोज राठीले पहिलोपोस्टसँगको फोन वार्तामा बताए। 

केही समाचारहरुमा ‘सञ्जु’ प्रदर्शनमा चौधरी ग्रुपको संलग्नता रहेको जानकारी दिइए पनि यो विषयमा सिजी ग्रुप नजोडिएको समेत उनले प्रष्ट पारे। भन्छन्,’पहिलो साताको विकडेज सहुलियत नदिन माग गरेका हौं। फिल्मको नेपाल राइट्स पनि केही महङ्गो भएकाले। अरु केही होइन।’ 
उनले यो विवादलाई चर्को बनाउनुले वितरक मात्र नभएर हल संचालकलाई पनि असर गर्ने तर्क राखे। भन्छन्,’व्यवसाय हाम्रो मात्र होइन। सतर्क हुनु र मिलेर अघि बढ्नुले दुबै पक्षलाई ठीक गर्छ।’

काठमाडौँका अरु मल्टिप्लेक्सहरु मध्ये राइजिङ मलको क्युज सिनेमामा मात्र सञ्जु लागेको छ। क्युज सिनेमाका सुमित मैनालीका अनुसार भने ‘सञ्जु’ प्रदर्शन विवादमा आउनुको अन्य कारण रहेका छन्। उनले बताए अनुसार ' दुई साताअघि सलमान खान स्टारर बलिउड फिल्म 'रेस थ्री'को प्रदर्शन ताका काठमाडौंका अधिकांश मल्टिप्लेक्सले फिल्म उतारेका थिए। तर क्यूजले भने सम्झौता भएको समयसम्म फिल्म प्रदर्शन गर्‍यो जसका कारण उनको हलले सञ्जु प्रदर्शनमा लफडाको झेल्नु परेन। भन्छन्, सक्दो चाँडो वितरक र हल सञ्चालकले वार्ता गरे दर्शक र हामी दुबै पक्षलाई राम्रो हुन्छ।’


क्युजको वेबसाइटमा मंगलबारको दिन शोहरुमा हुने छुट ‘कारणवश’ हटाइएको जानकारी पनि राखिएको छ। 

के भन्छ क्युएफएक्स?

क्यूएफएक्सका अपरेसन म्यानेजर सुरेन्द्र थापाले 'सञ्जु' वितरकले टिकट सहुलियतमा छुट नगर्न माग राखे पनि दर्शकलाई प्रभाव पर्ने भएकोले वितरकका शर्त स्वीकार नगरेको बताए।

उनले भने 'जो डिस्ट्रिब्यूटर हो, उहाँहरुले कतिपय सर्तहरु राख्नुभएको छ। अलि अगाडि नै सर्तहरुबारे जानकारी गराउनु भएको भए, हलहरुले पनि आफ्नो दर्शकलाई दिंदै आइरहेको सुविधा कटौती हुँदैछ भनेर जानकारी दिन सजिलो हुन्थ्यो। एक्कासी यस्तो सर्त आएपछि हामीले 'सञ्जु' लगाएनौँ हलमा।'

'सञ्जु वितरकले सहुलियत कटौती गर्दा आफूलाई पैसा कम आउँछ भन्ने कुरा गरेका थिए। हलको टिकट सहुलियत हाम्रा कस्टमरलाई दिइने सुविधा हो', उनले थपे।

दुई बजेबाट सञ्जु चल्छ भन्ने हल्ला मात्र रहेको उनले बताए। अरु हल सञ्चालकलाई यस्ता शर्त चित्त बुझे पनि क्यूएफएक्सलाई चित्त नबुझेको बताए। 'सिभिल, बिग, एफक्यूब, बिएसआरलाई चित्त बुझेन' उनले भने। वितरकसँग यसबारे कुनै बैठक अहिलेसम्म नबसेको पनि उनले बताए। 

मल्टिप्लेक्सहरुले बहिस्कार गरेपछि सञ्जु वितरक कम्पनीकै हल गोपीकृष्ण र विश्वज्योति जस्ता सिंगल थियटरहरुमा मात्र लागेको छ। 
राजकुमार हिरानी निर्देशित फिल्ममा रणवीर कपूरले सञ्जय दत्तको अभिनय गरेका छन् भने मनीषा कोइरालाले उनकी आमाको। फिल्ममा अनुश्का शर्मा, दिया मिर्जा लगायतको अभिनय रहेको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell