PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गोपनियता भंग मुद्दामा गायकलाई बिबिसिले तिर्नु पर्‍यो ३ करोड



गोपनियता भंग मुद्दामा गायकलाई बिबिसिले तिर्नु पर्‍यो ३ करोड
फोटो: EPA

बिबिसिले चर्चित गायक सर क्लिफ रिचार्डलार्इ दुई लाख १० हजार पाउन्ड(३ करोड रुपैयाँभन्दा बढी) क्षतिपूर्ती तिर्नुपर्ने भएको छ। बालकहरुको यौन शोषण गरेको आरोपमा उनको  घरमा प्रहरीले छापा मारेको थियो र बिबिसिले त्यसको प्रत्यक्ष प्रशारण गरेको थियो। रिचार्डले आफ्नो गोपनियता भंग भएको भन्दै बिबिसिलार्इ मुद्दा हालेका थिए।

लन्डनमा रहेको उच्च अदालतले आज क्लिफ रिचार्डको पक्षमा फैसला सुनाउँदै बिबिसिलार्इ हालका लागि दुई लाख १० हजार पाउन्ड क्षतिपूर्ती तिर्न आदेश दिएको हो। साथै उनले आर्थिक रुपमा भोग्नु परेको क्षतिका लागि थप रकम पनि पाउने भएका छन्। 

फैसला सुनाउने क्रममा न्यायधीश जस्टिस मनले बिबिसिले रिचार्डको गोपनियताको अधिकार 'गम्भीर र संवेदनात्मक' ढंगले उल्लंघन गरेको बताएका छन्। उनले बिबिसिले उक्त कभरेज अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अधिनमा रहेर गरिएको भन्ने तर्क खारेज गरिदिएका थिए।

फैसला पछि बोल्दै रिचार्डले भने 'म धेरै थाकेको छु। म यो विश्वास गर्न सक्दिन। यो सुखद समाचार हो।' साथै यो अवधिभर आफ्नो स्वास्थ्य निकै खराब रहेको र समाजमा अनुहार देखाउन समेत गाह्रो भएको गायकले बताए।
 
रिचार्डको कानुनी टोलीले बिबिसिले गरेको कभरेज व्यक्तिगत स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको बताएका थिए। तर बिबिसिले भने आफूहरुले त्यो राम्रो नियतले गरेको बताएका थिए। 
 
गायक रिचार्डका समर्थकहरुले फैसला पश्चात उनकै हिट गित 'कन्ग्राचुलेशनस' गाउँदै खुसी मनाए।

२०१४ मा भएको सो घटनाको बारे अदालतमा रिचार्डले आफू त्यसबेला पोर्चुगलमा रहेको र प्रहरीले आफ्नो घरका दराजहरु खोल्दै गरेको लाइभ देखेको बताएका थिए।
 
रिचार्ड माथि १९८५ मा सेफिल्ड युनाइटेड ब्रमल स्टेडियममा एक जना बालकमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। २०१३ सो व्यक्तिले प्रहरीमा उजुरी गरेपछि रिचार्ड विरुद्ध मुद्दा चलाइएको थियो। तर पछि २०१६ मा उनी विरुद्ध कुनै कसुर प्रमाणित नभएको निर्णय भएको थियो। चार जना व्यक्तिले उनीविरुद्ध हालेको छुट्टाछुट्टै मुद्दा अदालतले खारेज गरिदिएको थियो।
 
रिचार्डले भने आफूले केही नराम्रो नगरेको र आफूविरुद्ध कुनै अभियोग नहुँदा नि बिबिसिको कभरेजका कारण आफ्नो प्रतिष्ठामा गहिरो र धेरै क्षति भएको बताएका छन्। उनले भने ' बिबिसिले मलार्इ जे गर्‍यो त्यो गलत थियो। प्रहरीले मलार्इ केही सोधपुछ गर्नुअघि नै मलार्इ विश्वसामु यौन अपराधीका रुपमा प्रस्तुत गरियो।'

उच्च अदालतको फैसला पश्चात बिबिसिका न्युज एन्ड करेन्ट अफयेरस डाइरेक्टर फ्रान उनस्वरथले सर क्लिफ रिचार्ड माफी माग्दै भनिन् ' केही कुराहरु हामीले फरक दंगले गर्न सक्थौं।' तर उनले यो मुद्दा प्रेस स्वतन्त्रताविरुद्ध एउटा कदम भएको र यसबाट मानिसहरुको थाहा पाउने अधिकार संकटमा पर्नसक्ने प्रतिक्रिया दिएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell