PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जुम्लामा अनशनको १० औं दिन, डा केसीलाई आइसियू आवश्यक पर्न सक्ने



जुम्लामा अनशनको १० औं दिन, डा केसीलाई आइसियू आवश्यक पर्न सक्ने

काठमाडौँ : जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्पेशल केयर यूनिटमा राखि मनिटरिङ गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनलाई नर्मल सलाइन पानी र आवश्यकता अनुसार अक्सिजन दिइरहेको चिकित्सकहरुले बताएका छन्। डा केसीको रगतमा अक्सिजन, म्याग्नेसियमको मात्रा कम देखिएको र सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेकाले जुनसुकै बेला पनि गम्भीर संक्रमण हुने खतरा देखिएको छ। 

त्यस्तै डा केसीले अन्य औषधि लिन नमानेकाले उपचारमा कठिनाइ भएको उनीहरु बताउँछन्। चिनीको मात्रा घट्दै गएको र मुटुको चालमा तलमाथि भएकाले खतरा बढेको छ। डा प्रवीणकुमार गिरी, डा धीरज गुरुङ र डा सिद्धार्थ खातीले डा केसीको उपचार गरिरहेका छन्। भन्छन् , 'उहाँको शरीर कमजोर भइसकेको छ। रोगप्रतिरोधात्मक क्षमता पनि कम, त्यसैले बेलैमा ध्यान नपुर्‍याए जेपनि हुन सक्छ।'

डा गिरीका अनुसार केसीको शरीरमा कमजोरीपनले गर्दा शिथिलता देखिएको छ भने मासु बउँडिने, जिउ दुख्ने समस्या बढिरहेको छ। यसका साथै रक्तचाप क्रमश: घट्दो क्रममा छ भने पिसाबमा क्रियोटिनाइन पनि बढी रहेको छ। उनको शरीरमा ग्लुकोजको आवश्यकता भए पनि उपचारका क्रममा ग्लुकोजसमेत लिन मानेका छैनन्। चिकित्सकहहरुको अनुसार डा केसीलाई जुनसुकै बेला आइसियू आवश्यक पर्न सक्छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न जाँदै गर्दा शनिबार उनलाई पक्राउ गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न पुगेका केसीलाई प्रहरीले पक्राउ गरेपछि उनले हिरासतबाट नै अनशन सुरु गरेका थिए। त्यसपछि केसीलाई  जिल्ला खेलकुद विकासको हलमा ल्याएर छोडिएको थियो। 

चिकित्सकबाट अस्पताल लगेर उपचार गराउन गरिएको आग्रह र सुझावलाई समेत बेवास्ता गरिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको थियो। उनीहरुले डा केसीको जीवन रक्षाको माग गर्दै प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए। अहिले देशभरका चिकित्सकहरुले हातमा कालोपट्टी बाधेर काम गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell