PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अर्जेन्टिनाको जर्सी लगाएर ब्राजिलको समर्थन : दीपकराज गिरी



स्वेच्छा राउत

अर्जेन्टिनाको जर्सी लगाएर ब्राजिलको समर्थन : दीपकराज गिरी

सन्दर्भ सन् २०१४ को विश्वकपको। नेपाल टेलिभिजनमार्फत् हाँस्य टेलिश्रृङ्खला 'तितो सत्य' चलिरहँदा ब्राजिलमा वर्ल्डकप जारी थियो। सिरियलका मुख्य दुई पात्र दीपक र दीपाका लागि भने विश्वकप कथाका लागि राम्रो खुराक बन्यो। 

दीपा ब्राजिल समर्थक र दीपक अर्जेन्टिना। हाँस्य टेलिश्रृङ्खलाले फुटबल सम्बन्धि प्रसङ्ग जोडेर कथा बनाउनु मनोरञ्जनात्मक थियो। सामाजिक सञ्जालमा ट्रोलको ट्रेन्ड अहिले जस्तो चर्को भइसकेको थिएन। त्यसैले पनि टिभीमा आउने त्यस्ता कार्यक्रमहरुले दर्शक आकर्षित बनाउथ्यो नै। 

'तर यस पटक आफै ट्रोलको सिकार भइयो,' दीपकराज गिरीले भने।

दर्शक हसाउने बाहेक यथार्थ जीवनमा पनि दीपकराज गिरी अर्जेन्टिनी फुटबल टिमको फ्यान। अझ भनौं मेस्सीको खुङ्खार समर्थक। अर्जेन्टिनाको कुनै पनि खेल उनी छुटाउँदैनन्। 

विश्वकप फूटबल २०१८ मा उनले समर्थन गर्ने टिम अर्जेन्टिना प्रिक्वाटर फाइनलबाटै बाहिरिएपछि सामाजिक सञ्जालमा देखिएको ट्रोलले उनलाई दिक्क बनाएको छ। 

'सबै रमाइलोको लागि हो। तर, जे भए पनि आफूले समर्थन गरेको टिम हो। त्यसमाथि मेस्सीमाथि मात्र दोष थुपारिँदा नमीठो लाग्ने रै’छ,' दीपकराजले सुनाए। 

यस पटक अर्जेन्टिनाले राम्रो खेल प्रदर्शन गर्न नसकेको चाहिँ स्विकार्छन् उनी। भन्छन्, 'हारे पनि फ्रान्ससँगको भिडन्त हेर्न लायक थियो। नराम्रो खेले भन्न पर्ने थिएन।'

त्यसअघिका केही खेल भने कमजोर लागेकाले 'क्वाटर फाइल'बाट बाहिरिने अनुमान उनले गरेका थिए। 

'तर, प्रि-क्वाटर फाइनलमै आउट भयो,' हास्दै थपे, 'सबै प्रेडिक्सन कहाँ मिल्छ र?' 

आउट भए पनि उनी अर्जेन्टिनाको जर्सी लगाएर अन्य म्याचहरु हेर्छन्। भन्छन्- ‘अब कुनै पनि देशको समर्थन वा विरोधमा चाहिँ छैन।’ 
किन? 

'गर्लफ्रेन्डले छोडेर जाने बित्तिकै अर्को खोज्नु? डिप लभ त एकपटक मात्र हुन्छ नि। अरुलाई साथीमात्र बनाउने हो,' उनले कुटनीतिक जवाफ दिए। दीपक आफू परिपक्व फूटबल दर्शक भएको तर्क राख्छन्। आफूले समर्थन गरेको टिम हार्नुलाई खेलको मजा भन्छन्। र, राम्रो खेल्ने अर्को टिमलाई राम्रो भन्न पनि हिच्किचाउँदैनन्। यसपटक ब्राजिल उनलाई विश्वकप दाबेदार लागेको छ। भने, 'सुरुवात कमजोर थियो। तर पछिल्लो खेलमा ब्राजिल सुध्रिएको देखिन्छ।' उनलाई स्ट्राइकिङ र डिफेन्ड दमदार लागेको छ। 

सुरुवाती दिनमा देखिएको रौनक केही कम भए पनि गिरी निवास पनि विश्वकपमय भएको छ। दीपकराजका जेठा छोरा ब्राजिलको र कान्छो छोरा जर्मनीका फ्यान। अर्जेन्टिना र जर्मनी खेलबाट बाहिरिएपछि जेठो छोराले बुवा र भाइलाई जिस्काउने ठाउँ पाएका छन्।

'जब खिसी गर्छ तब उसलाई पछिल्लोपटक खाएको ७ गोल सम्झाउनुपर्छ, चुप लाग्छ,' गिरीले उत्साहित हुँदै सुनाए।

पारिवारिक माहोलमा फुटबल हेर्न समय मिल्नु उनको लागि खुशीको कुरा हो। 'रसियामा भइरहेको खेल। कहिले नदेखेको खेलाडीसँग भावनात्मक भएर जोडिन्छौं। त्यसपछि बाउ छोरा नै प्रतिद्वन्द्वी हुन्छौं। बाजी राख्छौं। खेलाडीसँगै हामी पनि जित्छौं। हार्छौं,' उनले भने। सन् २०१४ मा ब्राजिलले जर्मनी टोलीबाट ७ गोल खाँदा छोरा रोएको प्रसङ्ग दङ्ग पर्दै सुनाउँछन् उनी। 

अब फाइनलको प्रतीक्षामा छन् उनी। 'आक्रमक साथीहरुलाई पर राखेर खेल हेर्ने हो। रमाइलो गर्ने र कामको प्रेसरबाट छुट्कारा पाउने राम्रो अवसर हो यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell