PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लर्ड्स र नेदरल्याण्ड्समा खेल्ने नेपाली टोलीको बिदाई, कप्तान पारस भन्छन् : जितबाट ओडिआई यात्रा सुरु गर्न चाहन्छौँ



गोविन्दराज नेपाल

लर्ड्स र नेदरल्याण्ड्समा खेल्ने नेपाली टोलीको बिदाई, कप्तान पारस भन्छन् : जितबाट ओडिआई यात्रा सुरु गर्न चाहन्छौँ

काठमाडौं : नेपाली क्रिकेटको इतिहासमा २०७५ साल साउन ऐतिहासिक क्षण हुनेछ। यही महिनामा नेपालले दुई महत्वपूर्ण क्रिकेट म्याच खेल्दैछ।

यही जुलाई २९ (साउन १३) मा नेपालले लर्ड्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० ट्राइ सिरिज खेल्दैछ भने अगस्ट १ र ३ साउन (१६ र १८) नेदरल्याण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज खेल्दैछ।

उक्त दुई सिरिजका लागि कप्तान पारस खड्काको नेतृत्वमा नेपाली टोली भोली लर्ड्स प्रस्थान गर्दैछ। १४ सदस्यी खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो, फिजियो ट्रेनरसहितको टोली नेपालबाट जानेछन् भने हाल अमेरिकामा रहेका खेलाडी भरद भेषावकर उतैबाट लण्डन जानेछन्।

नेपाली टोलीलाई बुधवार युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले पहिलो ओडिआईमा राम्रो खेल्न शुभकामना दिँदै बिदाई गरे।

कप्तान पारस खड्काले २ वर्षपछि लर्ड्समा खेल्ने अवसर पाउनु र नेदरल्याण्ड्ससँग पहिलो पटक ओडिआई सिरिज खेल्न जाँदै गर्दा एकदमै उत्साहित भएको र यो सबै मेहनतको फल रहेको प्रतिक्रिया दिए।

'सबैको मेहनत र परिश्रमले यो अवसर पाएका छौँ। खेलाडीहरु सबैमा एक्साइटमेन्ट र खुशी छ। साथै चुनौतीहरु पनि छन्। नयाँ खेलाडीहरुको लागि यो सुरुवात पनि हुनेछ।' बिदाई समारोहमा पारसले भने। 'एज ए प्लेअर अझै जिम्मेवारी बढेको छ नेपाली क्रिकेटलाई माथि लैजान सक्दो प्रयास गर्नेछौँ।'

पारसले नेदरल्याण्ड्सँगको ओडिआई सिरिज ऐतिहासिक हुने बताउँदै जित्नकै लागि खेल्ने बताए। 'हामीले यसअघि पनि नेदरल्याण्ड्समा गएर खेलिसकेका छौँ। वर्ल्ड क्रिकेट लिगमा दुई पटक खेल्दा हामीले एक पटक उनीहरुलाई हराएका थियौँ। यो पटक पनि हामी सफलता रिपिट गर्न चाहन्छौँ र जितबाट ओडिआई यात्रा सुरु गर्न चाहन्छौँ।'

यस्तै प्रमुख प्रशिक्षक जगत टमाटाले पहिलो ओडिआई खेल्न जाँदै गर्दा सबैको साथ र माया रहेको र उत्साहित भएको बताए। 'हामी राम्रो क्रिकेट खेल्न गइरहेका छौँ। युकेमा पनि ३/४ वटा प्राक्टिस म्याच खेल्नेछौँ। सबै प्लेअरहरु फिट छन्। टिम एकदमै ब्यालेन्स छ।' टमाटाले टिमको बारेमा भने। 'सबैजना मेन्टली स्ट्रोङ हुन सबैभन्दा मुख्य विषय हो। राम्रो रिजल्टका लागि खेल्ने हो र हामीहरु त्यसका लागि तयार छौँ।'

विकेटकिपर सुवास खकुरेलले ३ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा नेपालको ओपनिङ र विकेटकिपङ समेत राम्रो हुने कप्तान र प्रशिक्षकले आशा राखेका छन्।

'अहिले नेपाली टिममा पर्नका लागि खेलाडीहरुबीच आन्तरिक प्रतिस्पर्धा बढिरहेको छ। सुवासले घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरेकाले टिममा राखेका हौँ।' कप्तान पारसले भने।

'नेपाललाई विकेटकिपरको पनि खाँचो थियो र सुवासले पनि राम्रो प्रदर्शन गरिरहेकोले सुवासलाई टिममा राखेका हौँ।' टमाटाले भने।

गत मार्चमा जिम्बावेमा खेलेको टोलीमा एक खेलाडीमात्र परिवर्तन भएको छ। युवा विकेटकिपर दीलिप नाथको स्थानमा सुवास आएका छन्।

नेपालको पहिलो ओडिआई खेल्ने टोलीबाट राष्ट्रिय टिममा पुनरागमन गर्न पाउदा खुशी लागेको र नेदरल्याण्ड्समा उत्कृष्ट खेल प्रदर्शन गर्ने सुवासले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell