PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

रोल्पामा घर पुरिँदा एउटै परिवारका तीन र कैलालीमा घर भत्किँदा एकको मृत्यु



रोल्पामा घर पुरिँदा एउटै परिवारका तीन र कैलालीमा घर भत्किँदा एकको मृत्यु

रोल्पा: घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ। 

रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। 

तीनैजनाको शव परीक्षणका लागि होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घट्नास्थल सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ। रासस
 

घर भत्किँदा एक जनाको मृत्यु

 

धनगढी: गएरातिदेखिको अबिरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा घर भत्किँदा एक परिवारको च्यापिएर एक महिलाको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले गोदाबरी नगरपालिका–९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर गएराति भत्किँदा उनकी श्रीमती ६० वर्षीया डुठा रानाको च्यापिएर घटनास्थलमै मृत्यु भएको जानकारी दिए। 

राति सुतिरहेको अवस्थमा अचानक कच्ची घर भत्किएको थियो। घटनामा घाइते रानाको अवस्था खतरामुक्त रहेको छ। 

अविरल वर्षाका कारण कैलाली जिल्लाका नदी तथा खोलामा पानीको सतह रातिको समयमा बढेको भए पनि आज मध्यान्हसम्म खतराको अवस्थामा नरहेको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख एपी चौरसियाले बताए। 

अझै ठूलो वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा बस्ने बासिन्दाले सतर्क अवस्थामा बस्न आग्रह गरिएको चौरसियाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell