PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रक्रियामा, कांग्रेसले रोक्ला?



राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रक्रियामा, कांग्रेसले रोक्ला?

काठमाडौं: सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’लाई प्रक्रियामा लग्ने तयारी गरेको छ। प्रक्रियाबाटै बहुमतका आधारमा विधेयक पारित हुने भएको छ।

तर प्रमुख प्रतिपक्षीले विधेयक रोक्ने प्रयास पनि थालेको छ।

भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्ने कार्यसुची तय गरिएको छ। मन्त्री पोखरेलले हिजोको राष्ट्रिय सभा बैठकमा पनि प्रक्रियाबाटै विधेयक पारित गराउने चेतावनी दिएका थिए।

यता प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका छन्। अर्थात थापाको विरोधको सुचना संसदबाट स्वीकृत भए विधेयक रोकिनेछ।

थापाको विरोधको सुचना अस्वीकृत भए विधेयक संसदमा प्रस्तुत हुनेछ। 

संसदमा सत्तारुढ दलको दुई तिहाइ रहेकोले थापाको विरोधको सुचना बहुमतले अस्वीकृत हुने निश्चित नै रहेको छ। 

तर बुधबार साँझसम्म पनि सरकारसँग सहमतिको प्रयास हुने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बताए।

अनसनरत डा.गोविन्द केसीको पक्षमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसदमा आवाज उठाउँदै आएको छ। डा.केसीको समर्थनमा कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनमा जरुरी सार्वजनिक महत्वका प्रस्तावसमेत दर्ता गराएको थियो।

यसअघि कांग्रेससँग कै सहमतिका आधारमा सरकारले प्रतिस्थापन विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको थियो। नियम निलम्बन गरेर प्रतिस्थापन विधेयक पारित गराउन लागेको भन्दै कांग्रेसले विरोध जनाएपछि प्रतिस्थापन विधेयक रोकिएको थियो।

आफुसँग भएको सम्झौता अनुरुप विधेयक नआएको भन्दै डा.केसी अनसनरत छन्। केसीसँग भएको सम्झौता जस्ताको त्यस्तै पालना गर्न नसकिने शिक्षा मन्त्री पोखरेलले बताउँदै आएको छ।

डा.केसी र सरकारबीच वार्ताको समेत तयारी हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell